महोत्तरी- महोत्तरीका क्षयरोगीहरूलाई पोषण सामग्री वितरण गरिएको छ। विराट नेपाल मेडिकल ट्रष्ट (बीएनएमटी)ले साबित्री बस्न्यात फन्ड फर टीबीको आर्थिक सहयोगमा नउरिस टीबी प्रोजेक्टअन्तर्गत बुधबार औरही नगरपालिकाका १० जना र रामगोपालपुर नगरपालिकाका १० जना क्षयरोगीहरूलाई षोषण सामग्री वितरण गरेको हो।
माघ महिनापछि क्षयरोगी पुष्टि भएका र यी पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा उपचाररत रहेकाहरूलाई पोषण सामाग्री वितरण गरिएको छ। बिरामीहरूलाई चामल, दाल, तेल, चना, आटा, मांसाहारीलाई अण्डा र साकाहारीलाई स्वयाबिन वितरण गरिएको छ।
उनीहरूलाई ६ महिनासम्म प्रत्येक महिना यो सामग्री वितरण गरिने बीएनएमटी महोत्तरीका कार्यक्रम संयोजक डा मनोजकुमार साहले जानकारी दिए। त्यसक्रममा औरही नगरपालिकाका प्रमुख प्रदीपकुमार खड्काले बीएनएमटी नेपालले टीबी निदान, उपचार र न्यूनीकरणमा राम्रो काम गर्दै आएको बताए। यस्ता कार्यक्रमले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उनले बताए।
कार्यक्रममा रामगोपालपुर नगरपालिकाका प्रशासकीय अधिकृत अच्छेलाल दासलगायत पनि सहभागी भएका थिए।
त्यस्तै, बिहीबार महोत्तरीको गौशालाका २० क्षयरोगीलाई पोषण सामग्री वितरण गर्ने कार्यक्रम छ। यो कार्यक्रम पालिकाहरू र बीएनएमटीबीचको सम्झौतामा सञ्चालन भइरहेको छ। सम्झौताअनुसार पालिकाहरूले ४० जनालाई र बीएनएमटी नेपालले सावित्री बस्नयात फण्ड फर टीबीको आर्थिक सहयोगमा ४० जनालाई पोषक खानेकुरा र सामाग्री वितरण गर्ने छन्। ६ महिनासम्म कुल ८० जनालाई पोषण सामग्री दिइनेछ।