काठमाडौं- भनिन्छ कुनै काममा आफ्नो मन लाग्दैन भने त्यस्तो काममा अल्झिरहनु समयको बर्बादी मात्रै हो। तर सबै मान्छेहरू त्यो अल्झाइबाट निस्किन सक्छन् भन्ने पनि हुँदैन। त्यो अल्झाइबाट मुक्त भएकाहरुले भने जीवनमा आफ्नो यात्रा तय गर्छन् नै।
त्यस्तै एउटा अल्झाइबाट निस्किएर आफ्नो छुट्टै बाटो तयार गरिन् प्रमिला बज्राचार्य थापाले। लामो समय विभिन्न राष्ट्रिय/ अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (एनजीओ)मा काम गरिरहेकी उनले एक दिन आफैँलाई हेरिन्। आफ्नो दिनचार्य नियालिन्। र आफैँलाई सोधिन्, ‘के म मैले गरिरहेको कामप्रति सन्तुष्ट छु त?’
आइएनजीओमा हेड अफ एचआरको पोष्टमा काम गरिरहेकी उनलाई त्यही दिन लाग्यो- पैसा सबै चिज होइन्, मैले जीवनमा गर्न चाहेको काम पनि यो होइन। उनले त्यसै दिन अफिस गएर राजीनामा दिइन्। उनलाई आफूले जे गरिरहेको छु त्यो आफ्नो जीवनको लक्ष्य होइन भन्ने त थाहा भयो तर अब के गर्ने भन्ने अन्योलता भने बाँकी नै रह्यो।
आइएनजीओमा काम गर्दा कुनै प्रोजेक्टमा थोरै पैसा बच्यो भने वृद्दवृद्धाको लागि काम गरौँ भन्ने लाग्थ्यो उनलाई। तर उनले मात्रै भनेर हुँदैन थियो। त्यसको लागि कुनै पनि संस्थाहरू प्रोजेक्टहरू दिन सहज मान्दैन थिए। अब उनलाई वृद्दवृद्धाको विषयमा बुझ्न, खोतल्न रोक्ने कोही थिएन्। घरमा बच्चाहरू कलेज पढ्ने भइसकेका थिए। श्रीमानको पनि आफ्नै व्यावसाय थियो।
उनी जागिर छाडेको केही दिनपछि नै आफ्नो घर वरपरका बुढाबुढीको स्थिति के छ भनेर बुझ्न हिडिँन्। ‘बिहान उठेर एउटा झोलामा डायरी र कलम बोकेर म मानिसहरुको घर घर जान्थेँ। हरेक घरमा गएर घरमा को हुनुहुन्छ भन्दै सबैसँग कुरा गर्न थालेँ,’ उनी सम्झीन्छिन्।
सोहि क्रममा जागिरबाट अवकास पाएर बसेका धेरै बुवाआमाहरूसँग उनको भेटघाट र कुराकानी भयो। उनीहरूसँगको भेटघाटमा उनले धेरै कुरा थाहा पाईन्। बढ्दै गएको उमेर र एक्लोपनाले उनीहरुमा निम्त्याएको मानसिक समस्या देखेर प्रमिलालाई एल्डरीहरूकै लागि केही गर्ने सोच आयो।
‘पहिले मन्त्रालयमा ठुलै पोस्टमा काम गर्नु भएको एकजना बुवाको कुरा सुनेर त म बिक्षिप्त भएको थिएँ। आफूले काम गरुन्जेल छोराछोरी पनि साना थिए, यो चाहियो त्यो चाहियो भनेर भनिरहन्थे, श्रीमतीसँग पनि राम्रो थियो, एकअर्काको कुराहरू सेयर गर्ने गर्थेंम्। जब मेरो जागिर सकियो, बच्चाहरू पनि ठुला भए मेरो उमेर पनि बढ्दै गयो। म घरमै बस्न थालेपछि उनीहरु कोही पनि म सँग बोल्न खोज्दैनन्। उनीहरु आफ्नो आफ्नो सुरमा हुन्छन्, घरमा आएर छोराछोरी ढोका लगाएर बस्छन्। छोराछोरीसँग बोल्न डर लाग्छ, रिसाउँछन्। जागिर हुन्जेल दिनमा तीन- चार कप चिया खाने बानी भएको थियो अब अहिले चिया धेरै माग्यो भनेर बुढी रिसाउँछिन्। चिया माग्नै डर लाग्छ। चिया खाउँ भनेर बाहिर निस्कियो, मान्छेहरूसँग भेट हुन्छ, मान्छेहरूसँग गफ गर्न मन लाग्छ, बोल्छु भनेर गयो नजिकै पुग्दा त्यो मान्छेले पनि फोन निकालेर एकतिर लाग्छ, बोल्ने मान्छे हुदैंन, कुरा गर्ने मान्छे हुँदैन। आत्महत्या गर्ने सम्मको सोच आउँछ भन्ने सम्मको बुवाको कुरा सुनेपछि मैले अबको दिनमा के गर्ने भन्ने निधो गरे,’उनले भनिन्।
ती बुवासँगको भेटमा उनको आँखा खुले जस्तै भयो। त्यसपछि उनले यही क्षेत्रमा केही गर्छु भनिन् र वृद्दवृद्धाको लागि डे केयर सेन्टर खोल्ने निर्णय गरिन्।
डे केयर सेन्टर र क्लबको यात्रा
मान्छेका घर-घर चाहार्दाचाहर्दै उनी एकदिन भृकुटीमण्डपमा निजामती सेवाबाट अवकास प्राप्त वृद्दवृद्धाहरू मात्रै भेट्ने ठाउँमा पनि पुगिन्। उनको डेकेयर खोल्ने रहरलाई बुढाबुढीको त्यो भेटले झन् मलजल गर्यो। त्यहाँ पो निजामती सेवाबाट अवकास प्राप्त मानिसहरू मात्र आउँछन् तर यही उमेरका कति वृद्दवृद्दा छन् भन्ने उनलाई पर्यो। त्यसपछि उनले ‘होप हर्मिटेज क्लब एण्ड डे केयर सेन्टर’ भनेर सुरु गरिन्।
‘डे केयर सेन्टर भयो भने बुढाबुढीलाई दिनभरी आएर बस्ने, गफ गर्ने ठाउँ हुन्छ भन्ने लाग्यो। त्यही बेलामा म उनीहरुसँग कुरा गर्छु। कसैले किताब लेख्ने चाहना गर्नुहोला कसैले के भन्नुहोला। उहाँहरुसँग भएको ज्ञान हाम्रो पुस्तासम्म पुर्याउनुपर्छ भनेर सुरुवात गरेको थिएँ,’उनले भनिन्।
उनले उक्त डेकेयरमा क्लब पनि जोड्नु पछाडि कारण थियो। डे केयरमा दिउँसो घरमा एक्लै हुने बुढाबुढी आएर बसेर साँझ घर फर्किने भए। क्लबमा भने दिनहुँ आउने या नआउनेहरू समेत जो इच्छुकहरु हुन्छन् उनीहरुलाई क्लबको मेम्बर बनाएर फरकफरक विषयमा कार्यक्रम गर्ने, कहिले कुनै रोग विशेषज्ञलाई ल्याएर छलफल गर्ने, कहिले मानसिक स्वास्थ्यको विषयमा छलफल गर्ने उनको योजना थियो।
लाजिम्पाटमा एउटा घर भाडामा लिएर उनले सुरु गरेको डे केयर देखेर सुरुसुरुमा मान्छेहरू हास्ने गर्थे। बुढाबुढीको पनि क्लब हुन्छ? डे केयर हुन्छ? भनेर छक्क पर्ने गर्थे। समाजमा नै अच्चम्मको कुरा भएको थियो। त्यसपछि बिस्तारै एक दुई जना गरेर वृद्दवृद्धाहरू आउन थाले।
‘सुरुका दिनमा घरमा एक्लै हुने बुवाआमालाई घरका मान्छेले ल्याएर छाड्ने गर्नुहुन्थ्यो, त्यसपछि साँझ लैजानु हुन्थ्यो। सुरुको छ महिनासम्म करिब १२/१३ जना बुवाआमा हुनु भएको थियो,’ उनले भनिन्।
अल्जाइमरका बिरामी
अहिले होप हर्मिटेज अल्जाइमरका बिरामी राख्ने ठाउँ भनेर समेत चिनिन्छ। तर प्रमिलालाई होप हर्मिटेज सुरु गरेको केही समय पछिसम्म पनि अल्जाइमरको बारेमा केही थाहा थिएन। सुरुका दिनमा केही बुवाआमा डे केयरको लागि ल्याउँदा उनीहरुको परिवारले अलिअलि मानसिक समस्या छ भन्ने गर्थे। तर के समस्या हो भनेर सोध्दा भने केही नबोल्ने गरेको प्रमिला बताउँछिन्। त्यस्ता बुवाआमालाई दिनभरि नियाल्दा छिनछिनमा व्यवहारमा परिवर्तन आएको महसुस भयो प्रमिलालाई। ‘कहिले बर्बराएको जस्तो गर्ने, कहिले रिसाउने, कहिले खुसी हुने, कहिले केयर गिभ हरूलाई पिट्न आउने गर्ने, कहिले फेरि माया गरे जस्तो गर्ने। सुरुमा त के समस्या होला यो भनेर म छक्क पर्थे,’ उनी भन्छिन्, ‘त्यो समस्या अल्जाइमर हो भन्ने थाहा नहुँदै एकजना बुवाको छोराले आफू बाहिर जान लागेको र एक हप्ता बुवालाई राखिदिन अनुरोध गर्नुभयो। हामीसँग नर्स, डाक्टरहरू सबै थिए, सुत्ने बस्ने सबै सेवा थियो, हुन्छ भनेर राखियो। राति राख्दा त्यस्ता अभिभावकको अझै व्यवहार बुझियो। राति नसुत्ने, चिच्याउने गरेको देखियो, त्यसपछि त्यो मानसिक समस्या पनि होईन के हो त भन्ने जस्तो लाग्यो।’
त्यसपछि उनले आफ्ना विदेशमा भएका साथीहरुलाई त्यो बारेमा कुरा गरिन्। धेरैले यो समस्या अल्जाइमर हो भनेर एकपटक गुगलमा गएर खोजेर पढ्न सुझाए। अल्जाइमरको बारेमा पढेपछि प्रमिला छक्कै पारिन्। उनले अल्जाइमरको बारेमा नेपालमा केही लेखिएका छन् की, केही नीति बनेका छन् की भनेर पनि खोजिन् तर केही भेटिनन्। त्यसपछि त झन् उनलाई यो विषयमा काम गर्नेपर्ने रहेछ भन्ने लाग्यो।
यता, एक हप्ताको लागि मात्रै रातिको समयमा राख्दिएका बुवाका छोराले भने आफूहरुलाई सजिलो भएको भन्दै अब सधैँ राति पनि राख्दिन भने। त्यसपछि होप हर्मिटेज डे केयरबाट केयर होममा परिवर्तन भयो। केयर होम भएपछि बिस्तारै बुवाआमाहरुको संख्या पनि बढ्दै गयो।
केयर गिभरको समस्या
सुरुमा थोरै बुवाआमा, त्यही पनि डे केयर मात्रै हुँदा आफू र केही सहयोगीहरू मात्रै राखेर चलीरहेको संस्थामा अल्जाईमरको बुवाआमा राखीसकेपछि सबैभन्दा ठुलो समस्या केयर गिभरको भयो। एक-दुई जना गरेर बिस्तारै अल्जाइमरको समस्या भएका बुढाबुढी थपिए। बाहिरबाट हेर्नेलाई अल्जाइमर सामान्य रोग लाग्न सक्छ। बिर्सिने रोग त हो नी भन्ने लाग्न सक्छ तर बिरामीको मनस्थिति हेरेर काम गर्नुपर्ने प्रमिला बताउछिन्।
‘अल्जाइमर भएका बुवाआमाले दिसा गर्दै भित्तामा फाल्दै गर्छन्, मुखमा थुकीदिन्छन्। एक दुई घण्टासम्म खाना खाँदैनन्, उनीहरुको मनस्थिति हेरेर काम गर्नुपर्छ। उनीहरुलाई एकछिन पनि एक्लै छोडेर हिड्न मिल्दैन। केयर गिभरहरुलाई पिट्ने, मुख छाड्ने जस्ता कामहरू गर्छन्,’उनले भनिन्।
केही दिन उनी केयर गिभरहरू खोज्न धेरै ठाउँ पुगिन्। तर उनले की त नर्सहरू भेटिन् की त घरयासी काम गर्ने महिलाहरू। त्यसपछि उनले घर घरमा काम गर्ने २५ जना महिलाहरूलाई आफैले केयर गिभरको तालिम दिइन्। छ महिना अल्जाइमरको बिरामीहरूलाई हेर्दाहेर्दै उनलाई सबै कुराको ज्ञान भईसकेको थियो। त्यसकारण उनले नेपाली समाजमा आमाबुवा कसरी स्यहार गरिन्छ त्यसरी नै तालिम दिईन्। उनले त्यो समय तालिम दिएका केही महिलाहरू अझै उनीसँगै काम गर्छन् भने कोही बाहिर केयर गिभरको काम गरेर राम्रो कमाई गर्छन्।
फरक समस्या फरक ब्लक
२०१३ बाट सुरु भएको होप हर्मिटेज आजका दिनसम्म आईपुग्दा चारवटा ब्लकमा विभाजित छ। चार वटा ब्लकमा केयर गिभर मात्रै ४५ जना छन्। ब्लक ए मा विशेष गरी अल्जाइमर भएका र अलि क्रिटिकल बिरामीहरू छन्। उनीहरुलाई अलि तत्कालै अस्पताल लैजान पर्ने, डाक्टर नर्सको आवश्यकता जति बेला पनि पर्न सक्ने, सुगर, प्रेसर बढ्ने, अक्सिजन लगाई हाल्नु पर्ने प्रमिला बताउँछिन्।
ब्लक बी मा जन्मजात अपांगता भएका बुढाबुढी छन्। ब्लक सी मा विशेष गरी मानसिक समस्या भएका आमाबुवा राखिन्छ। त्यस्तै ब्लक डी मा धेरै रोगहरू नभएका,घरमा एक्लै हुने बुवाआमा, श्रीमानश्रीमतीहरू पनि छन्। अहिले सबै ब्लकमा गरेर फरक-फरक स्टेजक करिब ३२ जना अल्जाइर कै बिरामीहरू छन्। सबै खाले बिरामीलाई संगै राख्दा एकले अर्कोलाई हेरेर मेरो पनि यही अवस्था हुन्छ भन्ने सोचेर तनाब गर्ने हुनाले फरक फरक ब्लकमा बुवाआमा राखेको प्रमिला बताउछिन्।
‘अल्जाइमार भएकालाई एउटा केयर गिभरले हेरिरहनु पर्छ, नत्र जति बेला पनि जे पनि गर्न सक्छन्। केयर गिभरहरुलाई कुटेको, बेसिन फुटाउने, भित्तामा टाउको ठोक्काउने, रुने, कराउने, दौडिनेसम्मको क्रियाकलाप हुन्छ। त्यसकारण आमाबुवाको सुरक्षाको लागि हामीले ४५ वटा सिसी क्यामेरा छ साथै, नर्स र डाक्टर पनि २४ घण्टा नै उपलब्ध हुनुहुन्छ,’ उनले भनिन्।
उनले अल्जाइमरको विषयमा बहस बढाउन मन्त्रालयलाई पनि झकझकाई रहन्छिन्। त्यस्तै बाटोमा हराउने धेरै बुढाबुढी अल्जाइमरको बिरामी हुनसक्ने भन्दै नेपाल प्रहरीलाई समेत तालिम दिईसकेकी छिन्। अल्जाइमरको विषयमा लामो समय देखी काम गरीरहेकी उनले नेपालका नर्सहरूलाई अल्जाइमर सम्बन्धी हिन्दि चलचित्र ‘लाईफ फ्लोस अन’ समेत ल्याएर देखाएकी थिईन्।
‘अहिले नेपालमा प्राय जस्तो घरमा अल्जाइमर भएका बिरामीहरू छन्। अहिले बिस्तारै मानिसहरुलाई यसको बारेमा थाहा हुदैं पनि गएको छ। कुनै समय गाउँघरमा कोही बुढा मान्छे अल्जाइमार भएर मृत्यु भयो भने त्यो मान्छे पागल भएर मर्यो भनेर भन्ने चलन थियो, अन्धविश्वास थियो। अहिले अवस्था त्यस्तो छैन। तर अल्जाइमर भएकालाई कसरी सपोर्ट गर्ने के गर्ने भन्ने ज्ञानको कमि भने छ,’ उनी भन्छिन्।
उनी केयर होममा बुढाबुढीलाई खुसी बनाउने कारण खोजिरहन्छिन्। जन्मदिन मनाउने, चाडपर्व, नयाँवर्ष मनाउने, कहिले के खाजा खाने कहिले के खेल्ने सबै केयर होम भित्रै हुन्छ।
उनी भन्छिन्,‘यो वृद्दाश्रम होईन, केयर होम हो, पैसा तिरेर बसेपछि उहाँहरुले सुविधा खोज्नुहुन्छ। आज दुध पातलो थियो, आज खिर अलि मिठो थिएन्, आज यो खाने आज त्यो खाने भनि भनि खानु हुन्छ त्यो चाहिँ राम्रो पक्ष लाग्छ।’
आईएनजीओमा काम गर्दा महिनैपिच्छे विदेश घुमीरहने प्रमिला केयर होम सुरु गरेपछि थानकोटबाट बाहिर नगएको बताउँछिन्। केयर होमलाई बुढाबुढी मैत्री बनाउन उनले होचा होचा घर भाडामा लिएकी छिन्, त्यस्तै विभिन्न किसिमका चराहरू पालेकी छन्। उनी बेलाबेला मन्त्रलय गएर आफूले गरेको काम हेरेर फिडब्याक दिन अनुरोध गर्छिन् तर मन्त्रालयले बेवास्ता गरेको उनको भनाई छ।
यति धेरै बुढाबुढीको साहारा भएर बसेकी प्रमिला यही काठमाडौँमै भएका आफ्ना बुवाआमासँग दिनभरी गएर बस्न नपाएको धेरै भईसक्यो। बुवाआमा पनि आफूले गरेको कामप्रति निकै खुसि भएको उनी बताउँछिन्।
प्रमिला भन्छिन्, ‘कामले काम सिकाउँदो रहेछ। कुनै समय अल्जाइमरको बारेमा केही जानकारी नभएको म अहिले बुढाबुढीको व्यवहार हेरेर कुन स्टेजको अल्जाइमर हो छुट्याउन सक्ने भएको छु। बाहिरबाट हेर्दा जति सजिलो देखिए पनि अल्जाइमर भएका बुढाबुढीलाई स्याहार गर्ने काम सजिलो छैन। त्यसकारण आफ्नो बुवाआमालाई सम्मान गरौँ, उहाँहरूसँग झर्किफर्की नगरौं। बुढाबुढीसँग गफ गर्ने, कुरा सुन्ने बानी गरौँ।’