काठमाडौं- आज मे ५ तारिख। विश्व हात स्वच्छता दिवस। सफा हात स्वस्थ जीवनका लागि अति नै आवश्यक छ। सरुवा रोग फैलिन नदिन हातको सफाई महत्वपूर्ण छ। सफा हात सरुवा रोग सार्नबाट जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो। रोग सर्ने माध्यमहरुमध्ये हात मुख्य हो।
रोग फैलन नदिन सहि तरिकाले हात सफा गर्नुपर्छ। सफा पानीले २० सेकेण्डसम्म मिचिमिचि हात धुनुपर्छ। विभिन्न संक्रमण फैलिन नदिन नियमित रुपमा साबुन पानीले हात धुनु नै सबैभन्दा सर्वसुलभ, सजिलो र महत्वपूर्ण उपाय हुन्।
स्वास्थ्य संस्थामा विभिन्न संक्रमित बिरामीको उपचार हुन्छ। दैनिक नै विभिन्न रोगका संक्रमितहरुको आउआउ रहन्छ। साथै एन्टीबायोटिक सुक्ष्य जीवाणु वातावरणमा रहन्छ। रोगी बिरामीको शरीरमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले स्वास्थ्यकर्मीद्धारा पनि यो प्राणघातक सुक्ष्म जीवाणु एक व्यक्तिबाट अर्कोमा सार्ने संभावना बढी हुन्छ।
सबै स्वास्थ्यकर्मी तथा अस्पतालमा कार्यरत कर्मचारीहरु आवश्यकता र निश्चित मापदण्ड अनुसार हातको सरसफाई गर्नु जरुरी छ। यही आवश्यकतालाई ध्यानमा राखी आज मे ५ का दिन हात धोऔँ निरोगी बनौँ भन्ने नाराका साथ यो दिवस मनाईदैछ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ५० प्रतिशत स्वास्थ्य संस्थामा माग अनुसारको हात धुने ठाउँ र चर्पीको अभाव देखिन्छ। आवश्यक सामग्री अभावका कारण विभिन्न जटिल संक्रमण तथा कडा खालका औषधि प्रयोग गर्नुपर्ने अवस्था र मृत्युदर समेत बढेन गएको छ।
विश्व स्वास्थ्य संगठनले दिएको ‘फाइभ मोमेन्टस अफ ह्याण्ड हाइजिन’ लाई सबै स्वास्थ्यकर्मीद्धारा अवलम्बन गर्न सकेमा स्वास्थ्य संस्थामा हुने संक्रमणदरलाई ५० प्रतिशतले घटाउन सकिन्छ।
व्यक्तिको जीवन रक्षा र जटिल संक्रमणबाट जोगिन सम्पूर्ण बिरामी, स्वास्थयकर्मी, चिकित्सक तथा सरोकारवाला बिच समन्वय र सहकार्य गर्दै हात धुने निश्चित मापदण्ड तयार गरी हात धुनेको संख्या बढाउनुपर्छ। र, यसबाट हुने मृत्युदर घटाउन सकिन्छ।
(सृजना भोमी इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालकी उपाध्यक्ष हुन्।)