राजधानीका अस्पतालको ढोका ढोका चाहार्र्दा चार्हादा बिरामी र आफन्तहरु प्रशासनिक झन्झटले गर्दा वाक्क दिक्क भइसके। कहिले पैसा तिर्ने ठाउँमा लामो लाइन लाग्नुपर्ने, कहिले डाक्टरको कोठा अगाडि घण्टौ लाइनमा कुर्नुपर्ने। जति पैसा खर्च गरेपनि किन बिरामी तथा आफन्तले डाक्टरलाई भेट्न सहज हुँदैन? किन अस्पतालले प्रशासनिक कामलाई यति धेरै झन्झटिलो बनाएको होला? राजधानीमा भएका केही छिटफुट अस्पताल बाहेक हरेक अस्पतालमा धाउने बिरामी र आफन्तका मनमा खेल्ने कुरो हो यो।
अस्पतालमा अधिकांश बिरामी शारीरिक पिडा लिएर आएका हुन्छन्। तर बिरामीको कुरुवा भने बढी मानसिक रुपमा पिडित हुने गरेका छन्। यसमा मलम कसले लगाउने भन्ने कुरामा अझै पनि अस्पताल प्रशासन अलमलिएकै देखिन्छ।बिरामीसँग आउने कुरुवाको समय पनि त अन्य अफिसका कर्मचारीको जस्तै उत्तिकै महत्वपूर्ण रहेको हुन्छ। बहिर¨ सेवा लिन आउदा एक दिनको समय पर्याप्त हुन्छ भने कहिले विभिन्न चेक जाँच गर्न बारम्बार आउनुपर्ने हुन्छ। भनेको समयमा उपचार हुने भइदिएको भए बिरामीको साथै कुरुवाले पनि सहजता महसुस गर्दथे।
हाल राजधानीका केही छिटफुट अत्याधुनिक अस्पताल प्रशासनले बिरामी तथा कुरुवाको भावनालाई कदर गर्दे अस्पतालको बसाईलाई सकारात्मक बनाउन विशिष्ट सेवाको ब्यवस्था गरेको देखिन्छ। अनलाइन अपोइन्टमेन्ट तथा टोकन सिस्टम नै किन नहोस् बिरामीको कुरुवाको समयलाई नै मध्यनजर राखी यो व्यवस्था सरकारी तथा निजी अस्पतालमा देख्न पाइन्छ। तर यो व्यवस्था कतिको प्रभावकारी भइरहेको छत? यसलाई पनि सम्बन्धित क्षेत्रले नियाल्न जरुरी छ।
अस्पतालले बिरामी तथा आफन्तलाई सहज वातावरण बनाए उनीहरुलाई मात्र हैन सिंगो अस्पताललाई पनि फाइदा पुग्छ। अस्पतालमा भिड व्यवस्थापन गर्ने बित्तिकै कर्मचारी र बिरामी तथा आफन्तबीच सकारात्मक सम्बन्धको विकास हुन थाल्छ। यसले प्रशासन र बिरामीबीच अनावश्यक विवाद कम गराउँछ।
अन्य विकशित देशमा अस्पतालले बिरामी तथा आफन्तहरुको बसाइलाई व्यवस्थित गर्नका लागि चिकित्सक र बिरामीको भेटघाटलाई व्यवस्थित बनाउने,रिर्पोट लगायतका सुविधाहरु इन्टरनेटका माध्यमबाट व्यवस्थित गर्ने, पार्किङ सहजता, एटिएमको सुविधा, इन्टरनेट बैकिङ, क्याफे, लाइब्रेरी, टिभी रुम, प्राकृतिक बगैंचा जस्ता सुविधा राखेर व्यवस्थित बनाएको देखिन्छ। हाम्रो देश नेपालमा पनि अस्पतालहरुले आफनो सेवामा स्तरवृद्धि गर्दै यी र यस्तै ससाना कुरालाई मनन गरिदिए कति राम्रो हुने थियो होला।
(कोइराला काठमाडौं क्यान्सर सेन्टरकी प्रशासन प्रमुख हुन्।)