दशैं घरपरिवार, इष्टमित्र, आफन्त तथा साथीभाइसँग रमाइलो गरेर बिताइने वर्ष दिनको चाड हो। तर मैलै विगत ५ वर्षदेखि वीर अस्पतालमा चिकित्सकको रुपमा काम गरेयता कुनै पनि दशैं घरपरिवार तथा आफन्तसँग बिताएको छैन। बुबाआमाको हातबाट दशैंको टीका नलगाएको पनि ५ वर्ष नै बितिसकेको छ। मेरो घर जनकपुर हो, म भने अस्थाई रुपमा काठमाडौंको गौरीघाट बस्छु।
यसरी चाडपर्व तथा जमघट हुनुपर्ने समयमा पनि घरपरिवारसँग बस्न नपाउँदा कताकता नरमाइलो भने लाग्ने गर्छ। कतिपय अवस्थामा दु:ख लागे पनि आफैंले छनोट गरेको पेसा भएकोले मन बुझाउने प्रयास गर्छु।
दशैं बिदा भनी सरकारले तोकेका सबै बिदाका दिनमा मेरो आकस्मिक कक्षमा ड्युटी रहेको छ। अष्टमीदेखि दशैंको टीकाको दिनसम्म मेरो नियमित जस्तै ड्युटी छ। सधैं जस्तो रोटेसनमा ड्युटी गर्नुपर्ने अस्पतालको नियमअनुसार टीकाको दिन भने मेरो ड्युटी रातिको छ।
कुनै कुनै बेला यसरी पारिवारिक जमघट हुनुपर्ने समयमा समेत परिवारसँग बस्न नपाउँदा चिकित्सक पेसा रोजेका दु:ख समेत लाग्छ। ड्युटी सकेर केही समय घरमा रहँदा बुबा, आमा तथा आफन्तको सम्झना आउँछ। यद्यपि, अस्पताल पुगेपछि ती सबै कुराहरुलाई बिर्सेर बिरामीको उपचारमा ध्यान केन्द्रित हुने गर्छ। अस्पताल आएपछि यति व्यस्त भइन्छ कि यस्ता सबै कुरा बिर्सिन्छ।
दशैंको समयमा प्राय: अस्पतालहरु तथा ओपीडी सेवा बन्द हुने भएकोले आकस्मिकमा बिरामीको चाप एकदमै हुने गर्छ। सामान्य परीक्षणका लागि आकस्मिक कक्षमा नै आउनुपर्ने भएकोले पनि दशैं-तिहार तथा चाडपर्वको समयमा आकस्मिकमा बिरामीको भीड हुने गरेको हो।
मेरो पेसा तथा जिम्मेवारीबारे परिवारलाई समेत थाहा भएकोले कहिल्यै पनि सँगै चाडपर्व मनाउन नपाएकोमा गुनासो गर्नुभएको छैन।
-(वीर अस्पतालमा कार्यरत मेडिकल अफिसर सिंहसँग स्वास्थ्यखबरकी लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)