स्वास्थ्य बीमा बोर्डले स्लोगन बनाएको रहेछ, ‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ । यो देख्दा म एकदमै खुशी भएँ । बोर्डको कुनै एउटा दस्ताबेजमा मैले सन् २०३० मा युनिभर्सल हेल्थ कभरेजको लक्ष्य पूरा गर्ने अठोट पनि भेटें । त्यसले पनि खुशी बनायो।
जब मैले ‘नेपाल डेमोग्राफिक हेल्थ सर्वे २०२२’ केलाएँ । मैले यी अठोट र लक्ष्यमा चुनौती महशुस गरें । किनभने त्यो सर्वेबाट प्राप्त तथ्यांकले भन्छन्– स्वास्थ्य उपचार सेवा, सुविधा र पहुँचमा गहिरो खाडल छ।
प्रदेशहरुको तुलना गर्ने हो भने निकै ठूलो असमानता छ । विशेषगरी सुदूरपश्चिम, मधेश र कर्णालीमा बाल, मातृ र समग्र मृत्युदर उच्च छ । स्वास्थ्य संस्थाहरु कम छन् । सार्वजनिक भन्दा पनि निजी र स्वतन्त्र चिकित्सकहरुले दिने सेवा धेरै छ । जुन उपचार सेवाको शुल्क स्वास्थ्य बीमाले भरपाइ गर्दैन। धेरै नै यस्ता विषय छन्,जसको हामीले समाधान खोज्नुपर्नेछ ।
सबैको पहुँचमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनुपर्नेछ । स्वास्थ्य बीमा त्यसका लागि उपयुक्त मार्ग हो । यसलाई बलियो बनाइयो भने नेपालको स्वास्थ्य प्रणालीमा सुधार आउने हाम्रो अपेक्षा छ । त्यसैले यसपल्ट ‘विनयतारा नीति बहश’का लागि हामीले स्वास्थ्य बीमा रोजेका हौं ।
(स्वास्थ्यखबर र विनयतारा फाउन्डेसनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विनयतारा, अमेरिकाका अध्यक्ष तथा सह–संस्थापक डा शाहले राखेका विचारको सम्पादित अंश)