काठमाडौं - पूर्व -स्वास्थ्यमन्त्री पदम गिरीले दूरदराजका जनताहरुले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा नपाएका कारण अकालमा जीवन समाप्त गर्नुपर्ने अवस्था अझै पनि रहेको बताएका छन्।
स्वास्थ्यखबर पत्रिकाको १३औं संस्करणको हेल्थ अवार्ड कार्यक्रममा बोल्दै मन्त्री गिरीले यस्तो बताएका हुन्।
‘दूरदराजमा जनताहरुले गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा नपाएका कारण अकालमा जीवन समाप्त हुने अवस्था छ’, उनले भने ‘सानो समस्या ठूलो रुपमा विकसित भएर झनै ठूलो जनराशी खर्च गर्नुपर्ने तथा उपचारका लागि धेरै टाढासम्म जानुपर्ने स्थिती अझै छ,’ ‘यो दूरदराजका मानिसहरुले भोग्नुपरेको वास्तविक स्थिती हो,।’
स्वास्थ्यचौकीमा सेवा लिन जाँदा गुणस्तरीय स्वास्थ्य सेवा नपाउने तथा सेवा लिनका लागि घन्टौंसम्म गाडीमा जानुपर्ने अवस्था अझै रहेको उनले बताए । आगामी दिनमा राज्यले कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यका साथ काम गर्न आवश्यक रहेको उनको धारणा छ । संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।
यस्तो छ कार्यक्रममा मन्त्री गिरीले व्यक्त गरेको धारणा
पूर्व स्वास्थ्यमन्त्री हुँदा मैलै स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामहरुको महत्वपूर्ण सुझाव स्वास्थ्यखबर पत्रिका र यसको टिमबाट पाएको थिएँ। स्वास्थ्य क्षेत्रमा अनुभवका आधारमा सुझाव दिनका लागि स्वास्थ्यखबर टिम अब्बल भूमिकामा रहेको मैले पाएँ।
यस कार्यक्रममा आउनका लागि निम्तो दिनु भएकोमा म स्वास्थ्यखबर पत्रिकाप्रति आभार व्यक्त गर्छु । छोटो समयमा शुभकामना मन्तव्य राख्नका लागि मलाई यहाँ बोलाइएको छ। भन्ने कुरा पनि धेरै छैन । मुलुकको सबैभन्दा संवेदनशील आधारभुत जनताले दिनानुदिन महसुस गर्ने क्षेत्र स्वास्थ्य र शिक्षा नै हो । यसलाई महत्वका साथ लिने कार्यमा हामी चुकेकै छौं, जुन सबैका बीचमा जगजाहेर नै छ । जुन सबैलाई सर्वविदितै छ । संसारका विकसित मुलुकहरुमा पनि कोरोना महामारीले ठूलो त्रास पैदा गरेको थियो । ठूलो मानवीय क्षति भएको थियो । हाम्रो जस्तो देशमा सीमित स्रोत तथा साधनका बीचमा पनि स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिका प्रशंसनीय छ । जुन इतिहासमा सुनौलो अक्षरले लेखिएको छ, गर्व गर्न लायक पनि छ । निक्कै गौरवपूर्ण इतिहास हामीसँग रहेको छ । संकटको समयमा हामी हाम्रो सामर्थ्यले पनि धेरै संकटहरुको पार गर्न सक्छौं भन्ने उदाहरण हामीबीचमा रहेको छ।

त्यस हिसाबले पनि हामी गौरव गर्ने स्थानमा छौं । आधारभुत स्वास्थ्य सेवाको कुरा गर्नुपर्दा यो आधारभूत तहका जनतासँग जोडेर प्रदान गर्नुपर्ने सेवा हो । यसअघि डा चन्द्रा कार्कीले हामीले संख्यात्मक हिसाबले राम्रो प्रगति गरेको बताउनुभएको थियो । तर गुणस्तरीयता कायम गर्ने हिसाबले अहिले पनि हामीले भने सेवा विस्तार गर्न सकेका हामीले छैनौं । स्वास्थ्यमन्त्री नियुक्त भएपछि सबैभन्दा पहिलो निर्णयमा न्यूनतम स्वास्थ्य सेवा मापदण्ड पूरा गरिने भन्ने पहिलो निर्णयमा हस्ताक्षर गरेको थिए।
कामको सुरुवात गर्न नपाउँदै म त्यहाँबाट बाहिरिएँ। सायद् अहिले आउने मन्त्रीहरुलाई पनि त्यो एक चुनौतीका रुपमा नै रहेको छ। यसलाई पूरा नगर्दासम्म आधारभूत तहका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्ने अवस्था बन्दैन । जुन हाम्रा लागि चुनौतीको विषय हो । अर्काेतर्फ हाम्रा पूर्वाधार तथा दक्ष जनशक्ति दूरदराजका स्वास्थ्यचौकीमा पुग्नुपर्नेमा त्यो पुग्न सकेको अवस्था छैन।
दूरदराजमा जनताहरुले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा नपाएका कारण अकालमा जीवन समाप्त हुने अवस्था छ । त्यस्तै सानो समस्या ठूलो रुपमा विकसित भएर झनै ठूलो जनराशी खर्च गर्नुपर्ने तथा उपचारका लागि धेरै टाढासम्म जानुपर्ने स्थिति अझै छ । यो दूरदराजका मानिसहरुले भोग्नुपरेको वास्तविक स्थिति हो । म केही महिना अगाडि मात्रै बाजुरा जाँदा त्यहाँका मेयरसँग धेरै स्थान घुमेको थिए । त्यहाँबाट काठमाडौं फर्किदैं गरेको अवस्थामा बाटोमा दुई ठाउँमा अत्यन्तै पिडाको अवस्थामा बिरामीलाई भेटेको थिएँ। घन्टौसम्म बिरामी बाटोमा नै तड्पिएको देखेपछि मैलै मेयर सावलाई फोन गरें । यसरी घन्टौं तड्पिएको अवस्थामा पनि अस्पताल जानका लागि बिरामीले गाडी पाउने अवस्था छैन । संयोगवंश मैले ती बिरामीलाई आफ्नो गाडीमा राखेर अस्पतालसम्म छोडे।
स्वास्थ्यचौकीमा सेवा लिन जाँदा गुणस्तरीय स्वास्थ्य सेवा नपाउने तथा गुणस्तरीय सेवा लिनका लागि घन्टौंसम्म गाडीमा जानुपर्ने अवस्था छ। पैसा व्यवस्थापन गर्न नसक्नेले उपचार नपाउने अवस्था छ। राज्यले कुनै पनि नागरिक आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यका साथ काम गर्न आवश्यक छ । हामीले संविधानमा मात्रै व्यवस्था गरेर भएन, त्यसलाई कार्यान्वयन पनि गर्नुपर्ने हुन्छ।
जुन राज्यको लागि चुनौतीपूर्ण पनि छ। यसका लागि सबै तहका सरकार तथा सरोकारवालाहरु एक मत भएर लाग्नुपर्ने आजको आवश्यकता बनेको छ । गाउँ-गाउँमा राम्रो स्वास्थ्य सेवा नपाएका कारण मानिसहरु शहरतर्फ बसाइँ सर्ने क्रम बढेको छ। यसमा शिक्षा तथा रोजगारीको अवसर नपाउनु पनि प्रमुख कारण हो । यो समस्या समाधानका लागि पनि हामी सबैको प्रयास आवश्यक छ।
निश्चित रुपमा आधारभूत स्वास्थ्य सेवा राज्यको दायित्वभित्र आउँछ। बिमा मार्फत् विशिष्टिकृत सेवाहरुलाई सुनिश्चित गर्नुपर्ने छ । हालसम्मको स्वास्थ्य बिमा बिमाको रुपमा रहेको छैन । त्यसलाई बिमाको रुपमा कसरी लैजाने भन्ने व्यापक छलफल आवश्यक छ। यसमा गम्भीर छलफल आवश्यक छ । यसका लागि नीति सुधार गर्दै अगाडि बढ्नुपर्ने छ। आज सीमित स्रोत तथा साधनका बीचमा पनि भएको सुधार राम्रो सुधार हो । बाल तथा मातृमृत्युदर घट्नु मृत्युदर, मानिसको औसत आयु बढ्नु स्वास्थ्य क्षेत्रमा भएको सुधार सबैको प्रयासले नै भएको हो। हाल विश्वसँग तुलना गर्नुपर्दा हामी पछाडी रहेका छौं । त्यसैले स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि सबै तहका सरकार तथा सरोकारवालाहरु हातेमालो गर्दै अगाडि बढौं ।धन्यवाद ।