ललितपुर- ललितपुरको सानेपामा रहेको स्टार हस्पिटल लिमिटेड र विभिन्न १० वटा सरकारी तथा गैरसरकारी संघ/संस्थाहरूबीच स्वास्थ्य उपचार सेवामा छुट दिने सम्बन्धमा महत्त्वपूर्ण सम्झौता भएको छ।
अस्पतालमा आयोजित एक समारोहमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका प्रमुख कार्यकारी अधिकृत र सम्झौता गर्ने संघ/संस्थाहरूका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार स्टार हस्पिटलले ती संघ/संस्थाहरूका सदस्यहरूलाई अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा विशेष छुट दिनेछ। यसका साथै, दुवै पक्षले स्वास्थ्य सेवा सम्बन्धी विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्नेछन्।
हस्ताक्षर समारोहमा बोल्दै हस्पिटलका मेडिकल डाइरेक्टर डा. दीपक महर्जन र लगानीकर्ता समन्वय समितिका संयोजक रविन्द्र महर्जन ज्यूले अस्पतालले प्रदान गर्दै आएका सेवा सुविधाहरू र भविष्यका योजनाबारे जानकारी गराए।
यसैगरी, सम्झौतामा सहभागी संघ/संस्थाका प्रतिनिधिहरूले स्टार हस्पिटलसँग सहकार्य गर्न पाउनुलाई अत्यन्त उपलब्धिमूलक बताएका थिए र यसको पूर्ण कार्यान्वयनमा जोड दिँदै अस्पताललाई धन्यवाद ज्ञापन गरेका थिए।
स्टार हस्पिटलले सामाजिक क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग निरन्तर सहकार्य गर्दै आएको छ। अस्पतालले ग्रामीण क्षेत्रमा समेत सेवा पुर्याउने उद्देश्यका साथ नुवाकोटको विदुर नगरपालिकामा स्टार नुवाकोट अस्पताल शाखाको रूपमा सञ्चालन गरिरहेको छ।
सम्झौतामा सहभागी संस्थाहरू
स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता गर्ने १० संस्थाहरूमा इन्दिरा सेक्युरिटिज प्रा. लि., काठमाडौं, विश्व शान्ती विहार, काठमाडौं, यल दरवार भेन्यु प्रा. लि., ललितपुर, ललितपुर उद्योग वाणिज्य संघ, नेवाज, ललितपुर, घरपझोंग गाउँपालिका, मुस्ताङ, प्रोग्रेसिभ फाइनान्स लि., ललितपुर, नेपाल फुलकन्ट्याक कराँते महासंघ, काठमाडौं, मोडल कलेज अफ इन्जिनियरिङ, ल एण्ड म्यानेजमेन्ट, ललितपुर र ललितपुर इन्जिनियरिङ कलेज, ललितपुर रहेका छन्।