काठमाण्डौं- नेपाल नर्सिङ संघले नर्सिङ जनशक्तिका पारीश्रमिक, भत्ता र वृत्ति विकाससम्बन्धी मागहरू कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ। संघकी महासचिव डा. देवकी कुमारी आचार्यद्वारा मन्त्रीलाई बुझाइएको पत्रमार्फत हालैको सहमतिमा उल्लेख भएको “ग्रस स्यालरी” भन्ने शब्दप्रति अन्योलता रहेको भन्दै त्यसलाई “बेसिक स्यालरी” का रूपमा कायम गर्न माग गरिएको छ।
प्रधानमन्त्रीको निर्देशनमा गठन भएको अध्ययन कार्यदल र संघबीच मिति २०८२ कार्तिक १५ गते भएको सहमतिको खण्ड (क) अन्तर्गतका बुँदा नं. २ र ३ मा ‘ग्रस स्यालरी’ उल्लेख गरिएको थियो। संघले उक्त शब्दावलीले भ्रम सिर्जना गरेको भन्दै स्पष्टता माग गरेको हो।
संघले यसअघि राखेका मागअनुसार अतिरिक्त समय काम गरेबापतको भत्ता, रात्रीकालीन भत्ता, २५ प्रतिशत जोखीम भत्ता, पोशाक भत्ता लगायतका सुविधाहरूमा स्पष्ट रकम तोक्न माग गरेको छ। साथै, सुगम क्षेत्रमा सेवा गरेका नर्सहरूको बढुवा र स्तर उन्नतीका विषय नियमावलीमार्फत एक महिनाभित्र कार्यान्वयन गर्न माग गरिएको छ।
डा. आचार्यले नर्सिङ पेशाकर्मीहरू उच्च मनोबल र आत्मसम्मानका साथ सेवा गर्न सक्ने वातावरण सिर्जना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको बताइन्। उनले संघले राखेका मागहरू पूरा गर्न सरकार र सम्बन्धित निकायबाट शीघ्र पहल अपेक्षा गरिएको समेत उल्लेख गरेकी छन्।
संघले हालसम्मका सहमतिहरू कार्यान्वयनमा ढिलाइ हुन नदिन र नर्सिङ पेशाकर्मीहरूको हकहित सुनिश्चित गर्न निरन्तर दबाबमूलक कार्यक्रम चलाइरहेको जनाएको छ।