पिनास के हो?
पिनास भनेको नाकको वरिपरि रहेका साइनस (हावाले भरिएका खोक्रा भागहरू) मा हुने सुजन हो। साइनसहरू हाम्रो टाउकोको हड्डीभित्र हुन्छन्, जसले हावा ओहोरदोहोर गराउने, आवाजको प्रतिध्वनि मिलाउने र नाकलाई ओसिलो राख्ने काम गर्छन्।
जब रुघाखोकी, एलर्जी वा संक्रमणका कारण साइनसको मार्ग बन्द हुन्छ, तब त्यहाँ श्लेष्मा (Mucus) जम्मा भई संक्रमण र सुजन उत्पन्न हुन्छ। यसै अवस्थालाई पिनास भनिन्छ।
पिनासका प्रकारहरू:
तीव्र (Acute): २ देखि ४ हप्तासम्म रहने।
दीर्घ (Chronic): १२ हप्ताभन्दा बढी समयसम्म रहने।
प्रमुख लक्षणहरू:
टाउको दुखाइ (विशेष गरी निधार, गाला वा आँखाको वरिपरि)
नाक बन्द हुनु
नाकबाट पहेंलो वा हरियो सिँगान बग्नु
अनुहार भारी भएको महसुस हुनु
ज्वरो आउनु (केही अवस्थामा)
घाँटी दुखाइ वा खोकी लाग्नु
सुँघ्ने क्षमतामा कमी आउनु
बिहानको समयमा बढी समस्या देखिनु
कारणहरू:
बारम्बार रुघाखोकी लाग्नु
एलर्जी (धुलो, धुवाँ, परागकण वा चिसो हावा)
नाकको हड्डी बाङ्गो हुनु
वायु प्रदूषण
कमजोर रोग प्रतिरोधात्मक क्षमता
धूम्रपान
दाँतको संक्रमण
जटिलताहरू
समयमै उपचार नगरिएमा निम्न समस्याहरू देखिन सक्छन्:
दीर्घकालीन पिनास
कानको संक्रमण
आँखाको वरिपरि सुजन
मस्तिष्कमा संक्रमण (अत्यन्त दुर्लभ तर गम्भीर)
श्वासप्रश्वासमा समस्या
प्राकृतिक चिकित्साद्वारा उपचार
१. जल चिकित्सा (Hydrotherapy):
वाष्प स्नान (Steam Inhalation): तातो पानीमा नुन वा ज्वानो राखेर बाफ लिने।
नाक धुने (जला नेति): मनतातो नुनपानीले नाकका प्वालहरू सफा गर्ने।
२. माटो उपचार (Mud Therapy):
निधार र नाकको वरिपरि चिसो माटोको लेप लगाउने।
३. सूर्य स्नान:
बिहानको हल्का घाममा १०–१५ मिनेट बस्ने।
४. उपवास वा हल्का आहार:
एक दिन फलाहार गर्ने वा सजिलै पच्ने सुपाच्य खाना खाने।
योग तथा प्राणायाम
प्राणायाम: अनुलोम–विलोम (१०–१५ मिनेट), कपालभाति (बिहान खाली पेट), र भस्त्रिका प्राणायाम।
योगासन: भुजंगासन, सर्वाङ्गासन र मत्स्यासन।
योग क्रिया: जला नेति र सूत्र नेति (विशेषज्ञको प्रत्यक्ष निगरानीमा मात्र गर्ने)।
नियमित अभ्यासले नासिका मार्ग सफा राख्न मद्दत गर्छ।
आहार तथा पोषण
के खाने?
तातो र झोलिलो खाना (दालको झोल, तरकारीको सुप)
बेसार मिसिएको दूध
अदुवा, लसुन र तुलसीको पात
कागती पानी र मौसमी फलफूल (सुन्तला, अमला आदि)
हरियो सागसब्जी
के नखाने?
चिसो पेय पदार्थ र आइसक्रिम
धेरै तारेको तथा चिल्लो–पिरो खाना
बढी दही (विशेष गरी राति)
जंक फुड
घरेलु जडीबुटी:
तुलसी–अदुवा चिया, हल्दी र मह, त्रिफला, तथा विशेषज्ञको सल्लाहमा सिटोपलादि चूर्ण।
पिनास सामान्य देखिए पनि लापरबाही गर्दा यो दीर्घकालीन समस्या बन्न सक्छ। प्राकृतिक चिकित्सा, योग, सन्तुलित आहार र जीवनशैलीमा सुधार गरेर यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ। यदि १०–१४ दिनभन्दा बढी लक्षणहरू रहिरहेमा वा ज्वरो धेरै आएमा तुरुन्त चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ।
– (डा. यन्जन गैह्रे योग तथा प्राकृतिक चिकित्सक हुन्।)