अस्पतालका चिसा भवनमा,
रातभर बल्ने मधुरो बत्तीमा,
आफ्नो निद्रा बिर्सेर
एउटी नर्स
कसैको जीवन बचाउने यात्रामा हुन्छिन् ।
कसैको पीडामा हात समात्छिन्,
आफ्नो आँसु लुकाएर
अपरिचित बिरामीको आँसु पुछिदिन्छिन् ।
चिकित्सकले धड्कन सुन्नुअघि
बिरामीको मनको डर बुझिदिन्छिन् ।
सेवामै डुबेर
कति रात भोकै ड्युटी गर्छिन्,
बिरामीको पीडा कम गर्न
आफ्ना दुःख लुकाउँछिन् ।
मृत्युसँग हार्दै गएको जीवनमा पनि
फेरि बाँच्ने आशा भरिरहेकी हुन्छिन् ।
उनी नै हुन्
बच्चाको पहिलो रुवाइमा मुस्कुराउने,
कसैको अन्तिम श्वाससँगै
चुपचाप आँसु झार्ने ।
सेतो पोसाकभित्र
थकान, पीडा र अधुरा सपना लुकाएर पनि,
अनुहारमा भने
सधैं आश्वासनको उज्यालो बोकेर हिँडिरहन्छिन् ।
आफ्नै जीवनका कैयौँ पीडा लुकाएर
बिरामीको जीवनमा ऊर्जा भरिरहन्छिन् ।
सायद यसैले
उनी केवल नर्स होइनन्,
अस्पतालमा पुग्ने हरेक बिरामीको जीवनको भरोसा हुन् ।
डा. अखण्ड उपाध्याय
एम.डी.जी.पी. रेजिडेन्ट
किष्ट अस्पताल, किष्ट मेडिकल कलेज, काठमाडौं ।