जनकपुरधाम- सर्पदंशका बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुनप्रसाद सिंह मन्त्रालय तानिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अधिकृत दसौँ तहका वरिष्ठ कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कामकाज गर्ने गरी सरुवा गरेको हो। उनको स्थानमा मन्त्रालयमा कार्यरत दसौँ तहका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्रजीतकुमार रजकलाई अस्पतालमा काज सरुवा गरिएको छ।
असोज १३ गते राति सर्पले टोकेपछि जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियाका २५ वर्षीय महेश यादव आफैँ स्कुटर चलाएर प्रादेशिक अस्पताल पुगेका थिए। उपचारका क्रममा उनको अवस्था जटिल बनेपछि आईसीयूमा राख्नुपर्ने भएको थियो। तर, अस्पतालमा आईसीयू खाली नभएपछि उनलाई अन्य अस्पतालमा रेफर गरिएको थियो।
अन्य दुई अस्पतालमा लैजाँदा पनि उपचार सम्भव नभएपछि यादवलाई बर्दिबासस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनापछि अस्पतालको उपचार व्यवस्थापन र आईसीयू सेवाको उपलब्धतालाई लिएर व्यापक आलोचना भइरहेको छ।
यसैबीच, प्रादेशिक अस्पतालले जारी गरेको विज्ञप्तिमा बिरामीलाई सर्पदंशको औषधि एन्टिस्नेक भेनम (एएसभी) सुरुमा १० भाइल र सुधार नभएपछि थप पाँच भाइल दिइएको जनाएको छ। आईसीयू खाली नभएकाले बिरामीका अभिभावकको अनुरोधमा अर्को अस्पतालमा रेफर गरिएको अस्पतालको दाबी छ।