धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले प्रयोगशाला परीक्षणको रिपोर्ट संकलनलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउन ’स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ्ग मेसिन’ सञ्चालनमा ल्याएको छ।
प्रतिष्ठानको सेन्ट्रल ल्याबमा जडान गरिएको उक्त अत्याधुनिक मेसिनको असोज २६ गते सोमबारका दिन प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्की र अस्पताल निर्देशक डा. इन्द्र कुमार लिम्बूले संयुक्त रूपमा रिबन काटेर शुभारम्भ गरे।
मेसिनको प्रयोग अत्यन्तै सरल र सहज बनाइएको छ जसले गर्दा सर्वसाधारणले कुनै प्राविधिक कठिनाइ बिना नै आफ्नो रिपोर्ट आफैं निकाल्न सक्नेछन्। सेवाग्राहीले ल्याब परीक्षण गराउँदा प्राप्त बिलको बारकोडलाई मेसिनको सेन्सर भागमा देखाउनासाथ प्रणालीले सोझै डाटा पहिचान गरी केही सेकेन्डमै रिपोर्ट प्रिन्ट गरेर बाहिर निकाल्ने व्यवस्था मिलाइएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसअघि सेन्ट्रल ल्याबको काउन्टरबाट रिपोर्ट लिनका लागि बिरामी तथा तिनका कुरुवाहरू घण्टौंसम्म लामो लाइनमा बस्नुपर्ने बाध्यता थियो। अत्यधिक भीडका कारण कर्मचारीहरूलाई पनि रिपोर्ट खोज्न र वितरण गर्न कठिनाइ भइरहेको अवस्थामा यो प्रविधि भित्रिएसँगै समयको बचत हुनुका साथै भीडभाड र मानवीय त्रुटि उल्लेख्य रूपमा कम हुने अपेक्षा गरिएको छ।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार अस्पताललाई क्रमैसँग पूर्ण रूपमा डिजिटल र प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत यो मेसिन जडान गरिएको हो। प्रतिष्ठानले पछिल्लो समय बिरामीको चापलाई सम्बोधन गर्न र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन निरन्तर पूर्वाधार तथा प्रविधि विस्तार गर्दै आएको छ।