काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाल चिकित्सक संघ (एनएमए) का तीन पूर्वअध्यक्ष र नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा छन्। प्रारम्भिक मतगणनामा डा. केदारनरसिंह केसी र डा. मुक्तिराम श्रेष्ठको अवस्था बलियो देखिएको छ भने पेसागत विषय विज्ञ समूहबाट उम्मेदवारी दिएका डा. मिश्र पनि पाँच पदमा तेस्रो स्थानमा छन्। अर्का पूर्वअध्यक्ष डा. अञ्जनी कुमार झाको भने मधेश भूगोलअन्तर्गत मतगणना सुरु हुन बाँकी छ।
खुलातर्फका ४५ केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरिरहेका डा. केदारनरसिंह केसीले ३ हजार मत गणना हुँदा १ हजार ३ सय ६३ मत प्राप्त गरेका छन्। उनी पहिलो स्थानमा छन्। यस मतपरिणामले उनको केन्द्रीय सदस्य बन्ने सम्भावना बलियो देखाएको छ।
त्यस्तै, अर्का पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठले करिब २ हजार ५ सय मत गणना हुँदा ९ सय ४ मत प्राप्त गरेका छन्। उनी खुलातर्फ ४५ सदस्यका लागि भइरहेको प्रतिस्पर्धामा ३०औँ स्थानमा छन्। हालको मतपरिणामअनुसार उनी पनि केन्द्रीय सदस्य बन्ने सम्भावित उम्मेदवारका रूपमा देखिएका छन्।
नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय उनले आफ्नो चिकित्सकीय अनुभव, पेसागत नेतृत्व क्षमता र राजनीतिक अनुभवलाई पार्टीको नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्। प्रारम्भिक मतगणनामा उनी ७ सय ३ मतसहित तेस्रो स्थानमा छन्।
एनएमएका पूर्वअध्यक्ष डा. केसी कांग्रेसको स्वास्थ्यसम्बन्धी गतिविधिमा सक्रिय रहँदै आएका छन्। कांग्रेसले हालै गठन गरेको स्वास्थ्य समितिको संयोजकको जिम्मेवारीसमेत उनलाई दिएको छ। डा. श्रेष्ठ पनि लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन्।
अर्का पूर्वअध्यक्ष डा. अञ्जनी कुमार झा भने मधेश भूगोलअन्तर्गत केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्दैछन्। उनको मतगणना आजदेखि सुरु हुने बताइएको छ।