काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि भइरहेको मतगणनामा नेपाल चिकित्सक संघ (एनएमए) का पूर्वअध्यक्षद्वय डा. मुक्तिराम श्रेष्ठ र डा. केदार नरसिंह केसीको मतपरिणामले फरक अवस्था देखाएको छ। खुला केन्द्रीय सदस्यतर्फ डा. श्रेष्ठ प्रतिस्पर्धात्मक अवस्थामा रहँदा पेशागत तथा विषयगत क्षेत्रतर्फ डा. केसीले अग्रता कायम राखेका छन्।
कांग्रेसको खुला केन्द्रीय सदस्यका ४५ पदका लागि ५ हजार ४ सय मत गणना हुँदा डा. मुक्तिराम श्रेष्ठले १ हजार ८ सय ३४ मत पाएका छन्। उनी उम्मेदवारमध्ये ४० औँ स्थानमा छन्। मतगणनाको सुरुवाती चरणमा ३५ जनाभित्र रहेका श्रेष्ठ पछिल्लो गणनामा पाँच स्थान तल झरेका हुन्।
खुलातर्फ ४६ औँ स्थानमा रहेका उम्मेदवारसँग श्रेष्ठको मतान्तर १४० मात्रै छ। ४५ जना निर्वाचित हुने व्यवस्थाअनुसार उनी अहिले निर्वाचित हुने सीमाभित्र रहे पनि मतान्तर साँघुरो भएकाले बाँकी मतगणनाले उनको स्थानमा प्रभाव पार्न सक्छ। त्यसैले अन्तिम नतिजा नआउँदासम्म उनको स्थिति निश्चित भइसकेको छैन।
यता, पेशागत तथा विषयगत क्षेत्रबाट केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका डा. केदार नरसिंह केसीले भने अग्रता कायम राखेका छन्। यस समूहका पाँच पदका लागि ५ हजार मत गणना हुँदा उनले २ हजार २ सय ६८ मत पाएका छन्। अन्य उम्मेदवारको तुलनामा उनले पाएको मत दोब्बर जस्तै रहेकाले निर्वाचित हुनेमा ढुक्क छन्।
यसै समूहमा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले १ हजार ९५ मतसहित तेस्रो स्थानमा छन्। तर, उनको पनि छैटौं नम्बरमा रहेकासँगको मतान्तर धेरै फराकिलो छैन। त्यसैले अन्तिम परिणाम नै कुर्नुपर्ने अवस्था बनेको छ।
अर्का एनएमए अध्यक्ष डा अञ्जनीकुमार झाको अझै मतगणना भइसकेको छैन। उनी मधेश भुगोलबाट प्रतिष्पर्धामा छन्।