काठमाडौं — नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम) पदमा डा. मो. फिरदोश आलम विजयी भएका छन्। मुस्लिम समुदायका लागि छुट्याइएको एक पदमा भएको प्रतिस्पर्धामा उनले अतहर कमाल मुसलमान र अब्दुल सत्तारलाई पछि पार्दै जित हासिल गरेका हुन्।
डा. आलम रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। गत फागुनमा भएको निर्वाचनमा उनले नेकपाका उम्मेदवार किरणकुमार साहलाई पराजित गरेका थिए। उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको थियो।
डा. आलम नेपाली कांग्रेसका दिवंगत नेता शेख इद्रिसका नाति तथा दिवंगत मोहम्मद आफताबका छोरा हुन्। उनले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) अध्ययन पूरा गरेका छन्। उनले नेपाल प्रहरी अस्पतालमा प्रहरी निरीक्षकका रूपमा समेत काम गरेका थिए।
प्रतिनिधिसभा सदस्यसमेत रहेका डा. आलम कांग्रेसको केन्द्रीय पदाधिकारीमा निर्वाचित भएसँगै मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै पार्टीको नेतृत्व तहमा पुगेका छन्।