काठमाडौं - दशैं, तिहार र छठलगायतका चाडपर्वमा राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना तथा खाजा उपलब्ध गराउने होटल, रेस्टुरेन्ट र भोजनालयलाई खाद्य स्वच्छता कायम गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन दिएको छ।
विभागले २०८३ असोज २९ गते सूचना जारी गर्दै होटल, रेस्टुरेन्ट, मिठाइ पसल, चमेना गृह, क्याटरिङ तथा भोजनालयलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्री वितरण गर्न आग्रह गरेको हो। निर्देशन पालना नगरे खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने विभागले जनाएको छ।
विभागले खाद्य व्यवसायीलाई उपभोग्य अवधि बाँकी रहेका खाद्य पदार्थ मात्र बिक्री गर्न, खाना तयार गर्ने भान्सा तथा वितरणस्थल सफा राख्न र कामदारको व्यक्तिगत सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ। त्यस्तै, खाना पकाउन तथा खान दिन सफा भाँडाकुँडा प्रयोग गर्न र स्वच्छ तथा गुणस्तरीय पानी र कच्चा पदार्थ मात्र प्रयोग गर्न भनिएको छ।
खानेकुरा राम्ररी पकाएर मात्र ग्राहकलाई दिन, पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न तथा खाद्य पदार्थको प्रकृतिअनुसार सुरक्षित तापक्रममा संरक्षण गर्न पनि विभागले आग्रह गरेको छ। बिक्रीका लागि राखिएका खाद्य पदार्थलाई आवश्यकताअनुसार चिसो वा तातो तापक्रम कायम हुने सोकेस वा कक्षमा राख्नुपर्ने सूचनामा उल्लेख छ।
विभागले बासी, सडेगलेका, झिँगा भन्केका तथा धुवाँ, धुलो वा फोहोर पानी मिसिएका खाद्य पदार्थ बिक्री नगर्न पनि सचेत गराएको छ। उपभोक्तालाई उचित मूल्यमा खाना तथा खाजा उपलब्ध गराउनसमेत व्यवसायीलाई निर्देशन दिइएको छ।
चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने भएकाले राजमार्ग आसपासका खाद्य व्यवसायमा स्वच्छता र गुणस्तर कायम गर्न विभागले जोड दिएको हो। विभागले खाद्य व्यवसायीलाई आफ्नो व्यवसायको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत आग्रह गरेको छ।