मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ सवार गाडीमा अज्ञात समूहले गोली प्रहार गरेको छ। आइतबार साँझ भारतको मुम्बईस्थित विले पार्ले पश्चिम क्षेत्रमा भएको घटनामा श्राफका चालकसहित दुई जना घाइते भएका छन्।
बीबीसी मराठीका अनुसार जुहू प्रहरी थाना क्षेत्रभित्र पर्ने विले पार्ले पश्चिममा गोली प्रहार भएको हो। घटनामा श्राफका चालक फिरदौसको बायाँ हातमा गोली लागेको छ। घाइते दुवै जनाको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।
मुम्बई पश्चिम क्षेत्र–२ का प्रहरी उपायुक्त मोहित गर्गले घटनाको पुष्टि गर्दै अभिनेता श्रॉफ सुरक्षित रहेको बताएका छन्। उनका अनुसार आइतबार साँझ करिब ७ बजे निजी काम सकेर गाडीमा फर्किने क्रममा घटना भएको थियो। गोली लागेर श्रॉफ घाइते नभएको प्रहरीले स्पष्ट पारेको छ।
घटनाको अनुसन्धानका लागि प्रहरीले विभिन्न टोली परिचालन गरेको छ। प्रारम्भिक अनुसन्धानका लागि फरेन्सिक टोली घटनास्थलमा पुगेको छ भने करिब १५ प्रहरी टोलीले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी उपायुक्त गर्गले बताएका छन्।
समाचार एजेन्सी आईएएनएसका अनुसार प्रहरीले आक्रमणकारीको पहिचान गर्न र उनीहरू भागेको बाटो पत्ता लगाउन घटनास्थल वरपरका सीसीटीभी फुटेज जाँच गरिरहेको छ। वरिष्ठ प्रहरी अधिकारीहरूले पनि घटनास्थल पुगेर अवस्थाबारे जानकारी लिएका छन्। गोली कति राउन्ड प्रहार गरियो भन्ने विषयमा भने प्रहरीले तत्काल केही खुलाएको छैन।
घटनापछि महाराष्ट्रको सुरक्षा व्यवस्थालाई लिएर विपक्षी दलहरूले प्रश्न उठाएका छन्। भारतीय राष्ट्रिय कांग्रेस र शरद पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टीले राज्य सरकारले सर्वसाधारणलाई सुरक्षा दिन नसकेको आरोप लगाएका छन्। अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिन (एआईएमआईएम) का नेता वारिस पठानले घटनालाई राज्यको कानुन व्यवस्थाको विफलताका रूपमा टिप्पणी गरेका छन्।
टाइगर श्राफ बलिउडका चर्चित अभिनेता ज्याकी श्राफका छोरा हुन्। घटनामा उनको संलग्नता वा आक्रमणको उद्देश्यबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।