शिकागो- अमेरिकाको चिकित्सा प्रयोगशाला सेवा प्रदायक कम्पनी क्वेस्ट डाइग्नोस्टिक्सले आफ्नो एउटा प्रणालीमा साइबर आक्रमण भएको र त्यसबाट बिरामीका केही विवरणमा अनधिकृत पहुँच पुगेको आशंका गरेको छ।
कम्पनीले बिहीबार नियामक निकायमा पेस गरेको विवरणअनुसार, यसको क्वानम ल्याब सर्भिसेज म्यानेजर प्रणालीमा अनधिकृत पहुँच भएको पाइएको हो। उक्त प्रणालीमार्फत केही ग्राहकले प्रयोगशालामा परीक्षणका लागि अनुरोध पठाउने तथा परीक्षणको नतिजा प्राप्त गर्ने वा हेर्ने गर्छन्।
कम्पनीले बुधबार साइबर आक्रमणबारे थाहा पाएको र त्यसबारे सङ्घीय कानुन कार्यान्वयन निकायलाई जानकारी गराएको जनाएको छ।
आक्रमणबाट कति जना बिरामी प्रभावित भए र उनीहरूका कुन-कुन विवरणमा पहुँच पुग्यो भन्ने अझै खुल्न सकेको छैन। कम्पनीका अनुसार, केही बिरामीका अभिलेखमा पहुँच पुगेको विश्वास गरिए पनि घटनाको पूर्ण विवरण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।
न्यु जर्सीमा मुख्यालय रहेको कम्पनीले साइबर सुरक्षासम्बन्धी बाह्य विज्ञहरूको सहयोगमा घटनाको अनुसन्धान तथा प्रतिकार्य गरिरहेको जनाएको छ।
क्वेस्ट डाइग्नोस्टिक्सका बिरामीका विवरण यसअघि पनि साइबर आक्रमणका कारण प्रभावित भएका थिए। सन् २०१६ मा भएको अर्को साइबर घटनामा प्रयोगशाला परीक्षणका नतिजा र सम्पर्क विवरणसहित करिब ३४ हजार व्यक्तिको जानकारी सार्वजनिक भएको थियो।
त्यस्तै, सन् २०१९ मा बिलिङ तथा रकम सङ्कलन सेवा प्रदायक अमेरिकन मेडिकल कलेक्सन एजेन्सीमा भएको छुट्टै साइबर आक्रमणबाट क्वेस्टका करिब एक करोड १९ लाख बिरामीका व्यक्तिगत विवरण प्रभावित भएका थिए।
पछिल्लो समय विभिन्न क्षेत्रमा साइबर आक्रमणका घटना बढिरहेका छन्। स्वास्थ्य सेवाबाहेक सुपरमार्केटका प्रणालीदेखि शैक्षिक क्षेत्रमा प्रयोग हुने महत्त्वपूर्ण अनुप्रयोगसम्म यस्ता आक्रमणबाट प्रभावित भएका छन्।
विश्वभरका सरकार तथा कम्पनीहरूले अनलाइन सुरक्षाका उपाय सुदृढ बनाउने प्रयास गरिरहेका छन्। यसै साता कृत्रिम बुद्धिमत्ता (एआई) को सहायताबाट वेबसाइट निर्माणमा व्यापक प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपी (PHP) मा सुरक्षा कमजोरी पत्ता लागेपछि जोखिमप्रति थप चासो बढेको छ। विश्वका करिब ७० प्रतिशत वेबसाइटमा पीएचपीको प्रयोग हुने बताइएको छ।
सुरक्षा कमजोरी सच्याउन विभिन्न कम्पनीले प्रणाली अद्यावधिक गरिरहेका बेला कतिपय सेवामा अवरोध र सीमितता देखिएको छ। तर, क्वेस्ट डाइग्नोस्टिक्सले आफ्नो प्रणालीमा भएको साइबर आक्रमण पीएचपीमा भेटिएको सुरक्षा कमजोरीसँग सम्बन्धित नरहेको बिहीबार एसोसिएटेड प्रेस (एपी) लाई पुष्टि गरेको छ।