काठमाडौं- नेपालमा पहिलोपटक एकवर्षीय पेन मेडिसिन (दुखाइ चिकित्सा) फेलोसिप कार्यक्रम सुरु गर्न त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान र थाइल्यान्डको महिडोल विश्वविद्यालय अन्तर्गत सिरिराज अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीअनुसार सिरिराज अस्पतालले नेपालमा सञ्चालन हुने उक्त एकवर्षीय फेलोसिप कार्यक्रमका लागि आवश्यक शैक्षिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ। यस किसिमको सहकार्यले नेपालमै पेन मेडिसिनसम्बन्धी उच्चकोटिको विशेषज्ञ जनशक्ति उत्पादन गर्न तथा दुई संस्थाबीच आपसी शैक्षिक ज्ञान, सीप र अनुभव आदानप्रदान गर्न महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस समझदारीलाई नेपालमा पेन मेडिसिनको औपचारिक विशेषज्ञ प्रशिक्षण तथा उपचार सेवालाई अझ व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने एक ऐतिहासिक तथा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

