सांस्कृतीक रुपमा हिन्दु धर्ममा प्रशस्त मात्रामा चाडपर्वहरु छन् । ति सबै पर्वहरुको विशेष महत्व छ । तर दशैँ र तिहारको महत्व अझ बढी नै छ । चाडपर्वमध्ये मलाई तिहार विशेष लाग्छ । तिहारमा मनै आनन्दीत हुन्छ । सानै उमेरदेखि नै तिहारको झलिमिली, देउसी भैलोले मन रोमाञ्चित बनाउँथ्यो । अहिले पनि तिहारको सबै कुराले छुट्टै आनन्द दिने गर्छ । तिहारमा घर परिवारसँग समय दिने, दिदीभाई टिका लगाउने र देउसी खेल्न मलाई रमाइलो लाग्छ ।
तर, चिकित्सक भएपछि छुट्टी भन्ने हुँदो रहेनछ । बिदाको दिन पनि बिरामीको उपचारमा जानुपर्छ । सबै मानिसहरु रमाइरहेको समयमा बिरामीको उपचारमा जानुपर्ने हुन्छ । यसबाट हामीलाई दुःख लाग्दैन । यो त हाम्रो पेशागत धर्म हो । बिरामीको ज्यान बचाउन र सेवा गर्न पाउँदा खुसी लाग्छ । आज बिहान पनि अस्पतालमा गएर भर्खरै आएको हुँ । अस्पतालबाट फर्केपछि परम्पराअनुसार गाई पुजा गरेँ । साँझ लक्ष्मी पुजा गर्ने कार्यक्रम छ ।
चिकित्सकहरु र केही संस्थाबाट देउसी भैलो खेल्न आउने भन्ने सन्देश आएको छ । त्यही भएर कुरेर बसेको छु । यही बिचमा अस्पतालबाट फोन आयो वा कोही नियमित बिरामी पक्षबाट फोन आयो भने अस्पताल वा बिरामीको उपचारमा जान्छु । चाडपर्व भनेर हुँदैन । तिहारको समयमा रातको २ बजे अस्पताल पुगेर बिरामीको उपचार गरेको छु । राती २ बजेदेखि ५ बजेसम्म अस्पतालमा बसेर फर्केको तीन घण्टापछि पुन ८ बजे काममा गएको छु । हामी चिकित्सकलाई चाडबाडको समयमा पनि रात बिहान भन्ने हुँदैन । चाडबाडको समयमा झन सर्तक रहनुपर्छ । यी सबै कुरालाई मिलाएर घर परिवारमा पनि समय दिनुपर्छ ।
सानो छँदा निकै देउसी भैलो खेलियो । त्यतीबेला आफ्ना साथीहरुसँग खेल्नुका साथै विद्यालयबाट विशेष रुपमा पनि खेलिन्थ्यो । विद्यालय बनाउन रकम संकलन गर्न पनि हामीले देउसी खेलेका छौँ । त्यतीबेला विद्यालयले नै देउसी कार्यक्रम गरेको थियो । सामाजिक कामका लागि देउसी खेल्न पाउँदा निकै खुसी लागेको थियो । त्यसपछि अन्य थुप्रै सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउन देउसी खेलिएको छ । अहिले पनि चिकित्सकहरु सामाजिक कामका लागि देउसी खेल्न आउँदैछन् । स्वास्थ्य संस्था र चिकित्सकमाथि हुने आक्रमणलाई कानुनी रुपमा सल्ट्याउनु पर्ने तथा डा. गोविन्द केसीका माग लिएर अभियान चलाइरहेको समूह देउसी खेल्न आउँदैछन् । उनीहरुको अभियानमा सहभागी हुन र देउसीमा रम्न म पनि तयारी अवस्थामा बसेको छु ।