स्वास्थ्य संवाद

एलपिआरएफ जुनसुकै घाउमा उपयुक्त उपचार विधि: प्राडा नेल्सन आर पिन्टो

अन्तर्वार्ता



टिस्यू रिजेनेरेसनमा तपाईंले गर्नुभएको अनुसन्धान कस्तो हो ?
म विगत ३० वर्षदेखि यस प्रकारको अनुसन्धानमा सहभागी छु । विशेषगरी २० वर्षदेखि घाउ निको पार्ने सम्बन्धी अनुसन्धानमा केन्द्रित भएर लागेको हुँ । घाउलाई कसरी कुनै पनि प्रकारको तन्तुले सहज रुपमा निको पार्न सकिन्छ भन्नेमा म केन्द्रित थिएँ । म आफैं दन्तरोग विशेषज्ञ भएकाले कतिपय निको नहुने प्रकारका घाउलाई देख्ने गर्थें र त्यसलाई कसरी छिटो र सहज रुपमा निको पार्न सकिन्छ भन्ने विषयमा घोत्लिरहन्थें । जटिल र दीर्घ घाउले बिरामीलाई कति पीडा दिन्छ त्यो मैले नजिकबाट नियालेको छु । त्यही भएर कसरी सहज र छिटो निको बनाएर पीडाबाट मुक्ति दिने भन्ने विषयमा धेरै विकल्पको खोजी भयो। 

कुनै नयाँ औषधि, रसायन वा पट्टी लगाएर हुन्छ कि भनेर पनि खोजी ग¥यौं । तर, तिनीहरु सबै बिरामीका लागि उपयुक्त देखिएनन् । त्यसपछि हामीले आफ्नै शरीरबाट केही हुन्छ कि भनेर खोज ग¥यौं । हाम्रो शरीरभित्र प्राकृतिक रुपमा रोग निको पार्नसक्ने क्षमता निहित हुन्छ । हामीले जेजति विकास ग¥यौं त्यो पर्याप्त थिएन । तर, रगतबाट चाहिँ हामीले यसका लागि आवश्यक उपयुक्त विधि बन्न सक्छ भन्ने ज्ञान प्राप्त ग¥यौं । त्यसपछि घाउलाई छिटो निको पार्न बिरामीको आफ्नै रगत निकालेर त्यसलाई प्रविधिको सहयोगमा नयाँ तन्तु बनाएर प्रयोग गर्ने निष्कर्षमा पुग्यौं । लामो अध्ययनपछि त्यसमा सफलता मिल्यो । यसको नतिजा पनि आश्चार्यजनक नै आयो । दाँतको वरिपरिको घाउको उपचारसँगै शरीरका अन्य भागमा पनि यस्तै प्रकारका घाउहरु हुने र त्यही प्रकृतिबाट उपचार गर्दा निको हुने महसुस भएकाले यतातर्फ लागेको हुँ ।

यो विधिको खास नाम के हो र प्रक्रिया कस्तो छ ?
यो विधिलाई ‘नेचुरल गाइडेड रिजेनेरेसन थेरापी’ भनिन्छ । यो विधिमा बिरामीको शरीरको आफ्नै रगत निकालिन्छ र त्यसमा कुनै पनि रसायन नराखी प्राकृतिक रुपमा नै विशेष प्रकारको उपकरणमार्फत रगतको स्वरुप बदलेर तन्तु बनाइन्छ । यसलाई हामी एलपिआरएफ (ल्युकोसाइट प्लेटलेट रिच इन फाइब्रिन) भन्छौं । स्वरुप बदलिएको तन्तु झट्ट हेर्दा झिल्ली जस्तै हुन्छ । यो पातलो तर बलियो झिल्लीलाई निर्मलीकरण गरिएका मेडिकल सामग्रीको सहायतामा घाउ भएको स्थानमा राखिन्छ । यो पद्धति कुनै पनि तन्तु (टिस्यू) जस्तै छाला, मासु, कुरकुरे हाड वा हड्डीका लागि उपयुक्त हुन्छ । सुरुमा यो रगत भए पनि यसलाई हामीले जीवित तन्तुका रुपमा बदलेका हुन्छौं र यसलाई घाउमा ‘ग्राफ्ट’का रुपमा प्रयोग गछौं । जुन आवश्कयता अनुसारको तन्तुमा विकसित हुँदै जान्छ। 

उदाहरणका लागि कुनै एक व्यक्तिको खुट्टा जलेको छ भने उक्त जलेको स्थानलाई निको बनाउन पहिला ती व्यक्तिको शरीरबाट रगत निकालिन्छ । उक्त रगतलाई उपकरणमा राखेर घुमाइन्छ । त्यहाँ उक्त रगत तन्तुमा परिणात हुन्छ । रगत निकालेर मेसिनमा घुमाउने प्रक्रियाका लागि जम्मा १५ मिनेट लाग्छ । त्यसलाई एउटा थिच्ने यन्त्रमा राख्छौं । यो करिब ३–४ मिनेटको प्रक्रिया हो । त्यसपछि पातलो झिल्लीमा परिणात भएको उक्त तन्तुलाई  जलेको घाउँमा टाँस्छौं । यो विधिबाट उपचार हुँदा उक्त घाउमा कुनै दाग पनि बस्दैन र पहिलेकै जस्तो अवस्थामा आउँछ । 

के यो प्रविधिबाट घाउ निको हुने प्रक्रिया छोटो हुटे हो ?
पक्कै पनि । सामान्य बिरामीमा यो प्रविधिबाट कम्तिमा पनि ३० प्रतिशत चाँडो घाउ निको हुन्छ । जटिल घाउमा त ७० देखि ८० प्रतिशतसम्म पनि छिटो भएका छन् । निको नभएका दीर्घ घाउ, जस्तै– रक्त नसाको घाउ, मधुमेहका बिरामीको खुट्टामा हुने घाउ (डाइबेटिक अल्सर), हड्डीको संक्रमण भएर देखिने घाउ (अस्टियोमाइलाइटिस), कुष्ठरोगका घाउ आदि निको हुन महिनादेखि वर्षौंसम्म लाग्ने घाउलाई यो विधि वरदान साबित भएको छ । परम्परागत विधिबाट घाउ निको हुन एक वर्षसम्म लाग्ने गरेकोमा यो विधिबाट ८ देखि १० हप्तामा निको भएका छन् । 
घाउमा मात्र नभई विगतमा अरु प्रक्रियाबाट घाउ निको हुने क्रममा बसेका दाग वा अस्वभाविक वृद्धि (जस्तै हाइपरट्रोफिक स्कार वा केलवाइड) मा पनि यसले काम गर्छ ?
यो विषयमा पनि अनुसन्धान भइरहेको छ । तर, सुरुकै अवस्थामा यो विधिबाट उपचार गर्ने हो भने यस्ता दाग वा अस्वभाविक बृद्धि देखिने छैन।

बिरामीको पक्षबाट हेर्दा यो विधिबाट उपचार गर्दा के फाइदा छ ?
हामीले विगत १५ वर्षको अनुभव हेर्दा आजसम्म एउटा पनि नकारात्मक टिप्पणी र असर देखिएको छैन । त्यसकारण यो पूर्ण रुपमा सुरक्षित छ । किनकि यो रसायन विहीन शतप्रतिशत प्राकृतिक पद्धति हो । यो भनेको बिरामीको आफ्नै शरीरको तन्तु पुनः आफ्नै शरीरमा राख्ने (अटोलोगस) विधि हो । त्यसैले यसमा साइड इफेक्ट र शरीरले ग्रहण नगर्ने (रिजेक्सन) सम्भावना रहँदैन । यो टिस्यू रिजेनेरेसन पद्धति भएकाले जुनसुकै तन्तु वा जुनसुकै कारणले भएका घाउमा पनि उपयुक्त हुन्छ। 

अर्को कुरा शुल्कको हो । यो विधिबाट उपचार गर्नु भनेको लगभग निःशुल्क जस्तै हो । केही उपकरणगत प्रक्रिया र जनशक्तिको शुल्क मात्र लाग्छ । अर्को कुरा यो पद्धति सिक्न र सिकाउन सहज छ । साथै, बिरामीले अंग गुमाउनुपर्ने वाध्यता हटेको छ भने घाउको पीडाबाट निकै छुटकारा समेत पाइनेछ। 

यो प्रविधिले अरु महँगा प्रविधिलाई विस्थापित गर्ने देखियो । यसलाई रोक्ने सम्भावना त रहला नि ? 
रोक्ने सम्भावना मात्र होइन कोसिस पनि भइरहेको छ । यसले सबैलाई विस्थापित गर्छ भन्ने पनि होइन र यो कुनै जादु पनि होइन । यो विल्कुल नयाँ विधि हो । यसले अन्य विधिसँग हातमा हात मिलाएर अगाडि बढ्ने सम्भावना छ । यो अन्य विधिका लागि ‘थ्रेट’ हुँदै होइन तर थ्रेटकै रुपमा लिइरहेका छन्। 

नेपालजस्तो देशले यो प्रविधिबाट कसरी फाइदा लिने ?
धनी र गरिब देश भन्ने भन्दा पनि यसको प्रमुख उपादेयता भनेको बिरामीको सहज र गुणात्मक उपचार नै हो । जस्तो कि, दाँतको रोगमा महँगा बायोमेट्रिकल उपकरण राख्दा लाग्ने खर्च र समय सोचौं । यस विधिबाट भने कम समय, कम शुल्क र कम दुखाईमा  छिटो प्रतिफल पाइन्छ। 

कतिपय अवस्थामा यस्ता उत्पादनहरु हाम्रोजस्तो देशमा थाहा नदिई अनुसन्धान गर्ने उद्देश्यले ल्याइन्छ । जसले नयाँ प्रविधिप्रति संशय रहने गर्छ । एलपिआरएफ स्वीकार भइसकेको प्रविधि हो ?
पहिलो कुरा त यो औषधिजन्य उत्पादन होइन । त्यसकारण यसमा परीक्षण गरिरहनुपर्ने कुनै गुन्जायस नै छैन । किनकि यो आफ्नै रगतबाट निकालिने तन्तुमा आधारित विधि हो । यो विधिलाई अध्ययन अनुसनधान गरेर वैज्ञानिक ढंगले वैधानिकता दिएका छौं । यो विधिमा हामीले काम सुरु गरेको १७ वर्ष भइसकेको छ । जनवारमाथि अध्ययन गरियो, प्रयोगशालामा अध्ययन गरियो । र, बिरामीमै पनि १२ वर्षदेखि अध्ययन भइरहेको छ । हामीले केही नयाँ कुरा पत्ता लगाएको होइन कि, प्रकृतिमा नै भएका कुरालाई अध्ययनमार्फत परिणाममा बदलेका हौं। 

यो विधिको विषयमा म अध्ययन गरिरहेको थिएँ । एक दिन एउटा घोडा लड्यो । त्यसको खुट्टामा घाउ थियो । मलाई मेरो अध्ययनको विषयले त्यो घाउ निको हुन्छ कि भन्ने लागिरहेको थियो । अनि त्यो विधि अनुसार कोसिस गरें । नभन्दै एक सातामा राम्रो नतिजा आयो । फेरि त्यही प्रक्रिया अपनाउँदा घोडाको घाउ पूर्ण निको भयो । त्यसपछि अरु घोडामा पनि यो विधि अपनाइयो । नतिजा राम्रो नै आयो । हामीले कुकुरमा पनि यो विधि अपनायौं । त्यसमा पनि राम्रो नतिजा आएपछि हामीले निको नभएका दीर्घ घाउ लिएर बसेका केही मानिसमा यो विधि प्रयोग ग¥यौं । किनभने ती बिरामीले उपचारका विभिन्न विधि अपनाउँदा पनि घाउ निको भएको थिएन । यो विधि प्रयोग गर्दा मानिसमा पनि सकारात्मक नतिजा आयो । नतिजा पनि यस्तो राम्रो आयो कि, घाउ निकै छिटो र राम्रोसँग ठिक भयो। 

समग्रमा यस विधिको स्वीकार्यता विश्वमा कस्तो देखिएको छ ? कस्तो प्रतिक्रिया मिलेको छ ?
सन् २०१२ मा जापानमा घाउ निको पर्ने विधिसम्बन्धी विश्व सम्मेलन भएको थियो । ९ देखि १० हजार मानिस सहभागी भएको सम्मेलनमा प्रस्तुत भएका १२ सय जति कार्यपत्रमा मेरो एलपिआरएफ सम्बन्धी कार्यपत्रलाई पहिलो पुरस्कार दिइएको थियो । ४ वर्षपछि पुनः इटलीमा भएको सम्मेलनमा एलपिआरएफ ‘स्किन ग्राफ्ट’को विकल्प हुनसक्छ भनेर दिइएको प्रस्तुतिलाई उत्कृष्ट चिकित्सकीय योगदान पुरस्कार मिल्यो । यो निकै साधारण छ र शुल्क पनि कम छ भन्दै उत्कृष्ट विधिका रुपमा नपत्याउनेहरु पनि भेटिए । तर, समयक्रमसँगै यसलाई आत्मसात गर्नेको संख्या बढ्दै छ ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने