स्वास्थ्यकै केही कर्मचारीको दबाबका कारण एकीकृत राष्ट्रिय रोग नियन्त्रण केन्द्र निर्माण नहुने भएको छ। संघीय संरचनाअनुसार सरकारी कार्यालयको नयाँ संगठन संरचना बनाइरहेको सरकारले अन्तर्राष्ट्रिय अभ्यासअनुरुपको उक्त केन्द्र बनाउने तयारी अघि बढाएको थियो।
स्रोतका अनुसार कर्मचारीकै दबाबमा पूूरानै संरचनाअनुसार ठूूला र भद्दा संरचना बनाउने खेल सुरु भएको छ। त्यसैअनुसार नयाँ संगठन संरचना पास हुने हो भने संघीयताको मर्मविपरित स्वास्थ्यमा पुनः धेरैभन्दा धेरै हाकिम हुनेछन्।
प्रशासनिक संरचना तयार गर्न गठित उच्चस्तरीय पुनर्संरचना समितिको सिफारिसअनुसार सुरुमा विज्ञहरुले देशमा देखापर्ने विभिन्न सर्ने तथा नसर्ने रोग र महामारीको प्रभावकारी नियन्त्रण गर्न अमेरिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ जस्तै शक्तिशाली केन्द्र निर्माण बनाउने प्रस्ताव गरेका थिए।
यसअनुसार स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभाग खारेज हुनेछ। यसका साथै विभाग मातहतका राष्ट्रिय क्षयरोग कन्द्र, राष्ट्रिय एचआइभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, कुष्ठरोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, आपूर्ति व्यवस्थापनको कार्य र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रलाई एकीकृत गरी राष्ट्रिय रोग नियन्त्रण केन्द्र बनाउने प्रस्ताव गरिएको थियो।
यसका साथै विभागअन्तर्गतका बाल स्वास्थ्य, परिवार स्वास्थ्य महाशाखाका नीतिगत काम मन्त्रालयबाट नै गर्ने र स्वास्थ्य सेवा तालिम केन्द्रलाई तालिम संस्थाहरुको पुनरसंचना गर्दा गाभ्ने प्रस्ताव गरिएको थियो।
हाल यी केन्द्र तथा महाशाखामा छुट्टाछुट्टै निर्देशक रहने व्यवस्था छ। सबैलाई एकिकृत गरेर राष्ट्रिय केन्द्र बनाउँदा एक मात्र निर्देशक हुने प्रस्ताव गरिएको छ। नयाँ संरचना कायम हुँदा स्वास्थ्यमा एकैपटक १० जना हाकिम हुने अवस्था आउने नदेखिएपछि कर्मचारीहरुले आफू हाकिम हुन संघीयताको मर्मविपरित ठूला संरचना बनाउन लागिपरेका हुन्।
स्वास्थ्य ऐनअनुसार विभागमा महानिर्देशक र महाशाखामा निर्देशकको नेतृत्व रहन्छ। जनस्वास्थ्य विज्ञ एवं पुनर्संरचना विज्ञले पनि स्वास्थ्यका अधिकारीहरूको पछिल्लो लबिइङ अस्वाभाविक र संविधानको मर्मविपरित रहेको बताएका छन्। १ जना प्रमुखमात्र बनाए पुग्ने संरचनालाई लत्याएर विशुद्ध आफ्नो पद जोगाउन ११ जना प्रमुख हुने ठूलो संरचना बनाउन गलत भएको उनीहरुको भनाई छ।
प्रधानमन्त्री कार्यालयमा छलफलकै क्रममा रहेको पछिल्लो प्रस्तावअनुसार स्वास्थ्यका कर्मचारीकै चाहनाअनुसार अन्तर्राष्ट्रिय अभ्यास अनुरुपको राष्ट्रिय रोग नियन्त्रण केन्द्र निर्माण गर्ने फाइल बन्द गरेर पुरानै संरचना अनुसारको फाइल अगाडि बढाइएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरणअनुसार अब स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग र त्यस मातहतका महाशाखा तथा केन्द्र पनि रहने सम्भावना बढेको छ।