जीवनशैली

डा सापकोटाको विश्वकप सम्झना : होस्टलको पर्खाल नाघेर गेम हेर्न जान्थ्यौं

'खेल छोडेर पनि अस्पताल दौडिनुपरेको छ'


सन् २०१४ को विश्वकप ब्राजिलमा चलिरहेको थियो। डा विप्लव सापकोटा आवासीय चिकित्सकका रुपमा वीर अस्पतालमा हाडजोर्नी विषयमा अध्ययन गरिरहेका थिए। 

अस्पतालको काम सकेर उनी फुटबल हेर्न पुगेका थिए। फुटबलले उनमा रोमाञ्चकता थपिइरहेको थियो। यत्ति नै बेला 'इमर्जेन्सीमा बिरामी आएको छ' भनेर उनलाई खबर आयो।

डाक्टरको धर्मले उनलाई फुटबल हेरिरहन भनेन। लगत्तै तयार भएर अस्पताल दौडिए। 'त्यो समय धेरै पटक मलाई त्यस्तै पर्यो,' डा सापकोटाले सम्झिए, 'आनन्दले म्याच हेरिरहेको हुन्थेँ तर बीचमै छाडेर अस्पताल जानुपर्थ्यो। उता खेल चलिरहेको हुन्थ्यो। हामी शल्यक्रिया र अरु उपचारमा व्यस्त हुन्थ्यौँ।’ डाक्टरको पेसा नै सेवामुखी भएकाले बिरामीको उपचार नै पहिलो प्राथमिकता भएको उनी बताउँछन्।

एमबिबिएस अध्यनका समयमा भने उनी होस्टलमा बस्थे। त्यसबेला उनले सन् २००२ र २००६ को विश्वकप होस्टलमा रहँदा नै हेरेका हुन्। होस्टलको नियम निकै कडा थियो। फुटबल हेर्न जान्छन् भनेर प्रिन्सिपलले गेटमा ताल्चा लगाउने व्यवस्था गरेका थिए। तर, विश्वकप फिभर चढिसकेकाले ताल्चाले पनि उनलाई रोक्न सकेन। उनी साथीहरुसँगै मिलेर पर्खाल नाघेर बाहिरिन्थे। 'पर्खाल नजिकै रुख थियो। हामी त्यसमा चढ्थ्यौं र पर्खाल नाघेर बाहिर निस्कन्थ्यौं,' उनले सुनाए, 'फुटबल हेरिसकेपछि पुन: पर्खाल र रुखबाट होस्टलमा फर्कन्थ्यौं।' एकदिन प्रिन्सिपलले उनीहरुको बदमासी थाहा पाएछन्। त्यसछि प्रिन्सिपलले गरेको गाली अहिले पनि उनी सम्झिइरहन्छन्।

मोजाको फुटबल
पर्वतमा जन्मिए पनि डा सापकोटा सानैदेखि भैरहवास्थित मामा घर बस्न थाले। त्यहीँ साथीभाइसँग मिलेर मोजाको बल बनाएर खेलेको अझै सम्झन्छन् उनी। यो क्रम ५/६ कक्षा पढ्दासम्म चलिइरह्यो। मोजाको बलले मात्रै उनीहरुको इच्छा पूरा भएन, आपसमा पैसा उठाएर फुटबल किने। यसपछि त सबैमा उत्साह थपियो। साथीसाथीबीच टिम बनाएरै टोलमा फुटबल खेल्न थाले।

भैरहवाबाट उनी पढाइका लागि बाग्लुङ चढे। त्यहाँको कालिगण्डकी बोर्डिङमा पढ्दा ७ कक्षामा उनी हाउस क्याप्टेन नै थिए। 'त्यतिबेला स्कुलमा हुने फुटबल प्रतियोगिता म छुटाउँदैन थिएँ,' उनी भन्छन्, 'तर त्यसपछि भने पढाइको प्रेसरले नियमितता दिन सकिनँ।'

७ कक्षापछि टुटेको उनको फुटबलसँगको प्रेम एमबिबिएस अध्ययनका लागि वीरगन्ज झरेपछि पुन: जोडियो। त्यहाँको नेसनल मेडिकल कलेजमा अध्ययन सँगसँगै उनले स्थानीय कलबसँग आबद्ध भएर फुटबल म्याच खेलिइरहे। 'एकातिर पढाइलाई पनि निरन्तरता दिनुपर्ने, अर्कातिर फुटबलको मोह,' उनी भन्छन्, 'हामीमा धेरै प्रक्टिस नभएर होला प्राय: गेम हारिन्थ्यो।' 

एमबिबिएसपछि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा विशेषज्ञ तहको पढाइ सुरु गरे। त्यति बेला त फुटबल खेल्ने मौकै मिलेन। बिरामीको उपचारमा नै बढी व्यस्त हुनुपर्ने भएकाले त्यो अवसर जुटेन। 

मेसीको फ्यान
डा सापकोटा अर्जेन्टाइन फुटबलको फ्यान रहेछन्। सानो उमेरमा म्याराडोनाको खेल हेरेकाले उनको खेल कौशलबाट निकै प्रभावित भएको उनले सुनाए। म्याराडोनाले विश्वकप खेल्दा घरमा टिभी थिएन। तर, उनी टिभी भएको नजिकैको घरमा पुगेर म्यारोडोनाको खेल हेर्थे। 

अहिले भने उनलाई मेसीको खेल औधी मन पर्छ। त्यही भएर अर्जेन्टिनाको खेल छ भने रातिसम्म बसेर पनि हेर्न छुटाउँदैनन् उनी। ‘४ वर्षमा आउने भएकाले होला विश्वकप छुटाउन मन लाग्दैन। तर ड्युटीका कारण कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि छुटाउनुपर्दा नरमाइलो लाग्छ,’ उनले बाध्यता सुनाए।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने