बझाङ— निरन्तरको जनचेतनामूलक कार्यक्रमपछि बझाङको सुर्मा गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढिरहेको छ।
उक्त गाउँपालिको दौलिचौर स्वास्थ्य चौकीले गत दुई वषदेखि प्रत्येक तीन महिनामा गर्भवती भेला, गर्भवती परिक्षण, सरसफाइ, जन्मान्तर, परिवार नियोजनसम्बन्धी स्वास्थ्यकर्मीमार्फत जानकारी दिदैँ आएको छ।
स्वास्थ्य चौकीका अहेव नरेन्द्र बहादुर थापाले दुईवर्षको सन्देशमूलक कार्यक्रम प्रभावकारी हुदैँ गएको र गर्भवती जाँच तथा संस्थागत सुत्कोरी संख्या बढीरहेको बताए।
उनका अनुसार सुरक्षित मातृत्व कार्यक्रम अन्र्तगत आव ०७३÷७४ मा ४ सय ९५ संस्थागत सुत्करी संख्या थियो। ०७४÷ ७५ संस्थागत सुत्केरी संख्या ६ सय २५ रहेको थियो।
गर्भवती जाँच तथा संस्थागत सुत्केरी बढाउदैँ कार्यक्रम प्रभावकारी बनाउन नियमित आमा समूह बैठक, हेलो गर्भवती दिदी कार्यक्रम, गर्भवति भेला निरन्तर भइरहेको उनले बताए।
घरमा सुत्केरी हुदाँ आमा तथा नवजात शिशुको स्वास्थ्य जोखिम नहोस् भनेर गर्भवतीलाई संस्थागत सुत्केरी हुन प्रेरित गर्न स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको सक्रियतालाई बढाइएको छ।
कुनैपनि आमा घरमा सुत्केरी हुने संख्या शू्न्य भएपछि सुर्मा गाउँपालिका वडा नम्बर ३ लाई २०७४ र वार्ड नम्बर ९ र १५ मा घरमा सुत्केरी नहुने वडा घोषणा गरिसकिएको छ।
स्वास्थ्य चौकीले गर्भवती भेलामा प्रत्येक पटक १ पोका आयोडिनयुक्त नून, साबुन, नेलकटर, ब्रस टुथपेस्टलगायतका सामाग्री पनि वितरण गर्दै आएको छ।
सुरक्षित मातृत्व कार्यक्रमलाई अगाडि बढाउन गाउँपालिकामा बर्थिङ सेन्टरका लागि भवन निर्माण भइरहेको छ।