नेपालका विद्यार्थीहरूलाई कन्सलटेन्सीहरूले झुक्याएर बंगलादेशका गुणस्तरहीन कलेजमा लगिरहेका छन्। विद्यार्थीको जीवनमाथि खेलबाड गर्ने यस्ता संस्थालाई म कन्सलटेन्सी भन्न रुचाउँदिनँ। यी संस्थाहरू कन्सलटेन्सी नभएर दलाल हुन्। दलालहरूले आफ्नो फाइदाका लागि विद्यार्थीको जीवन मात्र बर्बाद बनाइरहेका छन्। सरकारले यस्ता दलाललाई कारबाही नगरेका कारण विकृति मौलाएको हो।
दलालको प्रलोभनमा परेर अध्ययनका लागि बंगलादेश पुगेका सयौं नेपाली विद्यार्थी विगतमा अलपत्र परेका थिए। दलालहरूले हुँदै नभएका झुटा विवरण देखाएर विद्यार्थीलाई बंगलादेश पु¥याइरहेका छन्, जसका कारण गुणस्तरहीन कलेजमा पुगेका अधिकांस फेल भइरहेका छन्। त्यसकारण मेडिकल शिक्षा अध्ययनका लागि दलालको पछि लागेर बांगलादेश जानु बेकार हो। विद्यार्थी र अभिभावकहरू दलालबाट टाढै रहनुपर्छ।
बंगलादेशका विवादित र कालोसूचीमा परेका कलेजहरूले नेपाली दलाललाई मोटो सकम कमिसन दिने गरेका छन्। यसकारण पढिरहेका विद्यार्थीको भविष्य नै बर्बाद भएको छ। दलालले झुक्याएकै कारण अहिले बंगलादेशका धेरै मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरूले नेपाली दूतावासमा न्यायको लडाइँ लड्न निवेदन दिने क्रम बढ्न थालेको जानकारी हामीकहाँ आएको छ। बंगलादेशका गुणस्तरहीन कलेजले दलाललाई प्रतिविद्यार्थी तीनदेखि पाँच लाखसम्म कमिसन दिँदै आएको गुनासो पनि हामीकहाँ आइरहेको छ। जति बढी कलेज विवादित र खत्तम छन् त्यति नै बढी कमिसन दिने चलन रहेछ।
दलाल र कमसल कलेजहरूले मिलेमतोमा कोटाभन्दा बढी विद्यार्थी भर्ना गराउने, भर्ना रोक्का भएका कलेज र बंगलादेशको मेडिकल काउन्सिलले दर्ता नम्बर नै नदिए पनि विद्यार्थीलाई विभिन्न बहानामा अध्ययापन गराउने, विद्यार्थीले गुनासो गरेमा धम्की दिने, शुरुमा शुल्क एकथरी देखाउने र विद्यार्थीबाट विभिन्न शीर्षकमा बढी रकम असुल्ने लगायतका समस्या विद्यार्थीले भोग्दै आइरहेका छन्। बंगलादेशको नेपाली दूतावासको माध्यमबाट काउन्सिलमा आएको जानकारी अनुसार म यो कुरा भनिरहेको छु।
कोटाभन्दा बाहिर पढेका विद्यार्थीले मान्यता नै पाएका छैनन्। नेपाली विद्यार्थीलाई दलालले फसाइरहेको जानकारी हामीले यहाँको शिक्षा मन्त्रालयलाई पनि गराएका छौं। अब शिक्षा मन्त्रालयले यो विषयमा आवश्यक कारबाही अगाडि बढाउनुपर्छ।
- (कुराकानीमा आधारित)