२० लाख पर्यटक भित्र्याउने उद्देश्य बोकेको भिजिट नेपाल २०२० नेपालीको घर-आँगनमा आइपुग्नै लागेको छ। सामाजिक सञ्जालहरु भिजिट नेपाल २०२० का तस्बिरहरुले भरिभराउ छन्। भ्रमण वर्षको महाअभियानले हरेक नेपालीको मनमा ऊर्जा र उत्साह पैदा गरेको छ।
जनस्वास्थ्य क्षेत्रमा क्रियाशील, त्यसमाथि पर्यटनको प्रमुख गन्तव्य पोखराबासी भएको नाताले मलाई भिजिट नेपाल २०२० प्रति विशेष चासो छ। यो महाअभियानमा मेरो योगदान के हुनसक्छ, यस अभियानबाट स्वास्थ्य क्षेत्रले के फाइदा लिन सक्छ र हामी स्वास्थ्यकर्मीहरुले के-कस्तो भूमिका निर्वाह गर्न सक्छौं भन्ने बारेमा मनमा खेलेका केही कुरा लेख्ने प्रयास गरेको छु।
वर्तमान पर्यटनमन्त्री योगेश भट्टराईले केही समय अगाडि भिजिट नेपाल २०२० को लोगोलाई आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालका प्रोफाइलहरुमा राखेर भिजिट नेपाल २०२० को प्रवर्धन गर्न सार्वजनिक अपिल गर्नुभयो। त्यसको नतिजा स्वरुप नेपाल सरकारका सबैजसो मन्त्रालय र व्यक्तिगत प्रोफाइलहरुमा भिजिट नेपाल २०२० को लोगो राखिएको छ। तर नेपाल सरकारको स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो र जिम्मेवार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बन्धित कार्यालयका वेबसाइटहरुमा (एकादुई बाहेक) सो लोगो नदेख्दा अचम्म मात्र लागेको छैन, एक सचेत जनस्वास्थ्यकर्मीको नाताले चिन्ता समेत लागेको छ।
यतिमात्र होइन, यस्ता किसिमका रचनात्मक गतिविधि गर्न र परिस्थिति अनुसारका क्रियाकलाप समयमै गर्न अरु निकायभन्दा स्वास्थ्य मन्त्रालय सधैं दुई कदम पछाडि छ। विदेशी अनुसन्धानकर्ता तथा लगानीकर्ताहरुले चासो राख्ने र हेरिने वेबसाइटहरुमध्ये स्वास्थ्य मन्त्रालयको वेबसाइट पनि प्रमुख हो। स्वास्थ्य मन्त्रालयले यो सानो कुरा भनेर ख्याल नगरेको पनि हुन सक्छ किनकी स्वास्थ्य मन्त्रालयले आफैं केही रचनात्मक काम गर्नुभन्दा पनि दाता र सहयोगी निकायका कार्यक्रम तथा प्रस्तावहरुलाई कसरी संस्थागत गर्दा र दाताहरुले ल्याएका कार्यक्रमहरुलाई सहजीकरण गर्दागर्दै फुर्सद छैन। यद्यपि कुनै दाताले भिजिट नेपाल २०२० मा नेपालको स्वास्थ्य क्षेत्रलाई पनि प्रवर्धन गर्न भन्दै हेल्थ टुरिजमको योजना लिएर गएको भए यो काममा पक्कै पनि मन्त्रालयले सहयोग गर्थ्यो। तर मन्त्रालय स्वयं आफैं अग्रसर भएर यो काम गर्छ जस्तो मलाई लाग्दैन। मन्त्रालयसँग मेरो अपेक्षा छ, यही भिजिट नेपाल वर्षकै अवसरमा स्वास्थ्य मन्त्रालयले हेल्थ टुरिजमको अवधारणालाई अगाडि बढाउने छ, आवश्यक नीति तथा सम्भाव्यता अध्ययनहरुको थालनी हुने छ।
मुलुकमा समृद्धि हासिल गर्न प्रर्यटन विकासले ठूलो योगदान पुर्याउँछ भन्ने कुरा विश्वव्यापी रुपमै प्रमाणित भइसकेको छ। देशको विकास हुन धेरै कुराहरुले महत्व राक्छ, तीमध्ये जनताको स्वास्थ्य पनि एक हो। जनताको राम्रो स्वास्थ्य अवस्था र स्वास्थ्य सेवा प्रणालीको विकास नभएसम्म सामाजिक र आर्थिक रुपमा उत्पादनशील जनशक्ति उत्पादन गर्न सम्भव छैन। स्वास्थ्य विना विकास र समृद्धि सम्भव छैन। त्यसैले स्वास्थ्यसँग सम्बन्धित निकायहरुले अरु क्षेत्रसँग समन्वयन गर्न आफैं अग्रसर हुन जरुरी छ।
हेल्थ इन अल पोलिसीको अवधारणालाई संस्थागत गर्न देशको पर्यटन क्षेत्रसँग पनि स्वास्थ्य मन्त्रालयले रणनीतिक सहकार्य गर्न जरुरी छ।
भिजिट नेपाल २०२० महाअभियानमा स्वास्थ्य क्षेत्रले धेरै पर्यटन भित्र्याउन तथा आएका पर्यटकहरुबाट स्वास्थ्य क्षेत्रको विकास गर्न सहयोग लिन सक्ने छ। भिजिट नेपाल २०२० सफल पार्न स्वास्थ्य क्षेत्र वा सम्बन्धित निकायहरुबाट निम्न कुराहरु गर्न सकिन्छ।
- यो महाअभियानलाई सफल पार्न स्वास्थ्य क्षेत्र तथा विज्ञबाट गर्न सकिने प्राविधिक सहयोगको योजना, तथा समन्वय गर्नको लागि स्वास्थ्य मन्त्रालयबाट समिति वा प्राविधिक टोली गठन गर्ने र आवश्यक समन्वय गर्ने।
- नेपाल सरकारले प्राथमिकता दिएका पर्यटकीय गन्तव्यहरु तथा पर्यटनको चाप धेरै हुने ठाउँहरुमा स्वास्थ्य व्यवस्था, प्राथमिक उपचार, आधारभूत र आकस्मिक स्वास्थ्य तथा अरु गर्न सकिने क्रियाकलापहरुको एकिन गरेर सम्बन्धित प्रदेश तथा पालिकाहरुलाई तयारी गर्न प्राविधिक मार्गदर्शन दिने तथा स्थानीय पालिका तथा प्रदेशहरुले समेत आफ्नो योजना बनाउने। युनिभर्सल हेल्थ कभरेजको अवधारणा र मान्यताको हस्ताक्षरकर्ता मुलुकको नाताले जुनसुकै देशका भए पनि नागरिकहरुलाई आवश्यकता अनुसार स्वास्थ्य सेवाको व्यवस्था गर्नु हाम्रो नैतिक दायित्व हो। यद्यपि आफ्नै नागरिकलाई सेवा पुर्याउन कठिन भएको अवस्थामा विदेशीलाई सेवा कसरी दिन सकिन्छ भन्ने प्रतिप्रश्न भने आउन पनि सक्छ।
- प्रमुख पर्यटकीय स्थल तथा पदमार्गहरुमा प्राथमिक उपचार कक्षहरु स्थापना गर्ने र प्राथमिक उपचारका लागि भोलेन्टियर खटाउने।
- ट्रेकिङ एजेन्सी तथा पर्यटन पेसामा आवद्द व्यक्तिहरुलाई प्राथमिक उपचार तालिम तथा सर्न सक्ने रोग तथा संक्रमण बारेमा अभिमुखीकरण गर्ने।
- सकिन्छ भने हाम्रो स्वास्थ्य बिमा कार्यक्रमबाट पर्यटकलाई स्वास्थ्य बिमा प्याकेज बनाएर भ्रमण अवधिभर उनीहरुको बिमा गरिदिने, त्यसले हामीलाई र पर्यटक दुवैलाई फाइदा हुन्छ।
- आकस्मिक स्वास्थ्य सेवाको नाममा पर्यटकहरु ठगिएका घटनाहरु दोहोरिन नदिनका लागि सम्बन्धित मन्त्रालय, प्रदेश तथा पालिकाहरुले ठोस योजना अनुगमन तथा व्यवस्था गर्ने।
- अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त स्वास्थ्य अनुसन्धानकर्ताहरुलाई यही भ्रमण वर्षकै अवसरमा नेपाल बोलाउन विभिन्न किसिममा स्वास्थ्यसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरका सम्मेलन, गोष्ठी, सेमिनार आयोजना गर्ने। संघीयताको नयाँ मोडेल भर्खरै मात्र सुरु गरिएको हुँदा अन्य मुलुकको अनुभव तथा सिकाइलाई बुझ्नका लागि विभिन्न मुलुकका जनस्वास्थ्य विज्ञहरु, स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुलाई बोलाएर कार्यक्रमहरु गर्नसके पक्कै पनि फाइदा हुने छ।
- अरु देशका स्वास्थ्यसम्बन्धी पेसागत संस्था तथा सामाजिक संस्थाका व्यक्तित्वहरुलाई निमन्त्रणा गर्न।
- नेपाल आएका पर्यटकहरु आउने र जाने क्रममा एयरपोर्टमा स्वेछिक रुपमा भर्न सकिने अनलाइन सर्भे फारमहरुको व्यवस्था गरी स्वेछिक तथ्यांक संकलन गर्ने, उनीहरुको सामाजिक सेवा गर्ने मनोभावना अनुरुप स्वास्थ्यमा रुचि भएकाहरु, योगदान दिने भावना भएमा पर्यटकलाई सम्पर्कमा लिने व्यवस्था गर्ने र उनीहरुको स्वास्थ्य सेवामा उनीहरुलाई स्वास्थ्य सेवा जस्तै स्वास्थ्य शिविर तथा अन्य क्रियाकलाप गर्न सहजीकरण गर्ने।
- मेडिकल टुरिजममा ठूलो फड्को मारेका मुलुकहरु जस्तै: सिंगापुर, मलेसिया तथा थाइल्यान्डका स्वास्थ्य व्यवस्थापक तथा अनुसन्धानकर्ताहरुसँग सहकार्य गरी नेपालमा मेडिकल टुरिजमको अध्ययन गर्ने।
- विदेशमा हुने विभिन्न सम्मेलन, सभा, तालिम तथा अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रममा पनि आजभोलि नेपाली जनस्वास्थ्यकर्मीहरुको सहभागिता राम्रो देखिन्छ, त्यसैले यस्ता किसिमका कार्यक्रमहरुमा गरिने आफ्नो प्रस्तुति तथा पोस्टरहरुमा भिजिट नेपालको लोगो प्रयोग गर्ने वा आफ्नो प्रस्तुतिको अन्त्यमा नेपालको सानो जानकारी राखिदिने हो भने पनि त्यसले ठूलो प्रभाव पार्न सक्छ।
यस अभियानलाई अवसरका रुपमा लिएर स्वास्थ्य क्षेत्रको अवस्था सुधार गर्न, नेपाल भ्रमण वर्षकै अवसर पारेर अन्तर्राष्टिय अनुसन्धानकर्ताहरु जनस्वास्थ्यकर्मीहरु भित्र्याउने, नेपालका पर्यटकीय सहर पोखरालाई मेडिकल टुरिजम सिटीको रुपमा विकास गर्न गुरुयोजना निर्माण जस्ता योजनाहरु बनाउन र कार्यान्वयन गर्न भिजिट नेपाल २०२० ले ठूलो भूमिका खेल्न सक्छ।
भिजिट नेपाल २०२० लाई अवसरका रुपमा प्रयोग गर्न हामी सबै लागि परौं।
यो पनि :