काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले दोस्रो चरणमा खरिद गरेर ल्याइने कोभिड विरुद्धको खोप तीन साताभित्र नेपाल आइपुग्ने दावी गरेका छन्।
मन्त्री त्रिपाठीले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा अबको तीन हप्तामा नै खरिदको खोप आइपुग्ने दावी गरेका हुन्। उनले टार्गेट गरिएका सबै समूहलाई खोप लगाइने र लगाउन नसकेमा सबै जिम्मेवारी आफूले लिने बताएका छन्।
उनले दोस्रो चरणमा आउने खोप पनि अक्सफोर्ड एस्ट्राजेनिका र भारतको सिरम इन्स्टिच्युट कम्पनीले निर्माण गरेको खोप कोभिसिल्ड नै आउने संकेत दिएका छन्। खरिद प्रक्रिया सुरु भइसकेको र करिब २० लाख डोजभन्दा बढी खोप खरिद गर्ने उनले जानकारी दिए।
मन्त्री त्रिपाठीले भारतमै उपलब्ध भइरहेको मूल्यमा नै खोप खरिदको लागि पहल भइरहेको जनाकारी दिएका छन्। 'दोस्रो चरणका लागि ४७ लाख डोज खोप आवश्यक छ। यसमा पहिलो चरणको १० डोज खोप पनि जोडिएको छ,' उनले भने।
‘हाम्रो जोखिममा रहेको जनसंख्यामध्ये ६० वर्षभन्दा माथि उमेरको जनसंख्या बढी जोखिममा देखिएकोले ४७ लाख डोजभन्दा बढी खोप आवश्यक रहेको मन्त्रालयको तयारीले देखाएको छ। अर्को मार्चको अन्तिममा कोभ्याक्सले पनि पहिलो चरण २० लाख डोज खोप उपलब्ध गराउने कुरा पनि छ,’ स्वास्थ्य मन्त्री त्रिपाठीले भने।
निजी कम्पनीले ल्याएर सरकारले खरिद गर्ने परिपाटीलाई भने आफूले निरन्तरता नदिने उनले स्पष्ट पारेका छन्। ‘अहिलेसम्म कुनै पनि कम्पनी आवश्यक डकुमेन्ट सहित विभागका दर्ता गर्न आउनुभएको छैन। सिरम कम्पनीले सबै डकुमेन्ट सहित पठाएकाले दर्ता गरिएको हो,’ उनले भने।
उनले क्लिनिकल ट्रायलका लागि नेपालमा खोप प्रयोग गर्न नदिने भन्दै कम्तीमा तेस्रो चरण पार गरेका खोप र कम्तीमा दुई देशमा प्रयोग भएको खोप मात्र नेपाल प्रयोग गर्ने निर्णय गरेको पनि बताए। उनले स्वास्थ्यकर्मी सहितका फ्रन्टलाइनर, जोखिमको उमेर समूहलाई लगाइसकेर मात्र युवा समूहमा जान सकिने बताएका छन्।
उनले खोप खरिदका लागि सरकारले ४८ अर्ब रुपैयाँ सुनिश्चित गरेको दावी गर्दै खोपका लागि अन्य देशसँग अनुदानका लागि आग्रह नगरेको बताएका छन्।
वेस्टेड १ प्रतिशतभन्दा कम
स्वास्थ्य मन्त्री त्रिपाठीले नेपालमा पहिलो चरणमा भइरहेको कोभिड खोपको वेस्टेड १ प्रतिशतभन्दा कम भएको बताएका छन्।
उनले भने, ‘विश्व स्वास्थ्य संगठन लगायतको के मान्यता रहेछ भने माटामोटी १० प्रतिशत वेस्टेड हुन्छ। तर हामीकहाँ स्वास्थ्यकर्मीले निकै बुद्धि पुर्याकएर खोप लगाइरहेका छन्। ० दशमलब २ प्रतिशत बेस्टेड छ अहिलेसम्म। उनीहरुले खोप लगाउने जम्मा गरेर नै भायल खोल्ने कारण पनि कम वेस्टेड भएको छ।'
खोप अभियानले आफू निकै उत्साहित भएको पनि मन्त्री त्रिपाठीले बताए। 'अरु देशको भन्दा बृहत्तर ढंगले खोप अभियान सञ्चालन गरेका छौं। खोपको साइड इफेक्ट पनि निकै कम छ। सामान्य ज्वरो, वाकवाकी लाग्ने र रिंगटा लाग्ने देखिएको छ। तर केही समयका लागि यस्ता लक्षण देखिए पनि ठिक भइसकेको छ,' उनले भने।