कैलाली- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गरेका छन्।
गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अुनगमनका क्रममा उनले भने, 'विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि बढाउनुस् । पहिले जे हुन्छ, त्यो गर्दैँ जाउँ। पहिला अस्पताल, त्यसपछि एमबीबीस सञ्चालन गर्न मिल्छ।'
उनले विश्वविद्यालय सञ्चालनका आफ्नै प्रकृया रहेको बताए । उनले भने, 'विश्वविद्यालय बन्न सक्दा राम्रो हुन्छ । लागत बढी छ । राज्यले त्यो लागत उपलब्ध गराएर विश्वविद्यालय सञ्चालन गर्नुपर्छ ।'
उनले अस्पताल, मेडिकल सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न गाह्रो हुने बताए । नियमावली परिवर्तन गर्नुपर्ने भएपनि तत्काल १० जना छात्रवृत्तिका चिकित्सक र २० जनासम्म नर्सिङ कर्मचारी पठाउने उनले जानकारी दिए । 'यसलाई तीन सय शय्याको अस्पताल सञ्चालन गरौँ । यसले विश्वविद्यालयको काम रोकिने होइन्,' उनले भने ।
चिकित्सा शिक्षाको अध्यापनका लागि ३०० शैय्याको अस्पताल सञ्चालन भएको कम्तीमा तीन वर्ष पुगेको हुनुपर्छ । तर, मन्त्री पौडेलले भने विशेष निर्णय गराएर भए पनि गेटामा एमबीबीएस पढाइ सुरु गर्न सकिने आश्वासन दिए ।
‘सुदूरपश्चिम बाहेकका ६ प्रदेशमा एमबिबिएसको पढाइ सुरु भइसकेको छ । यहाँ चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति भन्दै ३०० शैय्याको अस्पताल बन्ने बित्तिकै एमबिबिएसको पढाइ गर्न सकिने विशेष निर्णय गर्न सक्छ,’ उनले भने, ‘मेरो प्रयास त्यसतर्फ रहेको छ ।’
मन्त्री पौडेलले गेटा अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिए । गेटामा करिब सात अर्बका भौतिक संरचना निर्माण भएका छन् । हाल यहाँ ५० शय्याको अस्पताल सञ्चालनमा छ ।