चीनमा ह्युमन मेटान्युमोभाइरसको प्रकोपले नेपालमा पनि चर्चा ल्याएको छ। तर, यो भाइरस नयाँ होइन, न विश्वका लागि न त नेपालकै लागि।
एचएमपिभी एक श्वासप्रश्वाससम्बन्धी भाइरस हो, जसले विशेषतः बालबालिकालाई प्रभावित गर्छ। सन् २००१ मा नेदरल्यान्डमा पहिलो पटक मानिसमा यसको संक्रमण पुष्टि भएको थियो। एभियन मेटान्युमोभाइरस भने सन् १९७८ मै टर्कीमा पत्ता लागेको थियो।
विभिन्न अध्ययनले ५-१० वर्ष उमेरका करिब ९० प्रतिशत बालबालिका एचएमपिभीबाट संक्रमित हुने गरेको देखाएका छन्। नेपालमा २०११ देखि २०१४ सम्म गरिएको अध्ययनमा ३,५२८ नवजात शिशुहरूमा परीक्षण गर्दा ५.३ प्रतिशत शिशुहरूमा एचएमपिभी संक्रमण देखिएको थियो।
२०२३ मा कान्ति बाल अस्पतालमा गरिएको अर्को अध्ययनले भाइरल संक्रमित भएर श्वासप्रश्वास समस्या लिएर अस्पताल पुगेका बालबालिकामा एचएमपिभीको संक्रमण मुख्य कारण थियो। रुघा खोकी लागेर अस्पताल पुगेका करिब १३.३ प्रतिशत बालबालिकामा एचएमपिभीकै संक्रमण थियो। यस अध्ययनले तीन वर्षभन्दा कम उमेरका बालबालिकामा संक्रमण दर उच्च (२१.८ प्रतिशत) रहेको देखायो। संक्रमित भएका प्राय बालबालिकामा खोकी लाग्ने र ज्वरो आउने समस्या मुख्यरूपमा देखिएको थियो ।
यसबाहेक सिँगान बग्ने, घाँटी दुख्ने, र सास फेर्न गाह्रो हुने समस्या पनि देखिने गर्छ। नेपालमा गरिएको अध्ययनमा एचएमपिभी सङ्क्रमित मध्ये करिब ४३ प्रतिशत बालबालिकामा निमोनिया पनि देखिएको थियो। यो भाइरस विशेषतः ढिलो जाडोयाम र प्रारम्भिक वसन्त ऋतूमा बढी सक्रिय देखिन्छ।
एचएमपिभीको लक्षण सामान्यतया हल्का वा मध्यम हुन्छन् र प्रायः संक्रमितहरूलाई अस्पताल भर्ना गर्न आवश्यक नपर्ने देखिन्छ। श्वासप्रश्वासका अन्य भाइरल संक्रमण जस्तै यसमा पनि खोकी, घाँटी दुख्ने, ज्वरो (१० दिनसम्म रहन सक्छ), र सास फेर्न गाह्रो हुने लक्षण देखा पर्छन्।
समयभन्दा अगाडि जन्मिएका शिशुहरू, फोक्सो, मुटु वा स्नायुसम्बन्धी रोग भएका व्यक्ति, र कमजोर प्रतिरक्षा प्रणाली भएका बिरामीहरु एचएमपिभीका संक्रमणका उच्च जोखिममा रहन्छन्।
अन्य देशका अध्ययनमा समेत भाइरस संक्रमणका कारण श्वासप्रश्वासका समस्या भएर अस्पताल भर्ना हुने करिब १० प्रतिशत बिरामीमा एचएमपिभीको संक्रमण देखिने गरेको छ। वयस्कका गम्भीर श्वासप्रश्वास भाइरल संक्रमणका ५ प्रतिशत केस पनि यसका कारण हुने गरेका छन्।
एचएमपिभीको लागि हालसम्म कुनै निश्चित खोप वा औषधि उपलब्ध छैन। त्यसैले व्यक्तिगत सरसफाइ र सावधानी नै मुख्य उपाय हो। यसमा नियमित रूपमा कम्तीमा २० सेकेन्डसम्म साबुन र पानीले हात धुने, बिरामी व्यक्तिसँग नजिकको सम्पर्कबाट बच्ने, खोक्दा वा हाछ्युँ गर्दा मुख र नाक छोप्ने, खाने भाडा जस्तै कचौरा हरु सेयर नगर्ने, मास्क लगाउने र बिरामी हुँदा घरमै आराम गर्नुपर्ने हुन्छ।
नेपालका विगतका अध्ययनहरूले एचएमपिभी नयाँ नभएको प्रमाणित गर्छन्। यस भाइरसले बालबालिकामा विशेष प्रभाव पार्ने भएकाले अभिभावकहरू सतर्क रहनु आवश्यक छ।
सही जानकारी, समयमै चिकित्सकसँगको परामर्श र सावधानीका उपायहरूले एचएमपिभीको जोखिमलाई कम गर्न सकिन्छ। त्रास फैलाउनुभन्दा सतर्कता अपनाएर स्वास्थ्य सुरक्षाको जिम्मेवारी लिनु अहिलेको मुख्य आवश्यकता हो।