काठमाडौं- सरकारले अक्सिजन सिलिण्डर लगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदले जीवनदायक अक्सिजन सिलिण्डर लगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।
अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरेको हो।
दोस्रो लहरको कोरोना संक्रमणको चपेटमा रहेको भारतमा अक्सिजन सपोर्ट नपाउँदा संक्रमितको ज्यान गइरहेको अवस्थामा नेपालमा समेत मेडिकल अक्सिजनको उपलब्धताको विषयलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको छ।
भारतमा जस्तै नेपालमा समेत अक्सिजनको अभाव हुने पो हो कि? भन्ने आम मानिसको चासो र चिन्ता छ। कोरोना भाइरसको संक्रमण देखिएका बिरामीलाई श्वास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राख्ने गरिन्छ। तर, अक्सिजनको उपलब्धको विषयबारे ठोस जानकारी नआउँदा आम नागरिकमा चिन्ता बढेको देखिन्छ।
कोरोना संक्रमितको जीवनरक्षाका लागि अक्सिजनक आवश्यक पर्नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गरिदिन पनि आग्रह गरेको छ।
नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार देशभरमा साना–ठूला गरी निजी क्षेत्रबाट सञ्चालित २० वटा अक्सिजन उद्योगहरु छन्। तीमध्ये पनि काठमाडौं उपत्यकामा ८ वटा अक्सिजन उद्योग छन्।
यसका साथै केही ठूला अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट समेत छन्। ती प्लान्टबाट उत्पादित अक्सिजन ती अस्पतालहरुमा पर्याप्त मात्रामा पुग्ने गर्छ। तर केही अस्पतालमा भने प्लान्ट बिग्रिएका कारण उद्योगका अक्सिजन र सिलिन्डरमा भर पर्नु पर्ने अवस्था छ।
काठमाडौं उपत्यकामा रहेका ८ वटा उद्योगमध्ये ७ वटाले उत्पादित अक्सिजन बजारलाई उपलब्ध गराउने गरेको अक्सिजन उत्पादक संघका अध्यक्ष शारडाले बताए। एउटा सिसा उद्योगले आफ्नो लागि मात्र अक्सिजन उत्पादन गर्ने गरेको छ। अन्य उद्योगहरुले भने बजारकै लागि उत्पादन गर्ने गरेको उनले बताए।
उपत्यकामा रहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नहुँदै दैनिक ८ हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने उनले बताए। काठमाडौं बाहिर बिराटनगर, रुपन्देही, दाङ लगायतका शहरमा थुप्रै अक्सिजन उद्योग रहेकाले उनीहरुलाई समेत सक्रिय बनाएमा अक्सिजनको अभाव नहुने उनको भनाइ छ।