काठमाडौं= नेपाल चिकित्सक संघ र रुपा फाउण्डेसनको संयुक्त पहलमा रुपा चिकित्सा अवार्ड स्थापना गरिएको छ। काठमाडौं १६ बालाजु निवासी समाजसेवी रुपा श्रेष्ठ स्वर्गरोहण भएको दिन फागुन १० गते उनको स्मरणमा रुपा चिकित्सा अवार्ड २०७९ को स्थापना गर्ने सम्झौता भएको छ।
संघको स्थापना भएको दिन अर्थात प्रत्येक वर्षको फागुन २० गते यो अवार्ड प्रदान गरिने छ। नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा संघका अध्यक्ष डा लोचन कार्की एवं रुपा फाउण्डेसनका संयोजक आत्माकृष्ण श्रेष्ठबीच उक्त सम्झौता गरिएको हो।
चिकित्सकीय पेशामा समर्पित भई योगदान दिने उत्कृष्ट एकजना चिकित्सकलाई उक्त अवार्ड दिइने छ।
९ जना सम्मिलित छनौट समितिले कार्तिक महिनादेखि माघ मसान्तसम्ममा छनौट प्रक्रिया पुरा गरी प्रत्येक वर्षको फागुन१० गते उक्त अवार्डको घोषणा गर्ने छ। उक्त अवार्डको राशी रु एक लाखको हुने छ।