मिर्गौला रोग: एक परिचय –
मानव शरीरमा मिर्गौला २ वटा हुन्छन्। एउटा मिर्गौलाले राम्रोसँग काम गरेसम्म मानिसलाई खासै समस्या पर्दैन। दुईटै मिर्गौला नबिग्रिएसम्म मानिसलाई थाहा समेत नहुन सक्छ। नियमित स्क्रिनिङ गरेर मिर्गौलाको अवस्था कस्तो छ भन्ने थाहा पाउन सकिन्छ।
यदि अत्यधिक मात्रामा स्याँ–स्याँ हुन्छ, जीउ तथा अनुहार फुलेको जस्तो लागेमा, पिसाब कम हुँदै गएमा, पिसाबको रंग परिवर्तन भएमा, पिसाबमा अत्यधिक मात्रामा फिँज आउने जस्ता लक्षण देखिएमा मिर्गौला रोगको शंका गर्न सकिन्छ। यस्तो लक्षण देखिएका मानिसले एक पटक चिकित्सकलाई भेट्नुपर्ने हुन्छ।
मिर्गौला समस्या आए/नआएको थाहा पाउन आवश्यक यी तीन परीक्षण
– पिसाबको रुटिन परीक्षण
कम्तीमा वर्षको एक पटक तथा समस्या देखिएमा तत्कालै पिसाबको रुटिन परीक्षण गरेमा मिर्गौला रोग पत्ता लगाउन सकिन्छ। रुटिन परीक्षणले मिर्गौला सम्बन्धी विभिन्न रोगहरूका बारेमा जानकारी पाउन सकिन्छ।
यसबाट पिसाबको रंग अनुसार कस्तो समस्या छ तथा पिसाबमा प्रोटिनको मात्रा कति छ भन्ने थाहा पाउन सकिन्छ। सामान्यतया पिसाबमा प्रोटिन हुनु हुँदैन। त्यस्तै, यो परीक्षणबाट पिसाबमा सुगरको मात्रा भए/नभएको पनि थाहा पाउन सकिन्छ। सामान्यतया पिसाबमा सुगर पनि हुनु हुँदैन।
– रगतको परीक्षण अर्थात् रेनल फंक्शन टेस्ट
यस परीक्षणमा युरिया, क्रिएटिनिन, सोडियम तथा पोटासियम परीक्षण गरिन्छ। यो परीक्षण वर्षमा एक पटक गर्न मेरो सुझाव छ।
यदि मिर्गौलाले राम्रोसँग काम नगरेको अवस्थामा युरिया तथा क्रिएटिनिनको मात्रा बढ्दै जान्छ। युरिया तथा क्रिएटिनिनको मात्रा बढी आएमा रोग निदानतर्फ अगाडि बढ्नुपर्ने हुन्छ। त्यसबाहेक, मिर्गौलाले राम्रोसँग काम गरेको अवस्थामा हाम्रो शरीरमा नुनको मात्रालाई सन्तुलनमा राख्ने गर्छ।
सोडियम तथा पोटासियमको परीक्षणले हाम्रो शरीरमा नुनको मात्रा सन्तुलनमा भए/नभएको थाहा पाउन सकिन्छ।
– अल्ट्रासाउन्ड
अल्ट्रासाउन्ड नगरेसम्म हाम्रो एउटा मात्रै मिर्गौलाले काम गरे पनि थाहा नहुन सक्छ। अल्ट्रासाउन्डले मिर्गौलाको आकार, मासुको अवस्था, बाटो खुलेको छ/छैन, नलीमा ढुंगा वा मासु पलाएको छ/छैन, पुरुषहरूमा प्रोस्टेट बढेको छ/छैन भन्ने जानकारी दिन सक्छ।
रुटिन परीक्षण बाहेक, जो मानिसहरूमा अत्यधिक मात्रामा स्याँ–स्याँ बढेको छ, शरीर सुनिएको छ, वा परिवारका अग्रजहरूमा मिर्गौलाको समस्या छ, त्यस्ता व्यक्तिहरूले मिर्गौलाको स्क्रिनिङ गराउन आवश्यक हुन्छ।
युवा अवस्थामा नै मिर्गौला फेलको समस्या
मिर्गौलाको धेरै काममध्ये एक महत्वपूर्ण काम पिसाब बनाउनु हो। पिसाब बनाउने क्रममा शरीरमा रहेका विकारहरू पिसाबको माध्यमबाट बाहिर फालिन्छन्।
विकार फाल्न नसकेमा मिर्गौलामा समस्या आउँछ। पछिल्लो समय युवा अवस्थामा नै मिर्गौला बिग्रनुको प्रमुख कारण खानपान शैलीमा आएको व्यापक परिवर्तन हो।
त्यस्तै, अत्यधिक परिश्रम गर्ने, पानी कम पिउने, मद्यपान र धुम्रपानले पनि मिर्गौला फेल गराउन सक्छ। यसका साथै नुन धेरै भएको खानेकुरा, रातो मासुको अत्यधिक प्रयोग तथा जंक फुडको सेवन पनि मिर्गौलाका लागि फाइदाजनक हुँदैन।
मिर्गौला रोग लाग्न नदिन कस्तो खानपान शैली अपनाउने?
दैनिक कम्तीमा पनि ३ लिटर पानी पिउने, धुम्रपान तथा मद्यपान नगर्ने, रातो मासुको धेरै प्रयोग नगर्ने, अत्यधिक मात्रामा नुनको सेवन नगर्ने, जंक फुडको धेरै प्रयोग नगर्ने, धेरै मसालेदार खानेकुराको सेवन नगर्ने, बियाँ धेरै भएका खानेकुराको बढी प्रयोग नगर्ने लगायतका बानीले मिर्गौला रोग लाग्नबाट जोगिन सकिन्छ।