आज विश्वभर “खुसी मुख, खुशी जीवन” भन्ने सन्देशका साथ विश्व मुख स्वास्थ्य दिवस २०२६ मनाइँदैछ। हरेक वर्ष मार्च २० तारिखका दिन यो दिवस विभिन्न शैक्षिक तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरेर मनाइन्छ। यस अवसरले मुख स्वास्थ्य र समग्र स्वास्थ्यबीचको गहिरो सम्बन्धलाई पुनः स्मरण गराउँदै हामी सबैलाई दैनिक जीवनमा साना तर महत्वपूर्ण सुधारहरू गर्न प्रेरित गर्दछ।
नेपालको सन्दर्भमा हेर्दा, दाँत क्षय (डेन्टल क्यारीज) र गिजा रोग (पेरियोडोन्टल समस्या) अत्यन्तै सामान्य देखिन्छन्। ग्रामीण तथा शहरी दुवै क्षेत्रमा बालबालिकादेखि वयस्कसम्म ठूलो संख्यामा मानिसहरू यी समस्याबाट प्रभावित छन्। साथै, मुख दुर्गन्ध, दाँत झर्ने समस्या, मुखको संक्रमण, मुखको क्यान्सर, दाँतको असमानता (मालअक्लुजन) जस्ता अन्य मुखसम्बन्धी रोगहरू पनि बढ्दो अवस्थामा छन्। यसको मुख्य कारणहरूमा अस्वस्थ खानपान, अत्यधिक चिनीजन्य पदार्थको सेवन, मुख सरसफाइमा बेवास्ता, धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, र नियमित दन्त परीक्षणको अभाव पर्छन्।
हामीले बुझ्न आवश्यक छ कि मुख स्वास्थ्य केवल उपचारको विषय होइन, यो रोकथाम (प्रिभेन्सन) को विषय हो। समयमै सचेत भए धेरै समस्याहरू सुरुमै नियन्त्रण गर्न सकिन्छ।
व्यक्तिगत स्तरमा समस्या र समाधान
धेरै व्यक्तिहरूमा देखिने मुख्य समस्या भनेको दाँत दुखेपछि मात्र उपचार खोज्ने बानी हो। साथै, सही तरिकाले दाँत नमाझ्ने, फ्लस नगर्ने, र सुर्तीजन्य पदार्थ प्रयोग गर्ने प्रवृत्ति पनि व्यापक छ।
यसको समाधानका लागि:
- दिनमा कम्तीमा दुई पटक फ्लोराइडयुक्त मञ्जन प्रयोग गरेर दाँत माझ्ने बानी बसालौँ।
- दैनिक फ्लस गर्ने र मुख कुल्ला गर्ने बानी विकास गरौँ।
- चिनीजन्य खानेकुरा तथा पेय पदार्थको सेवन सीमित गरौँ।
- धूम्रपान र सुर्तीजन्य पदार्थ पूर्ण रूपमा त्यागौँ।
- हरेक ६ महिनामा नियमित दन्त परीक्षण गराऔँ।
- योग्य तथा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक (डेन्टल सर्जन) वा कन्सल्टेन्ट दन्त चिकित्सकबाट मात्र परामर्श तथा उपचार गराऔँ।
यी साधारण अभ्यासहरूले गिजा रोग, दाँत क्षय लगायतका धेरै समस्याहरू रोक्न मद्दत गर्छन्।
सरकारी स्तरमा समस्या र समाधान
नेपालमा मुख स्वास्थ्य अझै पनि प्राथमिक स्वास्थ्य सेवामा पूर्ण रूपमा समेटिएको छैन। धेरै ठाउँमा दन्त सेवा पहुँचबाहिर छ, र जनचेतना कार्यक्रमहरू सीमित छन्।
यसका समाधानका लागि:
- विद्यालय स्तरबाटै मुख स्वास्थ्य शिक्षा अनिवार्य रूपमा लागू गर्नुपर्छ।
- प्रत्येक स्थानीय तहमा आधारभूत दन्त सेवा उपलब्ध गराउनुपर्छ।
- दुर्गम क्षेत्रमा मोबाइल डेन्टल क्लिनिक सञ्चालन गर्नुपर्छ।
- सुर्तीजन्य पदार्थ र चिनीजन्य पेय पदार्थमा कडा नियन्त्रण तथा कर नीति लागू गर्नुपर्छ।
- निःशुल्क वा सहुलियत दन्त उपचार सेवाको विस्तार गर्नुपर्छ।
दीर्घकालीन नीति दृष्टिकोण (Oral Health Insurance Policy)
नेपालमा दीर्घकालीन रूपमा मुख स्वास्थ्य सुधार गर्न राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमभित्र सम्पूर्ण दन्त तथा मुखसम्बन्धी सेवाहरू समेट्नु अत्यन्त आवश्यक छ।
यस अन्तर्गत निम्न सेवाहरू समावेश गरिनुपर्छ:
- दाँत क्षय (क्यारीज) को उपचार
- गिजा रोग (पेरियोडोन्टल समस्या) को उपचार
- दाँत निकाल्ने, भर्ने तथा रुट क्यानाल उपचार
- दन्त प्रतिस्थापन (इम्प्लान्ट, ब्रिज, डेन्टचर)
- बालबालिकाको दन्त उपचार
- मुखको क्यान्सरको जाँच तथा उपचार
- दाँत मिलाउने (अर्थोडोन्टिक) सेवा
यस्ता सेवाहरूलाई स्वास्थ्य बीमाभित्र समेट्दा आर्थिक भार कम हुनुका साथै समयमै उपचारमा पहुँच बढ्नेछ।
अन्त्यमा
स्वस्थ मुखले आत्मविश्वास बढाउँछ र सहज रूपमा खान, बोल्न तथा हाँस्न सक्षम बनाउँछ। त्यसैले मुख स्वास्थ्यलाई विलासिता होइन, आधारभूत स्वास्थ्य अधिकारका रूपमा लिन आवश्यक छ।
आजको दिनले हामी सबैलाई एउटा स्पष्ट सन्देश दिन्छ—सचेतना, नियमितता र सहकार्यबाट मात्र “खुसी मुख” सम्भव छ, र त्यहीँबाट सुरु हुन्छ “खुशी जीवन”।