काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी तथा निजी अस्पतालमा विपन्न बिरामीलाई १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउनुपर्ने नियमको पालनामा कडाइ गरेपछि, नेपाल सरकारको निर्देशनअनुसार अस्पतालहरूले आफूले प्रदान गरेको निःशुल्क सेवासम्बन्धी विवरण दिन थालेका छन्।
सरकारको उक्त निर्देशनपछि सरकारी तथा निजी अस्पतालहरूले धमाधम आफूले निर्देशन पालना गरेको विवरण पठाउन थालेका छन्। अस्पतालहरूले पठाएको विवरणका आधारमा ती तथ्यांक स्वास्थ्य मन्त्रालयको वेबसाइटमा प्रकाशित गरिएको सह–प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए।
उनका अनुसार स्वास्थ्य मन्त्रालयको वेबसाइटमै कुन–कुन स्वास्थ्य संस्थाले १० प्रतिशत सेवा उपलब्ध गराएका छन् भन्ने विवरण सार्वजनिक गर्न लागिएको यो पहिलो पटक हो। यद्यपि, मन्त्रालयले यसअघि पनि निजी तथा सरकारी अस्पतालसँग यस्तो तथ्यांक माग गर्दै आएको उनले बताए।
स्वास्थ्य संस्थाहरूले उपचार प्राप्त गर्ने व्यक्तिको पूर्ण विवरण पठाउने भएकाले झुठा विवरण आएमा मन्त्रालयले पुनः छानबिन गर्न सक्ने डा. अधिकारीको भनाइ छ।
हालसम्म कुन–कुन अस्पतालले विवरण पठाए?
हालसम्म नेपालगन्ज मेडिकल कलेज, विराटनगर अस्पताल प्रा.लि., नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मनमोहन मेमोरियल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, बी एन्ड बी हस्पिटल, लुम्बिनी मेडिकल कलेज, वीर अस्पताल, नेपाल एपीएफ अस्पताल, पाटन अस्पताल, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, नोबल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, भेरी अस्पताल, कलेज अफ मेडिकल साइन्सेस, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज, देवदह मेडिकल कलेज, मानसिक अस्पताल, बी एन्ड सी मेडिकल कलेज एन्ड शिक्षण अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले १० प्रतिशत निःशुल्क शय्यासहितको सेवाको विवरण मन्त्रालयमा पठाइसकेका छन्।
हालसम्म १४ निजी, ९ सरकारी तथा २ अन्य स्वास्थ्य संस्थाहरूले विवरण पठाएका छन्।
विपन्न तथा न्यून आर्थिक अवस्था भएका बिरामीहरूले यो सेवा लिन सम्बन्धित पालिकाको सिफारिस लिएर जानुपर्ने व्यवस्था छ।
दैनिक ५ देखि ६ हजार बिरामीले पाउनेछन् निःशुल्क सेवा
हाल नेपालमा सरकारी, निजी तथा अन्य प्रकृतिका गरी ४,६१० स्वास्थ्य संस्था रहेका छन्। यी सबै संस्थाले १० प्रतिशत विपन्न सेवा उपलब्ध गराउँदा दैनिक ५ देखि ६ हजार बिरामीले निःशुल्क सेवा पाउने अनुमान गरिएको छ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार, अस्पतालले सरकारी निर्देशनअनुसार वार्षिक करिब १ करोड रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ। उनका अनुसार त्रिवि शिक्षण अस्पतालले वि.सं. २०४२ सालदेखि नै यस्तो सेवा दिँदै आएको छ, जहाँ हाल ७४ शय्या निःशुल्क रूपमा उपलब्ध छन्।
त्यस्तै, एशोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष तथा विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान कार्कीका अनुसार, विराट मेडिकल कलेजले विपन्न नागरिकका लागि १० प्रतिशतभन्दा बढी सेवा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ। उनका अनुसार कलेजले वार्षिक करिब १५ करोड रुपैयाँ बराबरको उपचार सहुलियत प्रदान गर्दै आएको छ।
उनले १० प्रतिशत सेवा पाउने आधिकारिक व्यक्तिहरूको स्पष्ट पहिचान राज्यले गर्नुपर्ने र यसअन्तर्गत पर्ने सेवाहरूको दायरा पनि स्पष्ट पारिनुपर्ने आवश्यकता औंल्याएका छन्।