नेपालको स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति भए तापनि मस्तिष्क तथा स्नायु प्रणालीसम्बन्धी जटिल रोगहरूको उपचार अझै पनि चुनौतीपूर्ण छ। विशेषगरी स्ट्रोक, मस्तिष्कको एन्युरिज्म तथा रक्तनलीसम्बन्धी रोगहरूको प्रभावकारी उपचारका लागि आधुनिक प्रविधिमा आधारित सेवा आवश्यक हुन्छ। यही सन्दर्भमा न्युरोइन्टरभेन्सन सेवा एक महत्वपूर्ण र अत्यावश्यक चिकित्सा प्रणालीको रूपमा उदाउँदै गएको छ।
न्युरोइन्टरभेन्सन भनेको न्यून आक्रामक विधिबाट मस्तिष्कका रोगहरूको उपचार गर्ने आधुनिक प्रविधि हो। यसमा शरीरमा ठूलो चिरफार नगरी सामान्यतया खुट्टा वा हातको सानो नसा बाट क्याथेटर प्रयोग गरी मस्तिष्कसम्म पुगेर उपचार गरिन्छ। यसले परम्परागत खुला न्युरोसर्जरीको विकल्पका रूपमा काम गर्दै आएको छ।
अस्पतालमा यस्तो सेवा स्थापना गर्न सुदृढ पूर्वाधार अनिवार्य हुन्छ। विशेषगरी बाइप्लेन क्याथ ल्याब यस सेवाको केन्द्रबिन्दु हो, जसले मस्तिष्कका जटिल रक्तनलीहरूलाई स्पष्ट रूपमा देखाएर सटीक उपचार सम्भव बनाउँछ। यसबाहेक २४ घण्टा सञ्चालन हुने सीटी स्क्यान, एमआरईI, आइसीयु, आपतकालीन सेवा, रेडियसन सुरक्षा प्रणाली तथा भरपर्दो विद्युत आपूर्ति आवश्यक पर्छ। यस्ता सबै पूर्वाधारहरूबीच राम्रो समन्वय भएमा मात्र सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सक्छ।
तर, उपकरण मात्र पर्याप्त हुँदैन। दक्ष जनशक्ति यस सेवाको मेरुदण्ड हो। न्युरोइन्टरभेन्सन विशेषज्ञ, न्युरोसर्जन, न्युरोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट तथा तालिम प्राप्त नर्स, टेक्निसियन र रेडियोग्राफरको समन्वय आवश्यक हुन्छ। दुर्भाग्यवश, नेपालमा यस्तो दक्ष जनशक्ति अत्यन्त सीमित छ। अझ गम्भीर कुरा के छ भने नेपालमै न्युरोइन्टरभेन्सनसम्बन्धी औपचारिक तालिम उपलब्ध छैन, र सबै विशेषज्ञहरू विदेशमा तालिम लिएर फर्किएका छन्।
यसका साथै, अत्याधुनिक उपकरण र नियमित रूपमा प्रयोग हुने सामग्रीहरू (जस्तै माइक्रोक्याथेटर, गाइडवायर, स्टेन्ट, कोइल तथा थ्रोम्बेक्टोमी उपकरण)को निरन्तर आपूर्ति पनि उत्तिकै आवश्यक हुन्छ। यस्ता सामग्रीहरू महँगा हुने भएकाले आर्थिक व्यवस्थापन पनि चुनौतीपूर्ण हुन्छ।
न्युरोइन्टरभेन्सन सेवाको अर्को महत्वपूर्ण पक्ष भनेको २४/७ आपतकालीन सेवा हो। स्ट्रोक जस्तो अवस्थामा ‘गोल्डेन आवर’ भित्र उपचार गर्न सकेमा बिरामीको ज्यान बचाउन र अपाङ्गता घटाउन सकिन्छ। त्यसैले एम्बुलेन्स सेवा, रिफरल नेटवर्क र अस्पतालहरूबीचको सहकार्य अत्यावश्यक हुन्छ।
न्युरोइन्टरभेन्सनका फाइदाहरू उल्लेखनीय छन्। परम्परागत न्युरोसर्जरीको तुलनामा यसमा मृत्यु दर कम हुन्छ, आइसीयु बसाइ छोटो हुन्छ, बिरामी छिटो निको हुन्छ, संक्रमण तथा जटिलताको जोखिम कम हुन्छ, ठूलो चिरफार गर्नुपर्दैन र शरीरमा दाग पनि रहँदैन। साथै बिरामीले कम पीडा भोग्नुपर्छ र अस्पताल बसाइ पनि छोटो हुन्छ। यसले बिरामीको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउँछ।
तर नेपालको वर्तमान अवस्था हेर्दा यो सेवा अझै प्रारम्भिक चरणमै रहेको देखिन्छ। देशभरिमा सीमित मात्र बाइप्लेन क्याथ ल्याबहरू सञ्चालनमा छन्, र सरकारी अस्पतालहरूमा यस्तो अत्याधुनिक सेवा लगभग अभावमै छ। न्युरोइन्टरभेन्सन विशेषज्ञहरूको संख्या निकै कम छ, र सेवा केही सीमित तेस्रो स्तर अस्पतालहरूमा मात्र उपलब्ध छ। धेरै बिरामी अझै पनि उपचारका लागि विदेश जान बाध्य छन्।
अर्को महत्वपूर्ण समस्या जनचेतनाको कमी हो। धेरै मानिसहरूलाई स्ट्रोकका लक्षणहरूबारे जानकारी छैन, र समयमै अस्पताल नपुग्दा उपचारको अवसर गुम्छ। त्यस्तै, स्वास्थ्यकर्मीहरूबीच पनि न्युरोइन्टरभेन्सन सेवाको उपलब्धताबारे पर्याप्त जानकारी नहुन सक्छ।
यी सबै चुनौतीहरूका बाबजुद नेपालमा न्युरोइन्टरभेन्सन सेवाको भविष्य उज्ज्वल छ। यदि सरकारले यस क्षेत्रमा लगानी बढाउने, सरकारी अस्पतालहरूमा क्याथ ल्याब स्थापना गर्ने, स्वदेशमै तालिम कार्यक्रम सुरु गर्ने र जनचेतना अभिवृद्धि गर्ने हो भने, यसले हजारौं बिरामीहरूको ज्यान बचाउन सक्छ। साथै, बिरामीलाई विदेश जानुपर्ने बाध्यता पनि घट्नेछ।
अन्ततः, न्युरोइन्टरभेन्सन केवल एउटा प्रविधि मात्र होइन, यो आधुनिक, सुरक्षित र प्रभावकारी उपचार प्रणाली हो। नेपालको स्वास्थ्य क्षेत्रलाई अर्को स्तरमा पुर्याउन यस सेवाको विस्तार अपरिहार्य भइसकेको छ।
-(डा पौडेल न्युरो इन्टरभेन्सनलिस्ट हुन्।)