पछिल्लो समय मानिसमा खानपान र जीवनशैलीका कारण विभिन्न स्वास्थ्य समस्याहरू देखिने गरेका छन्। तीमध्ये ठूलो आन्द्राको समस्या र क्यान्सरका बिरामीको संख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ। यस्तो अवस्थामा ठूलो आन्द्राको भित्री अवस्था बुझ्न र सम्भावित रोगको समयमै निदान गर्न ‘कोलोनोस्कोपी’ एक प्रभावकारी प्रविधि मानिन्छ।
के हो त कोलोनोस्कोपी?
कोलोनोस्कोपी भनेको ठूलो आन्द्राको जाँच गर्ने विधि हो। यस प्रक्रियामा मलद्वारबाट एउटा सानो क्यामेरा जडान गरिएको लचिलो पाइप भित्र पठाएर ठूलो आन्द्राको पूर्ण जाँच गरिन्छ। कोलोनोस्कोपी दुई प्रकारका हुन्छन्:
१) डायग्नोस्टिक कोलोनोस्कोपी: रोगको पहिचान वा निदान गर्ने माध्यमलाई डायग्नोस्टिक कोलोनोस्कोपी भनिन्छ।
२) थेराप्युटिक (उपचारका लागि) कोलोनोस्कोपी: जाँचकै क्रममा केही समस्या देखिएमा त्यसको तत्काल उपचार गर्न पनि कोलोनोस्कोपी गरिन्छ।
ठूलो आन्द्राको क्यान्सर अहिलेको समयमा निकै सामान्य बन्दै गएको छ। तर, खुसीको कुरा के छ भने यसलाई समयमै पहिचान गर्न सकेमा पूर्ण रूपमा रोकथाम गर्न सकिन्छ। कोलोनोस्कोपी गर्दा आन्द्रामा स–साना मासु पलाएका भागहरू (जसलाई पोलिप भनिन्छ) देखिन सक्छन्। ती पोलिपलाई कोलोनोस्कोपीकै माध्यमबाट काटेर फाल्न सकिन्छ, जसले भविष्यमा क्यान्सर हुनबाट बचाउँछ।
कसले र कहिले गर्ने कोलोनोस्कोपी?
डा. कश्यपका अनुसार ४५ वर्ष उमेर काटिसकेका व्यक्तिले कम्तीमा एक पटक कोलोनोस्कोपी गर्नु अनिवार्य हुन्छ। त्यसपछि हरेक १० वर्षमा यो जाँच दोहोर्याउँदा क्यान्सरको जोखिम धेरै हदसम्म कम हुन्छ। मलद्वारबाट रगत आउने, लामो समयसम्म पेट दुखिरहने वा अन्य अस्पष्ट लक्षणहरू देखिएमा तुरुन्तै कोलोनोस्कोपी गराउनुपर्ने हुन्छ।
यदि परिवारका बुबा, आमा वा अन्य नजिकका सदस्यलाई ठूलो आन्द्राको क्यान्सर भएको छ भने ४५ वर्ष कुर्नु पर्दैन। त्यस्ता व्यक्तिहरूले अलि कम उमेरमै यो जाँच गराउनु उपयुक्त हुन्छ।
के कोलोनोस्कोपी गर्दा दुख्छ?
धेरै मानिसहरू कोलोनोस्कोपी गर्दा धेरै दुखाइ हुन्छ भन्ने डरले यो जाँच गराउन हिचकिचाउँछन्। तर, अहिले प्रविधि धेरै विकसित भइसकेको छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा एनेस्थेसिया (बेहोस बनाउने वा लठ्याउने प्रविधि) को प्रयोग गरेर ‘पेनलेस कोलोनोस्कोपी’ (दुखाइरहित जाँच) गरिन्छ।
यो प्रविधि अहिले अन्य अस्पतालले पनि लागू गरेका छन्। एनेस्थेसिया विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सानो सुई दिएर बिरामीलाई पूर्ण रूपमा दुखाइमुक्त बनाएर यो जाँच गरिने हुनाले डराउनुपर्ने कुनै कारण छैन। ठूलो आन्द्राको क्यान्सरबाट बच्न र आफ्नो पेटको स्वास्थ्य सुनिश्चित गर्न कोलोनोस्कोपी एक भरपर्दो विधि भएको डा. कश्यपको भनाइ छ।
(डा. कश्यप ग्रान्डी अस्पतालका वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ हुन्।)