प्रोफाइल

नयाँ उपचार पद्दतिका पक्षधर 

None

डा शैल रुपाखेती जिम्मेवारीका हिसाबले स्टार हस्पिटलका निर्देशक हुन् । तर, व्यवस्थापकीय पद भन्दा पनि आफ्नो विशेषज्ञताबाट आफूलाई चिनाउन चाहन्छन् । पदप्रतिष्ठा भन्दा आफूमा रहेको दक्षतालाई महत्व दिने उनी जीआई सर्जन हुन् । चिकित्सा जगत्मा उनी नयाँ प्रविधिमा आफूलाई अप टू डेट राख्ने र भित्र्याउन चाहने डाक्टरका रुपमा परिचित छन्।
 
दोस्रो पुस्तामा रोजाईका सर्जनको पंतिमा उभ्याइसकेका उनी उपचारको नयाँ प्रणालीमा विश्वास गर्छन् । विश्वमा पछिल्लो समय सुरु भएको उपचार प्रणाली र प्रविधीलाई नेपाल भित्र्याउनपर्छ भन्ने मान्यता राख्छन् । उनलाई लाग्छ, ‘विश्वले नयाँ खोज र त्यसको उत्कृष्ट नतिजा हासिल गरेपछि मात्रै प्रचलनमा ल्याउँछ । जसले उपचारमा सहज मात्र हुने होइन, प्रभावकारी पनि बनाउँछ।’

नयाँ प्रविधी भित्र्याउन व्यवस्थापकीय दृष्टिकोणले चुनौतीपूर्ण हुन्छ । किनभने चिकित्सकलाई त्यसका लागि दक्ष बनाउनेदेखि लिएर उपकरण किन्न पर्छ । जसका लागि अस्पतालले थप खर्च बेहोर्नुपर्छ । स्टार आउनुअघि उनले काम गरेका विभिन्न अस्पतालमा यो समस्या बेहोरेका छन् । आफ्नो यही मान्यतालाई जीवनपर्यन्त साकार बनाउन पनि उनी स्टार अस्पताल पुगेका हुन् र व्यवस्थापकी जिम्मेवारी समेत सम्हालेका हुन् । 

यसबाहेक उत्कृष्ट नतिजाका लागि सामूहिक अभ्यास गर्न जरुरी रहेको महशुस गरेर उनी यहाँ पुगेका हुन् । सामूहिक अभ्यासले दिने सफलताका महशुस यसअघि पनि गरिसकेका छन् । उनको मान्यता छ,  ‘एउटै पेशामा रहेका समकक्षीहरुले एकअर्कासँग अस्वस्थ प्रतिष्पर्धा गर्नु भन्दा सामूहिक प्रयास गर्नुपर्छ ।’ उनले त्यसलाई आत्मसाथ पनि गरेका छन् र डा सुनिल श्रेष्ठ, डा सञ्जय पौडेल, डा टंक बोहरा र उनी मिलेर समूह नै पनि बनाएका थिए । 

सर्जरीमा नयाँ प्रविधि भित्र्याउने जस उनी काठमाडौं मेडिकल कलेज(केएमसी)लाई दिन्छन् । ल्याप्रोस्कोपिक सर्जरीमा नयाँ–नयाँ सुरुवात काठमाडौं मेडिकल कलेजमा तत्कालिन समय कार्यरत सर्जनहरुले गरे । उनले पनि ल्याप्रोस्कोपिक दक्षताको विकास केमसीमै गरेका हुन् ।  ‘यसका लागि डा सुनिल शर्मा छाता र दिपकराज सिंहले मेरुदण्डको भूमिका निर्वाह गर्नुभएको हो,’ उनी सम्झिन्छन् । उनीसँगै अर्का जीआई सर्जन डा मुकुन्दराज जोशी, डा प्रवीण थापाले काठमाडौं मेडिकल कलेजमा पहिलोपल्ट रेक्टम क्यान्सरको ल्याप्रोस्कोपिक सर्जरी गरेका थिए । 

जीआई सर्जरीमा नयाँ प्रविधि र पद्धति आत्मसाथ गर्न थालेपछि नियमित अपडेटका लागि अन्तर्राष्ट्रिय फोरमको महशुस गरे उनीहरुले । त्यसपछि अमेरिकन सोसाइटी अफ ग्यास्ट्रो इन्टेसटाइनल इन्डोस्कोपिक सर्जन्सको कार्यक्रममा उनीहरुले निवेदन दिए । डा रुपाखेती लगायतका केही जीआई सर्जन उक्त कार्यक्रममा सहभागी भए । उनी भन्छन्, ‘नेपाली जीआई सर्जनको पहिलोपल्ट उनीहरुको कार्यक्रममा सहभागिता थियो । त्यही बेला हामीले जोन हप्किन्स युनिभर्सिटीमा निवेदन दिएर सिंगल पोर्ट ल्याप्रोस्कोपिक उपकरण ल्याएका थियौं ।’  उनी उक्त सोसाइटीको नेपालबाट सदस्य बन्ने पहिलो हुन् । यसैगरी फन्डामेन्टल अफ ल्याप्रोस्कोपिक सर्जरीको दक्षता हासिल गर्ने र अमेरिकन कलेज अफ सर्जनबाट विभूषित हुने पनि उनी पपिहलो नेपाली सर्जन हुन् । 

नयाँ उपकरणको प्रयोग र नयाँ प्रविधि अनुसार सेवा दिन थप तालिमको महशुस गरेपछि उनी ओरिगन हेल्थ साइन्स युनिभर्सिटी पोर्टल्यान्ड पुगे । त्यहाँबाट फर्केपछि उनले नर्भिक इन्टरनेशन हस्पिटलमा सर्जरी सेवा दिन थाले । आफूले जानेको उपचार पद्धतिका लागि उपकरण जरुरी थियो । केही सामान आफू फर्किदा सँगै ल्याएपनि अपुगका लागि उनले अस्पतालका सञ्चालक वसन्त चौधरीसँग अनुरोध गरे । उक्त उपकरण आएपछि सन् २००७ मा जीआई सर्जन डा मुकुन्दराज जोशी, एनेस्थेसियोलोजिस्ट डा बाबुराजा श्रेष्ठको सहयोगमा उनले ल्याप्रोस्कोपिक सर्जरी सेवा नर्भिक अस्पतालमा आरम्भ गरेका थिए  । सोही वर्ष ओरिगन हेल्थ साइन्स युनिभर्सिटी पोर्टल्यान्डमा नयाँ प्रविधिबाट भइरहेको घाउ नबनाइ गरिने(एनओटीएस) सर्जरीको टेलिमेन्टोरिङको प्रसारण गरिएको थियो ।  किनभने त्यसबेला उक्त प्रविधिको भर्खर सुरु भएको थियो । उक्त सर्जरीको नेपालका १ सय ५० जनाले लाइभ अवलोकन गर्ने मौका पाएका थिए । जसलाई सम्भव तुल्याउन उनले निकै मेहनत गर्नुपरेको थियो । 

आफ्नो दक्षता र रुचीलाई विस्तार गर्नकै लागि उनले स्टार हस्पिटलमा आफूलाई समाहित गरेका हुन् । सुरुमा ३२ जनाको लगानीबाट सुरु भएको हस्पिटलमा अहिले ३ सय जना पुगेर पब्लिक लिमिटेड भइसकेको छ । 

यो हस्पिटलसँग जोडिनुमा उनको आफ्नो लगानी प्रेम मात्रै छैन । केही लक्ष्य छन्, केही सपना छन् । उनी भन्छन्, ‘बिरामी र डाक्टरबीच गहिरिदो खाडल पुर्ने अस्पतालको चिनारी दिलाउन चाहन्छु ।’ अस्पताललाई बालक र बृद्धमैत्री बनाउने ठूलो सपना छ उनीसँग । उनी भन्छन्, ‘उपचार सेवा त सवै अस्पतालले दिन्छन् र दिइरहेका छन् । हामीले हार्दिकता सहितको सेवाको परिकल्पना गरेका छौं ।’ बिरामीप्रति अस्पताल कर्मचारीले देखाउने आत्मीयताले उपचार सेवाको गुणस्तरीयता बढाउने उनले बुझेका छन् । त्यसैले हरेक कर्मचारीलाई भन्छन्, ‘हाम्रो नारा र लक्ष्य नबिर्सिनू ।’

चिकित्सा क्षेत्रमा आउनुको कारण उनका पारिवारिक माहोल ठान्छन् उनी । उनका बुवा कमल रुपाखेती डाक्टर बन्न चाहन्थे तर आर्थिक अवस्था राम्रो नभएकाले उनले सपना पूरा गर्न सकेनन्।
 
बरु मेडिकल रिप्रजेन्टेटिभ भएर यो क्षेत्रमा काम गर्ने तिर्खा मेटे । तर, सन्तानलाई डाक्टर नै बनाउने उनको भित्री इच्छा थियो । सानैबाट डा शैलले त्यो महशुस गरेका थिए । त्यसैले पढाइमा आफूलाई अब्बलकै पंतिमा उभ्याए । एसएलसीसम्म आदर्श विद्या मन्दिर, आइएस्सी भ्याली क्याम्पसमा गरेका उनी चिकित्सा पढ्न भारत वा पाकिस्तान जाने तयारी गरिरहेका थिए । यही समय नेपालमै पहिलोपल्ट निजी स्तरबाट मेडिकल कलेज खुल्ने कुरा चलिरहेको थियो । पोखरामा मणिपाल मेडिकल कलेज खुल्ने भएपछि बुवाको चिनजान मार्फत त्यहाँ भर्ना भए । निजी मेडिकल कलेजको पहिलो ब्याच भएकाले उनको समूहलाई अब्बल भएर देखाउने ठूलो जिम्मेवारी थियो । उनी सम्झिन्छन्, ‘नेपालमा निजी लगानीमा मेडिकल कलेज थप खुल्ने वा नखुल्ने हाम्रो ब्याचले निर्धारण गर्ने हौवा पिटाइएको थियो । यसकारण पनि हामीले राम्रो गर्नुपर्ने चुनौती थियो ।’

त्यो ब्याचका १०० जनामा ४४ नेपाली र बाँकी विदेशी थिए । मेडिकल कलेजको अस्पताल खाश नचलेकाले इन्टर्नसीपका लागि काठमाडौंको वीर अस्पताल पुगे उनी । उनलाई सर्जरीमा विशेष रुची थियो । त्यसैले उनले अस्पतालका सर्जन डा शैलेश अधिकारीका सहायकका रुपमा इन्टर्नसिप काम गरे । इन्टर्नसीपको अवधि सकिएपछि डा उपेन्द्र देवकोटा अन्तर्गत वीर अस्पतालको न्युरो सर्जरी विभागमा झन्डै साढे दुई वर्ष काम गरे उनले । ‘न्युरो सर्जरीमै करियर बनाउने एक खालको सोच बनिसकेको थियो । तर, यही समय डा देवकोटा स्वास्थ्य मन्त्री हुनुभयो,’ उनले भने । त्यसपछि उनले केही समय डा महावीरकृष्ण मल्ल डा मनोहरलाल श्रेष्ठ र मुटु शल्यक्रिया विशेषज्ञ डा दामोदर पोखरेलसँग केही समय काम गरे । 

त्यसपछि आफ्नो करियर अघि बढाउन थप पढाई जरुरी महशुस भयो । उनले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सर्जरीमा जाँच दिए । त्यसपछि उनले जनरल सर्जरी पढे । सर्जरी सकेपछि उनलाई न्युरो सर्जरीमा उनका सिनियरहरुले तान्न नखोजेका होइनन् । तर, उनलाई जीआई सर्जरीमा आफ्नो भविष्य सुन्दर छ भन्ने लाग्यो । यसमा आफूले केही नयाँ गर्न सक्ने महशुस पनि भइसकेको थियो उनलाई । 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने