‘अइयाऽऽऽऽऽऽ’ शरीरको कुनै अंगमा सानो घाउ तथा चोट लाग्यो भने मानिसको मुखबाट सबैभन्दा पहिले निस्कने शब्द हो यो। घाउको आकार तथा गहिराइ जति ठूलो छ त्यसले दिने दुखाइ र पीडा पनि त्यति नै बढी हुन्छ। त्यसैले मानिसले यस्तो दुखाइ र अइया शब्दबाट छिटोभन्दा छिटो छुटकारा पाउन खोज्छन्। यसका लागि हरसम्भव चिकित्सकीय सहित घरायसी उपाय पनि अपनाउँछन्।
तर, जति गर्दा पनि घाउ निको भएन भने के होला ? लामो समयसम्म पनि निको नभएको जटिल घाउले कति पिडा देला ? अझ उक्त घाउ निको नभएकै कारण हात तथा खुट्टा नै काट्नु पर्ने अवस्था आयो भने ? मानिसले यस्तो अवस्थाको कल्पना समेत गर्न चाँहदैन।
तर, बिडम्वना लामो समयसम्म घाउ निको नभएका कारण त्यसबाट हुने थप क्षतिबाट जोगिन धेरै बिरामीको हात–खुट्टा काटिएको छ। अझै पनि वर्षौंसम्म घाउ बोकेर अस्पताल चाहर्ने बिरामी थुप्रै छन्। एकातिर घाउका कारण आर्थिक र अंग गुमाउनु पर्ने वाध्यता छ भने अर्कोतर्फ त्यसले मानिसको काम गर्नसक्ने क्षमतामा ह्रास ल्याउनुका साथै सामाजिक रुपमा पनि असर गरिरहेको छ।
यस्तै जटिल घाउका बिरामीलाई लक्षित गर्दै उपचारको क्षेत्रमा नयाँ प्रविधि नेपाल भित्रिएको छ। चिकित्सा क्षेत्रमा उपलब्ध भएका हरसम्भव प्रयास गर्दा पनि घाउ निको नभएर अंग नै गुमाउने अवस्थामा पुगेका बिरामीका लागि यो प्रविधि अचूक साबित हुँदै गएको छ।
यो प्रविधिबाट उपचार गर्दा बिरामीको अंग काट्नुपर्ने वाध्यताको अन्त्य भएको छ भने उपचारका क्रममा खर्च हुने ठूलो धनरासी र समयको वचत हुने भएको छ।
हात–खुट्टा नै काट्नुपर्ने अवस्थामा पुगेका बिरामीका लागि वरदान बन्दै गइरहेको उक्त उपचार विधि हो, एलपिआरएफ (ल्युकोसाइट–प्लेटलेट रिच फाइब्रिन)। यो प्रविधिमा बिरामीको आफ्नै शरीरबाट रगत निकालिन्छ र त्यसलाई विशेष प्रकारको उपकरणबाट स्वरुप परिवर्तन गरेर झिल्ली बनाइन्छ। उक्त झिल्लीलाई बिरामीको घाउमा लगाएर निको बनाउने काम गरिन्छ।
प्राध्यापक डा नेलसन पिन्टोले चिलीबाट सुरु गरेको यो प्रविधि चिलीसहित विश्वका केही देशमा निकै प्रभावकारी भइरहेको छ। नेपालमा भने दन्तरोग विशेषज्ञ डा सुशील कोइरालाको अगुवाईमा पुण्यार्जन फाउन्डेसनले यो प्रविधि नेपाल भित्र्याएको हो। डा कोइरालले डा पिन्टोलाई नेपालमा ल्याएसँगै नेपालमा पनि यो प्रविधिमार्फत घाउको उपचार हुन थालेको हो।
यो प्रविधिबाट अहिले नेपालका तीन स्थानमा मात्र उपचार भइरहेको छ। नेपालमा सबैभन्दा पहिला प्लास्टिक सर्जन डा शंकरमान राईको पहलमा कीर्तिपुर अस्पतालमा जलेका बिरामीको जटिल घाउको उपचारमा यो प्रविधिको प्रयोग भएको थियो। त्यसपछि लेलेस्थित आनन्द वन अस्पताल र सातदोबाटोस्थित आनन्दवन अस्पतालकै सिटी क्लिनिकमा यो प्रविधिबाट जटिल किसिमका घाउको उपचार हुँदै आएको छ।
स्वास्थ्य खबरपत्रिकाले यी तीनवटै स्थानमा पुगेर यो उपचार विधिको विषयमा स्थलगत अध्ययन गरेको छ। स्थलगत अध्ययनका क्रममा यो विधिबाट गरिने उपचार र यसका प्रक्रियाका क्रममा देखिएका केही दृश्य यस्ता छन् :
दृश्य–१
फागुन २३ मा ललितपुरको लेलेस्थित आनन्द वन अस्पतालको सामान्य शल्यकक्षमा अस्पतालका निर्देशक तथा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा इन्द्र नापित, सिनियर अहेव रामुकमार महर्जन, रिसर्च असिस्टेन्ट दीलिप श्रेष्ठ र प्रिति महर्जन, नर्स संगिता माझी र सरिता बोगटी बिरामी कुरिरहेका छन्।
ह्विल चेयरमा ललितपुर गिम्दीकी ६० वर्षिया सुन्तली मगरलाई ल्याइन्छ। उनको देब्रो खुट्टाको पैतालको माथिल्लो भागमा सबै औंलदेखि झन्डै गोलीगाँठासम्म गहिरो चोट छ। औंला चलाउन सहयोग गर्ने सेता कुरकुरे हड्डी (टेन्डेन्ट) बाहिरबाट प्रस्ट देखिन्छ भने नसामा समेत असर गरेको छ। एचए महर्जनले घाउको आकार नाप्दै भने, ‘लम्बाइ ६ दशमलब ५ सेन्टिमिटर र चौडाइ पनि ६ दशमलव ५ सेन्टिमिटर नै।’
एक हप्ताअघि उनको घाउको लम्बाइ ७ दशमलव ५ र चौडाइ ७ सेन्टिमिटर थियो। बिरामी मगरको एक साताअघि ‘एलपिआरएफ’ विधिबाट घाउको उपचार सुरु भएको थियो। डा नापितले एक सातामै आएको सुधारलाई चमत्कारिक भन्दै पुनः घाउमा अघिल्लो साता झैं उपचार प्रक्रिया अगाडि बढाउन थाले।
सर्वप्रथम मगरको शरीरबाट सिरिन्जको सहयोगमा सिसाको ट्युबमा रगत निकालियो। एउटा ट्युबमा ९ देखि १० एमएल रगत निकालिन्छ। उनको शरीरबाट ८ वटा ट्युबमा निकालिएको रगतलाई रिर्सच असिस्टेन्ट दीलिपले शल्यकक्ष छेउमा रहेको ‘इन्ट्रा स्पिन मेसिन’मा हाले। अनि मेसिन अन गरे। विशेष प्रकारले बनाइएको उक्त मेसिन २७ सय आरपिएम (एक मिनेटमा २७ सय पटक घुम्ने) क्षमताको छ र १२ मिनेटपछि आफैं घुम्न बन्द भएर मेसिन खुल्यो।
१२ मिनेटपछि रगत राखिएको ट्युबमा हल्का पहेँलो रङको विशेष तन्तु बन्यो। नर्स माझीले निर्मलीकरण गरिएको चिकित्सकीय उपकरणको सहयोगमा उक्त तन्तु निकालिन्। त्यसलाई विशेष प्रकारको सानो चिकित्सकीय बक्स (विद्यार्थीले गणित विषय अध्ययनका क्रममा प्रयोग गर्ने ज्यामेट्रिक बक्स जस्तै र आकारको) मा मिलाएर राखिन्। उक्त बक्सले तन्तुलाई थोरै चापमा थिच्ने गरी बिर्को लगाइन्।
दुई मिनेटपछि बिर्को खोल्दा उक्त तन्तु पातलो झिल्लीमा परिणत भएको थियो। त्यतिबेलासम्म एचए महर्जनले बिरामी मगरको घाउमा एक साताअघि लगाइएको पट्टी खोलेर सफा गरिसकेका थिए। डा नापितले सफा गरिएको घाउमा रगत निस्किरहेका नसासँग जोड्दै बिरामीकै रगतबाट बनाइएका ती झिल्लीलाई क्रमशः घाउमा टाँस्ने काम गरे। यो काममा उनलाई एचए महर्जन र नर्स माझीले सहयोग गरे। झल्लीले घाउलाई पुरिसकेपछि एचए महर्जन र नर्स माझीले पुनः मगरको घाउ वरिपरिको क्षेत्रमा ड्रेसिङ गरे। त्यसपछि, बिरामीलाई पुनः ह्विल चेयरमा राखेर वार्डतर्फ पठाइयो।
डा नापितका अनुसार मगरको खुट्टामा लागेको घाउ ‘डायबेटिक’ घाउ हो। मधुमेहकी बिरामी मगरको खुट्टामा जस्ता पाताको टुक्राले सानो घाउ बनाएको थियो। सुरुमा बेवास्ता गरेकी उनको घाउ बढ्दै गएपछि नजिकैको स्वास्थ्य चौकीमा उपचार गरेकी थिइन्। तर, घाउ निको हुनुको साटो झन् बढ्दै गएर टेक्नै नसक्ने अवस्था भएपछि उनी आनन्द वन अस्पतालमा आएकी थिइन्।
सोही दिन उक्त टिमले ललिपुर थापाहिटीकी ६५ वर्षीया तारादेवी खड्कीको पैतालामा रहेको ६ दशमलव ५ सेन्टिमिटर लम्बाइ, २ दशमलव ४ सेन्टिमिटर चौडाइ र ० दशमलव ७ सेन्टिमिटर गहिराइ भएको घाउ र सर्लाहीका ६९ वर्षीया रामचन्द्र साहको पनि उपचार ग¥यो। टोलीले मगरलाई गरेजस्तै प्रक्रियाबाट उनीहरुको घाउको उपचार गर्यो।
सर्लाहीका साहका अनुसार उनको खुट्टामा लागेको घाउ ८ वर्ष पुरानो हो। ८ वर्षदेखि उनी घाउ बोकेर विभिन्न अस्पतालमा उपचार खोज्दै हिँडिरहेका थिए। उपचारका क्रममा केही कम हुने र पछि फेरि बढ्ने सास्तीले उनी हैरान थिए। अन्ततः उनी आनन्द वनमा नयाँ प्रविधि मार्फत उपचार गर्न आइपुगे।
फागुन २३ को बिहान साहको घाउमा नयाँ प्रविधि मार्फत छैटौं हप्तामा उपचार भएको थियो। ६ हप्ताको उपचारमा उनको घाउ निको भएर एक सेन्टिमिटर लम्बाइ र शून्य दबमलव ५ सेन्टिमिटर चौडाइमा झरिसकेको थियो।
‘विगतमा घाउ सन्चो हुन ६ महिनाभन्दा बढी लाग्थ्यो, अहिले ६ हप्तामै त्योभन्दा राम्रो भयो,’ उनले भने, ‘यसअघि घाउ निको पार्न धेरै पैसा खर्च गरिसकेको थिएँ।’ आनन्द वन अस्पतालमा उनको निःशुल्क उपचार भएको हो। साहको खुट्टा कुष्ठरोग लागेर निको भएको थियो। तर, त्यही खुट्टामा छोएको वा घोचेको थाहा नहुँँदा घाउ पटक–पटक बल्झिहन्थ्यो।
यसैगरी, खड्कीको घाउ त झन् ३० वर्ष पुरानो। उनी पनि घाउ पूर्ण निको नहुने र दोहोरिरहने समस्या भएपछि आनन्द वनमा नयाँ प्रविधिबाट उपचार गर्न आइपुगेकी हुन्। उनको फागुन २३ मै पहिलो पटक एलपिआरएफबाट उपचार भएको हो। खड्कीको पनि कुष्ठरोगका कारण खुट्टामा केही महसुस हुँदैनथियो।
स्वास्थ्य खबरले फागुन ३० मा आनन्द वनमा नयाँ प्रविधिबाट उपचार गर्न आएका तीनै जनाको अवस्था बुझ्दा साह सन्चो भएर डिस्चार्ज भएका थिए भने मगरको घाउ लगभग पुरिइसकेर औंला चलाउन मिल्ने अवस्थामा पुगेको थियो। खड्कीको घाउ आधा भरिइसकेको थियो।
दृश्य–२
कीर्तिपुर अस्पतालमा प्लास्टिक सर्जन डा विशाल कार्कीको टोली उपचारमा व्यस्त थियो। आगोले जलेका दुई जना बिरामी उपचारका लागि अस्पतालमा आइपुगे। तीमध्ये एकको घुँडाबाट तल र गोलीगाँठोसम्मको भाग जलेर मूल हड्डी (टिबिया) नै देखिएको थियो। यस्तो अवस्थामा बिरामीको उक्त हड्डीलाई तत्कालै मासु तथा छालाले छोप्नुपर्ने हुन्छ। पुरानो प्रविधि अनुसार उपचार गर्नुपर्दा शल्यक्रिया मार्फत शरीरका अन्य भागबाट नसासहितको मासु र छाला ल्याएर उक्त भाग छोप्नुपर्ने हुन्थ्यो। यस्तो शल्यक्रिया निकै महँगो र लामो समय लाग्ने हुन्छ।
डा कार्कीका अनुसार ती बिरामीका लागि दुई वटा मेजर शल्यक्रिया गर्नुपर्ने हुन्थ्यो। एउटा शल्यक्रियाका लागि ८ देखि १० घन्टा लाग्थ्यो। एक पटकको शल्यक्रियाको खर्च डेढदेखि दुई लाख रुपैयाँसम्म।
धूमपानका अम्मली ती बिरामीको फोक्सोमा समस्या भएका कारण शल्यक्रिया समेत गर्न मिल्ने अवस्था थिएन। यस्तो अवस्थामा उनलाई संक्रमण र थप क्षतिबाट जोगाउन खुट्टा नै काट्नुपर्ने हुन्थ्यो।
संयोगले अस्पतालमा एलपिआरएफ उपचार विधि सुरु भइसकेको थियो। डा कार्कीको टोलीले उनको घाउमा एलपिआरएफ प्रविधि अनुसार उपचार गरे। उनको रगतबाट नै बनाइएको झिल्लीलाई आधाभाग हड्डी र आधा भाग मासुमा पर्ने गरी राखियो। ५ हप्तामै उनको घाउ पुरियो।
‘यति ठूलो घाउ यति छिट्टै निको भएको हामीले पहिलो पटक देखेका हौं,’ डा कार्कीले भने, ‘चिकित्सा क्षेत्रमा घाउ निको पार्ने यो उपचार विधि यस्ता जटिल घाउका बिरामीका लागि वरदान नै हो।’
डा कार्कीकै टोलीले प्यारालाइसिस भएर लामो समय ह्विली चेयरमा बसेका कारण बस्ने अंगमा गहिरो घाउ भएका ८२ वर्षीय बिरामीको पनि यही विधिबाट उपचार गरेर घाउ निको बनाइसकेको छ।
‘बिरामीको घाउ १२ सेन्टिमिटर गहिरो थियो। भित्रको हड्डी नै देखिएका ती बिरामीको उमेरका कारण शल्यक्रिया गर्नसक्ने अवस्था थिएन। तर, एलपिआरएफ मार्फत उपचार गर्दा ६ हप्तामै घाउ पूरै ठिक भयो,’ डा कार्कीले भने, ‘यो उपचार विधि हाम्रो लागि पनि नयाँ थियो, घाउमा आएको यो सुधार देखेपछि हामी छक्क परेका थियौं।’
खुट्टाको नसा फुलेर जेलिने (भेरिकोज भेन) समस्याका कारण पिँडौलामा घाउ भएकी एक युवती कीर्तिपुर अस्पतालमा अत्तालिँदै पुगेकी थिइन्। एउटा निजी अस्पतालमा उपचार गराइरहेकी उनलाई अस्पतालले खुट्टा काट्नुपर्ने भनेको थियो। उनी खट्टा काट्नुपर्ने डरले उपचारको विकल्प खोजिरहँदा संयोगले कीर्तिपुर अस्पताल पुगिन्। डा कार्कीको टोलीले उनको पनि एलपिआरएफबाट ३ हप्तामै घाउ निको बनाइदियो। उनलाई नसा फुल्ने समस्याको थप उपचार गर्न सुझाब दिँदै डिस्चार्ज गरियो।
दृश्य–३
राजधानीको एक निजी कलेजका क्यान्टिन सञ्चालक ५५ वर्षीय पुष्प आचार्य मधुमेहका बिरामी हुन्। उनको खुट्टाको बुढी औंलामा घाउ आयो। राजधानीका निजी तथा सरकारी अस्पतालमा उपचार गराए। तर, घाउ निको भएन। एउटा निजी अस्पतालले उनको बुढी औंला नै काट्नु पर्ने सुझाव दियो। आचार्य आफ्नो बुढी औंला गुमाउन चाहँदैनथिए र घाउ पनि निको होस् भन्ने चाहन्थे। कुष्ठरोग बिरामीको घाउ उपचार गर्ने अनान्द वन अस्पतालमा केही उपाय लाग्छ कि भन्ने आशामा उनी सातदोवाटोस्थित आनन्द वन अस्पतालको सिटी क्लिनिकमा पुगे।
क्लिनिकमा वरिष्ठ चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ डा मेहश साह थिए। आचार्यका भन्दा जटिल र गम्भीर घाउलाई एलपिआरएफ विधिबाट निको बनाइसकेका डा साहले उनलाई सोही अनुसार उपचार गर्न सुझाव दिए। आचार्यको उपचार भयो। छोटो समयमै घाउ निको भयो र औंला जोगियो।
के हो एलपिआरएफ ?
मानिसको आफ्नै रगतमा भएका रक्ततत्वलाई स्वरुप परिवर्तन गराएर जटिल घाउको प्राकृतिक उपचार गर्न विकास गरिएको उपचार पद्धति हो यो। एलपिआरएफ (ल्युकोसाइट–प्लेटलेट रिच इन फाइब्रिन) भनेको रगतमा रहेको रेशायुक्त सेता रक्तकण र प्लेटलेट हो।
चिलीका प्राध्यापक डा पिन्टोका अनुसार यो प्रविधिमा बिरामीको शरीरबाट निकालिएको रगतलाई विशेष प्रकारको उपकरणमा घुमाएर एक प्रकारको तन्तु बनाइन्छ। जुन झट्ट हेर्दा झिल्ली जस्तै हुन्छ। यो पातलो तर बलियो झिल्लीलाई निर्मलीकरण गरिएका मेडिकल सामग्रीको सहायतामा घाउमा राखिन्छ।
‘यो पद्धति कुनै पनि तन्तु (टिस्यु) जस्तै छाला, मासु, कुरकुरे हाड वा हड्डीका लागि उपयुक्त हुन्छ,’ नेपाल आएको समयमा डा पिन्टोले स्वास्थ्य खबरपत्रिकासँग भने, ‘सुरुमा यो रगत भए पनि यसलाई हामीले जीवित तन्तुका रुपमा बदलेका हुन्छौं र यसलाई घाउमा ‘ग्राफ्ट’का रुपमा प्रयोग गर्छाैं। जुन आवश्यकता अनुसार विकसित हुँदै जान्छ। यसमा छिट्टै विकसित हुने क्षमता हुन्छ र घाउसँग जोडिएका नसाबाट आएका रगतले आवश्यक पौष्टिक तत्व पाएर घाउ छिट्टै निको हुन्छ।’
यसमा घाउको आकार अनुसार बिरामीबाट रगत निकालिन्छ। एउटा ट्युबमा ९ देखि १० एमएल रगत निकालिन्छ। एक पटकको घाउमा प्रयोग गर्न घाउको आकार हेरेर १२ वटा ट्युबमा रगत निकाल्न सकिन्छ। यो भनेको बढीमा १ सय २० एमएलसम्म हो। मानिसले एक पटक रक्तदान गर्दा ४ देखि ४ सय ५० एमएलसम्म निकाल्ने गरिन्छ।
खर्च र समयको वचत
नेपालमा यो प्रविधि भित्रिएपछि फागुन अन्तिमसम्ममा तीनवटा अस्पतालमा गरी ४७ जनाको उपचार भइसकेको छ। सबैभन्दा बढी कीर्तिपुर अस्पतालमा ३५ र लेलेस्थित आनन्द वन तथा सातदोवाटोको क्लिनिकमा १२ जनाको उपचार भइसकेको छ। हालसम्म भएको उपचारका आधारमा हेर्दा यो विधिबाट बिरामीको घाउ छिटो निको हुने र खर्च पनि कम लाग्ने गरेको छ।
प्लास्टिक सर्जन डा शंकरमान राईका अनुसार बिरामीको आफ्नै रगत प्रयोग हुने र अन्य थप केही रसायन, औषधि तथा शल्यक्रिया गर्नुनपर्ने हुँदा यो विधि सस्तो र सुरक्षित छ। ‘लाखौं तिरेर शल्यक्रिया गर्नुपर्ने घाउसमेत झिल्ली हालेर केही समयमै निको भएको छ,’ उनले भने, ‘यसले एकातिर समयको वचत गरेको छ भने अर्कोतिर बिरामीको रकम जोगाइदिएको छ।’
आनन्द वन अस्पतालका निर्देशक डा इन्द्र नापितका अनुसार यो प्रविधिले ७० प्रतिशतभन्दा बढी उपचार खर्च जोगिएको र समय पनि त्यही अनुसार वचत गरेको छ। ‘६ महिनाभन्दा बढी समय लाग्ने उपचार यो विधिले ६ हप्तामै निको बनाइदिएको छ,’ उनले भने, ‘ठूला शल्यक्रिया, दैनिक ड्रेसिङ गर्नुपर्ने वाध्यता, बिरामीको अस्पताल बसाई समेत ह्वात्तै घटाएको छ।’
उनका अनुसार यो विधिमा हप्तामा एक पटक घाउमा नयाँ झिल्ली राखेर ड्रेसिङ गरिन्छ। अहिलेसम्म हेर्दा निकै ठूलो मानिएको घाउ पनि ८ हप्तामा निको भएको छ। जबकि ८ हप्तामा निको भएको उक्त घाउ पुरानो विधि अनुसार ८ महिनाभन्दा बढी समय लाग्थ्यो र खर्च पनि त्यही अनुसार हुन्थ्यो।
डा सुशिल कोइरालाका अनुसार बिरामीको आफ्नै रगत प्रयोग हुने भएकाले यो उपचार विधि निकै सुरक्षित छ। ‘बिरामीकै रगतबाट नयाँ झिल्ली बनाइने भएकाले कुनै किसिमको जाँच गर्नुनपर्ने वा सरुवा रोग तथा संक्रमणको डर रहेन। सबैभन्दा ठूलो कुरा अंग नै गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको छ।’
ड्रेसिङ कक्षमै उपचार, शल्यकक्ष नचाहिने
यो विधिमा सामान्य ड्रेसिङ कक्षमै बिरामीको जटिल घाउको उपचार गर्न सकिन्छ। घाउलाई सफा गरेर त्यसमा रगतबाट बनाइएको झिल्ली मात्र टाँसिने भएकाले शल्यकक्ष नै नचाहिने डा पिन्टो बताउँछन्। ‘उपकरण पनि निकै सानो र सहजै बोक्न मिल्ने आकारको भएकाले ड्रेसिङ कक्षमै यो विधिबाट उपचार हुन्छ,’ उनले भने, ‘महँगा उपकरण, जनशक्ति समेत यसमा लाग्दैन।’ डा पिन्टोका अनुसार यो उपचार तालिमप्राप्त नर्स, एचए तथा अहेबले नै गर्न सक्छन्।