काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति अस्पतालले दिने गुणस्तरीय सेवाका कारण अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको बताएका छन्।
कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। कान्ति अस्पतालको क्षमता बढेमा मात्रै बाल उपचारको क्षेत्रमा सकारात्मक सुधार हुन सक्ने उनको धारणा थियो। सरकारी स्तरबाट सञ्चालित एक मात्रै बाल उपचारको रेफरल सेन्टर भएकोले पनि भिडभाड हुनु स्वभाविक भएको उनको धारणा थियो।
अस्पतालले प्रवाह गर्ने सेवा गुणस्तरीय बनाउन अस्पतालमा कार्यरत्त कर्मचारीहरुकै भूमिका महत्वपूर्ण हुने उनको तर्क छ।
'अस्पतालले थुप्रै चुनौतीका बीच पनि गुणस्तरीय सेवा दिइरहेको छ, त्यसका लागि अस्पतालमा कार्यरत्त सम्पूर्णप्रति सम्मान व्यक्त गर्छु', मन्त्री पौडेलले भने। अस्पतालमा आएका सम्पूर्ण बिरामीहरुलाई कसरी उपचार सेवा दिन सकिन्छ भन्नेमा प्रशासनको ध्यान केन्द्रित हुनुपर्ने तथा त्यसमा सरकारको तर्फबाट सहयोग हुने मन्त्री पौडेलको आश्वासन थियो।
कान्ति अस्पतालप्रतिको आघात विश्वासका कारण आफ्नी छोरीको उपचार समेत कान्ति बाल अस्पतालमा नै गराएको मन्त्री पौडेलले बताए। त्यसकारण कान्ति अस्पतालबारे भइरहेको नकारात्मक हल्लामा सत्यता नभएको मन्त्री पौडेललेको जिकिर थियो।
यद्यपि कान्ति अस्पतालको व्यवस्थापकीय पक्षमा भने केही त्रुटि भएको मन्त्री पौडेलको स्वीकारोक्ति थियो। आवश्यक जनशक्ति, उपकरण, भौतिक पूर्वाधार तथा कर्मचारीको अन्य सरकारी अस्पताल सरह सेवा सुविधा नहुँदा कार्यरत्त जनशक्तिमा नैराश्यताको स्थिती भएकोले त्यसलाई राज्यले सम्बोधन गर्न आवश्यक रहेको उनको धारणा थियो।
कान्तिलाई निकट भविष्यमा स्वास्थ्यकर्मी उत्पादन गर्ने स्थानका रुपमा विकसित गर्ने कार्यको प्रक्रिया समेत थालनी भइसकेको उनले बताए। कान्ति अस्पताललाई बाल रोग अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्न सके धेरै समस्याको समाधान हुने उनको धारणा थियो।