काठमाडौं - गत आर्थिक वर्षमा कान्ति बाल अस्पतालमा २ लाखभन्दा बढी बिरामीले सेवा लिएका छन्। सोमबार कान्तिका ६३ औं वार्षिकोत्सव अवसरका निर्देशक डा पंकज रायले गत आर्थिक वर्ष २०८०/०८१ मा २ लाख ४ हजार २ सय ९९ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिए।
निर्देशक डा रायका अनुसार अस्पतालमा ५१ हजार ८ सय ८६ जना बिरामीले इमर्जेन्सीमा सेवा लिएका छन्। यसैगरी, भर्ना भएर सेवा लिने बिरामी ९ हजार ६ सय ८५ जना छन्। अस्पतालले एक वर्षमा ३ हजार २७६ जनालाई शल्यक्रिया सेवा दिएको छ। जसमध्ये ९८२ जनाको मेजर शल्यक्रिया गरेको छ।
१ हजार १७ जनाको मध्यम शल्यक्रिया र १ हजार २ सय ७८ जनाको माइनर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले डाइग्नोष्टिक सेवाअन्तर्गत ५ लाख ३७ हजार ४३९ ल्याबरोटोरी सेवा, ५१ इन्डोस्कोपी, ११ कोलोनोस्कोपी, ९९ ब्रोनचोस्कोपी, १ हजार ६१० सिटी स्क्यान, ५२ हजार ८५६ एक्सरे, २५ हजार ३५३ युएसजी र १ हजार ४७ इइजी सेवा लिएका छन्। आर्थिक वर्षभरमा ५ करोड ११ लाख ४४ हजार ९०१ रुपैयाँको निःशुल्क सेवा दिएको अस्पतालको तथ्यांकमा उल्लेख छ।