काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले भक्तपुरस्थित नागरिक अस्पतालको आइसियु उद्घाटन गरेका छन्। ह्याम्स अस्पतालले व्यवस्थापन सम्हालेपछि उक्त अस्पतालमा अत्याधुनिक उपकरणयुक्त लेभल-३ आइसियु सञ्चालनमा ल्याएको हो।
उद्घाटन गर्दै मन्त्री पौडेलले अस्पतालले त्यहाँका नागरिकलाई आफ्नो महशुस गराउने कोशिस गर्नुपर्ने बताए। उनले निजी अस्पतालले आमजनका लागि दिनुपर्ने १० प्रतिशत नि:शुल्क सेवा पारदर्शी रुपमा दिने आग्रह गरेका छन्। पाउनेको नाम र फोटो समेत सार्वजनिक गर्दा दुरुपयोग समेत नहुने उल्लेख गरे।
आफू बिमा प्रणाली व्यवस्थित गरेर स्वास्थ्यको पुन:संरचना गर्न लागिपरेको समेत उल्लेख गरे। भर्खरै आफूले बिमाका विषयमा सुझाव दिन गठिन कमिटीको प्रतिवेदन बुझेको बताउँदै त्यहाँ उल्लेख भएका विषय लागु गर्ने विषयमा आफू प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न खोजिरहेको बताए।
ह्याम्स अस्पताल तथा नागरिक अस्पताल अध्यक्ष रामशरण भण्डारीले गुणस्तरीय स्वास्थ्यका लागि आफूले
निजी क्षेत्रबाट सघाइरहेको बताए। निजी क्षेत्रको सेवामाथि प्रश्न उठ्ने विषयमा ग्रेडिङ गरेर हटाउनुपर्ने उल्लेख गरे।
उनले भने, 'अस्पतालको ग्रेडिङ गर्ने नीति सरकारले लिनुपर्छ। बेडका आधारमा अस्पताल छुट्याउने प्रणाली पुरानो भयो। अब दिने सेवाका आधार छुट्याउनुपर्छ। त्यो अनुसार शुल्क पनि सरकारले नै तोकोस्। यसले बिरामी आफू कस्तो अस्पताल गइहेको छु भन्ने प्रस्ट हुन्छ।'
आफू सरकारको सहयोगीका रुपमा रहेको बताउँदै कानुनको अक्षरस पालना गर्ने उल्लेख गरे। आफू नागरिकको निगरानीमा सरकारको नीतिअनुसार चल्नुपर्छ भनेर आइपीओमा गएको समेत उनले उल्लेख गरे।
मध्यपुर थिमी नगरपालिकाका उपमेयर सुरेन्द्र श्रेष्ठले सरकारी अस्पतालले मात्रै नथेगिरहेको अवस्थामा नागरिक अस्पतालले भरथेग गर्ने बताए। उनले थपे, 'नगरपालिकाले नेपाल-कोरिया मैत्री अस्पतालमा आधुनिक उपकरणसहित राम्रो सेवा दिने कोशिस गरिरहेको छ। अस्पतालमा ६ वटा आइसियु छन् तर धान्न सकेको छैन। हामी थप गर्दैछौं। यो अस्पतालले पनि सेवा दिँदा थप सहयोग पुग्नेछ।'
आइसियु विशेषज्ञ डा अर्जुन कार्कीले आइसीयुमा भन्नेबित्तिकै बाँच्दैन भन्ने धारणा रहेको उल्लेख गरे। तर, त्यस्तो नभइ बिरामीलाई उपचार गरेर निको पार्न त्यहाँ राखिने गरेको र धेरै बिरामी निको भएर जाने गरेको बताए। उनले त्यसबारे बताउँदै थपे, 'आइसियुमा हामी त्यस्ता बिरामी राख्छौं, जसको कुन अंगले काम गर्न छाड्ने संकेत गर्छ वा छाडेको हुन्छ। त्यहाँ रहेका उपकरणबाट हस्तक्षेपकारी उपचार गरेर खतरामुक्त बनाइन्छ।'
आइसियुमा उच्चस्तरीय प्रविधि, उपकरण, विज्ञ, दक्ष नर्स र औषधि चाहिने भएकाले महंगो हुनेगरेको बताए। नेपालमा स्वास्थ्य सेवा महंगो हुँदा आमजनलाई अप्ठ्यारो परेको बताउँदै स्वास्थ्य बीमाबाट आत्मनिर्भर बनाउनुपर्ने कुरामा जोड दिए।
अस्पतालका मेडिकल डाइरेक्टर डा कुन्दनसिंह कार्कीले अस्पताललाई अत्याधिनक उपकरणयुक्त बनाइरहेको बताए। उपचार सेवा र उपकरण दुवैका लागि भक्तपुरको पहिलो र उत्कृष्ट बनाउने लक्ष्यमा आफूहरु रहेको जानकारी दिए।
१६ वर्षअघि मुनाल पोलिक्लिनिकबाट अस्पताल सुरु भएको हो। त्यसपछि नागरिक अस्पताल बन्यो। नागरिक अस्पतालका रुपमा तत्कालीन व्यवस्थापनले चलाउन नसकेपछि ह्याम्सले व्यवस्थापन सम्हालेको हो। अहिले नागरिक अस्पतालकै नाममा स्तरोन्नति भइरहेको। ओपिडी, वार्ड र आइसियुको पुन:संरचनाको गरिएको छ।
अस्पताल भवन निर्माणका लागि त्यहीँ नजिकै ८ रोपनी जग्गा लिइएको बताइएको छ। २०० बेडको अस्पताल बनाउने योजना रहेको भण्डारीले बताएका छन्।
सम्बन्धित सामाग्री
बिरामी अस्पताल ब्युँताउने भण्डारी