प्रवास

नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण ‘प्रोजेक्ट’ ल्याउन प्रतिबद्ध छौं

 

नर्थ अमेरिकामा रही नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न इच्छुक वर्गको साझा संस्था हो, अमेरिका नेपाल मेडिकल फाउन्डेसन। फाउन्डेसनको तीन महिनाअघि भएको २२औं सम्मेलनले डा सन्तोष सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो। कास्की स्थायी घर भएका डा सापकोटा १३ वर्षअघि सन् २००५ मा अमेरिका गएका हुन्। फाउन्डेसनका नवनिर्वाचित अध्यक्ष डा सापकोटासँग फाउन्डेसन र नेपालमा भइरहेका तथा भविष्यमा आउन सक्ने सहयोग लगायत स्वास्थ्यका विषयमा प्रवीण ढकालले गरेको कुराकानी :

अमेरिका नेपाल मेडिकल फाउन्डेसन कस्तो संस्था हो ?
यो एक गैरनाफामूलक सामाजिक संस्था हो। सन् १९९७ मा नेपाली डाक्टरहरूको प्रयास र नेपाललाई माया गर्ने अमेरिकी डाक्टरहरूको पहलमा यो संस्था स्थापना भएको हो। यो संस्था न्युयोर्कमा दर्ता भएको छ। नर्थ अमेरिकामा बसोबास गर्ने नेपालीहरू सधैं नेपालमा सहयोग गर्न चाहन्छन्। व्यक्तिगत रूपमा हुने सहयोगले ठूला योजना तथा काम गर्न सम्भव थिएन। एकीकृत रूपमा सहयोग गर्दा अझ प्रभावकारी हुन्छ भनेर नै यो संस्था बनाइएको हो। पछि सन् २००० मा अमेरिका नेपाल चिकित्सक प्रतिष्ठान (एएनएमएफ–नेपाल) को पनि स्थापना भयो। एएनएमएफ युएसएले अमेरिकामा बसेका साथीहरुबाट विभिन्न रुपमा सहयोगहरु संकलन गरेर नेपालमा सहयोग गरिरहेका छन्। त्यसको कार्यान्वयन गर्ने काम भने एएनएमएफ नेपालले गरिरहेको छ। एएनएमएफ नेपालको सुरुको नेतृत्व डा प्रतिभा पाण्डे, डा भगवान कोइरालाले गर्नुभएको थियो। सन् २०१५ देखि ०१७ सम्म डा ज्योती भट्टराई नेतृत्वमा हुनुहुन्थ्यो। अहिले यसको नेतृत्वमा डा सुवास आचार्य हुनुहुन्छ।
हाम्रो संस्थाको अहिलको उचाइ र गरिमा हुनुमा एएनएमएफ नेपालका साथीहरूको सुझाव, सल्लाह र मार्गदर्शनको ठूलो भूमिका छ। हामी दुवै संस्था मिलेर काम गरिरहेका छौं र दुवैको मुख्य उद्देश्य नै नेपालका स्वास्थ्य क्षेत्रको विस्तार गर्नु हो।  

अध्यक्षमा निर्वाचित भएपछि यहाँले आफ्नो कार्यकालमा केके काम गर्ने योजना बनाउनुभएको छ ?
डाक्टरहरू नेपालबाट अमेरिकामा आउने क्रम जारी छ। त्यसकारण हामीले यसको सदस्यता बढाउने विषयमा काम अगाडि बढाइरहेका छौं। संस्थामा सदस्यता बढ्दै जाँदा फाउन्डेसनको कोषमा रकमसमेत वृद्धि हुन्छ। कोषमा जति धेरै बजेट हुन्छ, नेपालको स्वास्थ्य क्षेत्रमा त्यति नै ठूलो परियोजनामा काम गर्न सकिन्छ। त्यसकारण मेरो जोड कोषको बजेट बढाउनेमा छ। अहिले फाउन्डेसनसँग एक लाख डलरभन्दा माथि रकम छ। यो रकमसँगै नेपालको स्वास्थ्य क्षेत्रमा कुनै ठूलो प्रोजेक्टमा काम गर्न सक्ने आँट आएको छ। विगतमा सानासाना काम हुन्थ्ये। तर, अब हाम्रो जोड नेपालमा राम्रोसँग नतिजा देखिने खालको ठूलो काम गर्नेमा नै छ। यसका लागि सदस्यहरूसँग मात्र रकम उठाउने काम नभई अमेरिकाका ठूला व्यापारिक संघसंस्थासँग पनि हामीले सहयोगको प्रस्ताव लैजाने योजना बनाएका छौं। यसको गृहकार्य सुरु भइसकेको छ।

फाउन्डेसनले नेपालमा के कस्ता सहयोग गरेको छ ?
फाउन्डेसनले अहिलेसम्म २ सय २३ वटा प्रोजेक्टमा सहयोग गरिसकेको छ। तर, फाउन्डेसनको सबैभन्दा प्रमुख काम भनेको ‘मेडिकल एजुकेसन’ र ‘नलेज सेयरिङ’ नै हो। नेपालमा कार्यरत केही डाक्टरहरूलाई अमेरिका, क्यानडा लगायतका देशमा लगेर तालिम तथा प्रविधिको विषयमा जानकारी दिने काम भइरहेको छ। गत वर्ष मात्र हामीले चार जनालाई अमेरिकामा विभिन्न विषयको तालिममा सहभागी गराएका थियौं। यसका साथै, हामीले नेपालमा तीन वर्षअघि गएको विनाशकारी भूकम्पमा ठूलो सहयोग ग¥यौं। त्यतिबेला हामीले स्वास्थ्य संस्था निर्माण गर्नेदेखि प्राविधिक सहयोग गर्नेसम्मका काम गरेका छौं। बाढीपीडित तथा अन्य प्राकृतिक प्रकोपमा परेकाहरूलाई सहयोग गर्ने काम पनि भइरहेको छ। नेपालका सरकारी तथा सामुदायिक अस्पतालमा पनि फाउन्डेसनले सहयोग गर्दै आइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा फाउन्डेसनको सहयोगमा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ। वीर अस्पतालमा टेलिमेडिसिन÷कन्सलटेसन युनिट बनाउन सहयोग भएको छ। अब त्यहाँबाट सोझै अमेरिकाका प्राध्यापकसँग अध्ययनको अवसर पाउने भएका छन्। यो सेवालाई हामीले काठमाडौं बाहिरका सरकारी संस्थामा पनि लैजाने योजना बनाएका छौं। यसका साथै फाउन्डेसनले नेपालका फिजिसियनहरूको सम्मेलनमा उत्कृष्ट कार्यपत्र प्रस्तुत गर्नेलाई एएनएमफ बेस्ट प्रिजेन्टेसन अवार्ड र नगद २० हजार पनि दिने भएका छौं।

नेपाललाई ठूलो परियोजनामा सहयोग गर्ने कुरा छ भन्नुभयो। त्यस्तो कुन परियोजना हो ?
हालसालै दाङमा हेल्थ फाउन्डेसन नेपालले निर्माण गर्न लागेको मानसिक रोग निवारण केन्द्रका लागि ६० लाख बराबरको आर्थिक सहयोग गर्ने निर्णय भएको छ। छिट्टै नै नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन (एनसिसिडिएफ) सँग सहकार्य गरेर सिम सेन्टरको काम सुरु गरिनेछ। यसबाट नेपालमा सिपिआर, एएलएस, बिएलएस जस्ता विषयमा गुणस्तर तालिम दिइनेछ। हामीले विगतमा गरिरहेका नियमित कामहरू निरन्तर नै छ। तर, बजेट अनुसारको अरू ठूला परियोजना के गर्ने भन्ने विषयमा छलफलको क्रममा नै छौं। नेपालमा कार्यरत एएनएमएफ नेपालका साथीहरू सहित सबैको सल्लाह र सुझावपछि सही आवश्यकता पहिचान गरेर हामी काम अगाडि बढाउँछौं। मे १० देखि १२ मा वासिङ्टन डिसीमा हुने सम्मेलनमा पनि भविष्यमा गरिने योजनामा छलफल हुनेछ। 

अध्यक्षको जिम्मेवारी सम्हालेपछि के कस्ता चुनौतीको सामना गर्नुपरिरहेको छ ?
फाउन्डेसनको अध्यक्ष निर्वाचित हुनुभन्दा पहिल म उपाध्यक्ष थिएँ। फाउन्डेसनमा म सक्रिय रूपमा रहेका कारण त्यति धेरै चुनौतीको सामना गर्नुपरेको छैन। यो व्यक्तिगतभन्दा पनि टिम वर्क नै हो। सबै साथीहरूले सहयोग गरिरहनुभएको छ। तर, नेतृत्वमा आइसकेपछि सबै कुरामा जिम्मेवार हुनैपर्छ। संस्थाको अध्यक्षका रूपमा धेरै संघसंस्थाले बोलाइरहेका हुन्छन्। तर, सबैमा पुग्न पनि समस्या हुने रहेछ। हामीले टिम बनाएर काम गरिरहेका कारण त्यस्तो चुनौतीको महसुस भएको छैन।

अमेरिकामा अहिले कति नेपाली डाक्टर छन् ? के ती सबै फाउन्डेसनमा आउन सकेका छन् त ?
अमेरिकामा नेपाली डाक्टर कति छन् भन्ने यकिन तथ्यांक त छैन तर यहाँ अहिले करिब एक हजारभन्दा बढी नेपाली डाक्टर छन् भन्ने हाम्रो अनुमान छ। यहाँ भएका डाक्टरमध्ये धेरैजसो रेजिडेन्ट र फेलो पनि छन्। त्यसकारण उनीहरू सबै संस्थामा आइसकेको अवस्था छैन। अहिले फाउन्डेसनमा दुई सयको हाराहारीमा सदस्यहरू छन्। फाउन्डेसनको हरेक सम्मेलनमा ३० देखि ४० जना नयाँ सदस्य थपिन्छन्। त्यसकारण फाउन्डेसनमा आउनेहरूको संख्या बढिरहेको छ। 

नेपालका स्वास्थ्य संस्थाहरूको चाहना अनुसार फाउन्डेसनले सहयोग गर्न सकिरहेको छ जस्तो लाग्छ ?
फाउन्डेसनको २२ वर्षसम्मको काम र सहयोग हेर्दा सन्तोषजनक रूपमा नै सहयोग भइरहेको छ। वीर, त्रिवि शिक्षण, धुलिखेल, पाटन लगायतका अस्पतालले चाहना गरे अनुसारकै सहयोग भइरहेको छ। तर, हामीले काठमाडौं उपत्यकाबाहिर भने त्यति सहयोग गर्न सकिरहेका छैनौं। त्यसकारण यो वर्षदेखि हामीले काठमाडौं बाहिरका संस्थामा पनि सहयोग गर्ने योजना बनाइसकेका छौं। काठमाडौंसहित बाहिरका सरकारी स्वास्थ्य संस्थामा हामीले गर्ने सहयोगका विषयमा छलफल चलिरहेको छ।

नेपालबाट अमेरिकामा जान चाहने डाक्टरहरूलाई के सुझाव दिनुहुन्छ ?
केही वर्षयता नेपाली डाक्टरहरू अमेरिका आउने क्रम जारी छ। उनीहरू सबै यहाँका विषयमा धेरै बुझेर नै आइरहेका छन्। तर, अमेरिकाको बसाइ त्यति सहज भने छैन।  नेपाल गरिब देश भएकाले आफूलाई अध्ययनको अवसर दिनुपर्ने भन्दा पनि आफू अध्ययनका लागि योग्य छु, राम्रो डाक्टर बन्ने खुबी छ र मेहनती एवं जिम्मेवार पनि छु भन्ने लगायतका कुरा समेटेर पर्सनल स्टेटमेन्ट लेख्नेले र अन्तर्वार्तामा दृढसँग आफ्ना कुरा राख्न सक्नेले अवसर पाइरहेका छन्। त्यसकारण यतातिर सचेत हुनुपर्छ। 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने