डा प्रमोद शर्मा हाल अमेरिकामा हस्पिटल मेडिसिन फिजिसियनका रुपमा कार्यरत छन्। काठमाडौं मुलपानीमा जन्मेका डा शर्माले काठमाडौं विश्वविद्यालय अन्तर्गत कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट एमबिबिएस अध्ययन गरेका हुन्। अमेरिका जानुअघि उनले शहीद गंगालाल हृदय केन्द्र, वीर अस्पताल लगायतमा काम गरेका छन्। अमेरिकाबाट नेपाल आएको समयमा डा शर्माले स्वास्थ्य खबरपित्रकासँग आफ्नो अनुभव साटेका छन्। प्रस्तुत छ, नेपाल र अमेरिकाको अनुभव उनकै शब्दमाः
मैले २०५० सालमा भानुभक्त मेमोरियल विद्यालयबाट एसएलसी पास गरेको हुँ। आइएस्सी भने विश्व निकेतनबाट गरेँ। त्यसपछि चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसबाट सन् २००१-२००२ मा एमबीबीएस गरेँ। एमबीबीएसपछि मैले गंगालालमा डा भगवान कोइरालासँग काम गरेँ। दुई वर्षभन्दा बढी काम गरेपछि म वीर अस्पतालमा आएँ। मलाई त्यतिबेला सर्जन नै बन्छु भन्ने थियो। जनरल सर्जरी पनि सिकौँ भनेर वीरमा आएको हुँ। सर्जनमा पनि कार्डियाक सर्जरी नै गर्छु भन्ने थियो। जनरल सर्जरी वीरमा सिकेँ अनि एक वर्षजति वीरमै काम गरेँ।
मेरो बाहिर जाने सोच नै थिएन। यहीँ निजी अभ्यास पनि गर्थेँ। अस्पताल बनाउने भन्ने सोच थियो। दर्ता पनि गरेको थिएँ। तर त्यही समयमा मेरो श्रीमतीको डिभी पर्यो। श्रीमतीलाई डिभी परेपछि धेरैले मलाई यो त राम्रो अवसर हो, भाग्यले त्यतै डोर्याएको रहेछ जस्ता कुराहरु गरेर सम्झाउनुभयो। अनि बल्ल म अमेरिका जाने निधोमा पुगेको हुँ।
अमेरिका गएपछि टेक्सस टेक युनिभर्सिटीबाट फेमेली मेडिसिनमा रेजिडेन्सी गरेँ। त्यसपछि हस्पिटल मेडिसिन फिजिसियनका रुपमा अहिले १० वर्षभन्दा बढी भयो काम गरिरहेको छु। नेपालमा हुँदा निकै मिहिनेत गरेर एउटा पोजिसन बनाएका थियौँ। क्लिनिक थियो। नाम थियो। विश्वास थियो। इज्जत थियो। हाम्रो क्लिनिक निकै व्यस्त थियो। तर अमेरिका पुगेपछि म शून्य भएँ भन्ने फिल भयो। किनभने, मैले त्यहाँ सबै कुरा सुरुबाटै गर्नुपर्ने थियो। त्यहाँ मेरो डिग्री तबसम्म भ्यालिड छैन, जब मैले पोस्ट ग्राजुयट गर्दिनँ भन्ने फिल भयो।
यूएसएमएलई परीक्षा दिएर पनि पास गरेर पनि त्यहाँ भ्यालु छैन, जबसम्म हामीले रेजिडेन्सी पाउँदैनौं। हामी मेडिकल ग्राजुयट भए पनि इक्युभ्यालेन्ट नहुँदा काम गर्न सक्दैनथ्यौं। म त कुनै योजना नै नबनाई गएको थिएँ। म जाँदा जम्मा तीन महिनाको छोरा थियो। यूएसएमएलई पनि नगरेको अनि तीन महिनाको काखे छोरा। काम खोजेर सबै गर्न निकै गाह्रो थियो। फलामको ढोका जस्तै थियो अवस्था। त्यसकारण पहिलो साढे तीन वर्ष मेरो निकै स्ट्रगलको समय भयो। धेरै मिहिनेत गर्नुपरेको थियो। संघर्ष निकै नै गरियो, त्यो समय।
त्यहाँ गएपछि त जसरी पनि बस्नुपर्यो, टिक्नुपर्यो भन्ने थियो। सर्भाइभल फर द फिटेस्ट भने जस्तै। संयोगले मैले त्यहाँ सर्जिकल असिस्टेन्ट भन्ने एउटा प्रोगममा पाएँ। नेपालको डिग्रीले त्यो सर्जिकल एसिस्टेन्ट गर्न पाइने रहेछ। नेपालमा गरेको कामको अनुभवले पनि सहयोग मिल्यो। जाँच पास गरिहाँले। त्यहाँ बेरियाट्रिक सर्जरी, एड्भान्स ल्याप्रोस्कोपिक सर्जरी गर्ने एउटा समूह थियो। उनीहरुलाई अप्रेसन असिस्ट गर्ने काम गरेँ। हुँदाहुँदा उनीहरुले मलाई यति धेरै विश्वास गर्न थाले कि, शल्यक्रियाका लागि काट्नुपर्ने स्थान खोल्न र बन्द गर्नसमेत मलाई भन्न थाले। नेपालमा रहँदा नै शल्यक्रिया गरिरहेको थिएँ त्यसले धेरै सहयोग मिल्यो। म सन् २००६ मा अमेरिका गएको हुँ। त्यो मैले गरेको एक प्रकारको फेलोसिप नै हो। ल्याप्रोस्कोपीमै धेरै अनुभव गरेँ। त्यहाँ गएर सर्जरी गरेँ।
अनि त्यागेँ सर्जरी पढ्ने योजना
अमेरिका पुगेर पनि सर्जरी नै गर्छु भन्ने सोचेको थिएँ। त्यहीअनुसार अप्लाई गरेँ। तर त्यहाँ सर्जरी गर्न गाह्रो रहेछ। हामी विदेशीलाई निकै समस्या पर्ने रहेछ। प्रिलिमरी पोजिसन पाएँ एउटा तर त्यसमा पनि समस्या हुने रहेछ। त्यो लिइयो भने पेन्डुलम हुने खतरा रहेछ। कतै जान गाह्रो हुन्छ बरु नलिनु भनेर त्यहाँकै प्रोफेसर र साथीहरुले नै सुझाव दिए। त्यसपछि मैल मैले सर्जरी पढ्ने योजना त्यागेँ। त्यसपछि सर्जरी पनि अलिअलि मिल्ने भनेर फ्यामेली मेडिसिन विषय पढेँ।
काम गर्दा नेपालमै यस्तो भए भन्ने लाग्ने रहेछ
हामी विदेशमा बस्ने सबैले त्यहाँकै जस्तै सिस्टम नेपालमा भए भन्ने लाग्छ। त्यहाँ हरेक कुरा सिस्टममा छ। चेक एन्ड ब्यालेन्स छ। अमेरिकाकै जस्तो सबै कुरा नभए पनि नेपालले स्वास्थ्य क्षेत्रमा धेरै सुधार गरेको छ। त्यो राम्रो कुरा हो। तर पनि केही कुरा भने नेपालले पनि लागू गर्ने हो भने बिरामीले गुणस्तरीय सेवा पाउने थिए। उदाहरणका लागि सेप्सिसको बिरामी आकस्मिक कक्षमा आयो भने त्यसलाई के गर्ने भन्ने विषय नेपालमा ड्युटीमा रहेका व्यक्तिमा भर पर्छ। आकस्मिक कक्षमा एउटा स्मार्ट डाक्टर छ भने उसले सोहीअनुसार प्रक्रिया अगाडि बढाउँछ। तर अर्को भर्खरै आएको छ भने उसले नगर्न सक्छ। किनकी, त्यसका लागि प्रोपर गाइडलाइन नै छैन। के गर्नुपर्छ अन्योल हुन्छ।
त्यही कुरा अमेरिकामा भने एउटा प्रोटोकल र स्ट्यान्डर्डअनुसार भइहाल्छ। व्यक्ति जो भए पनि उक्त सिस्टमले तुरुन्तै काम गर्छ। सेप्सिसकै बिरामी आएको छ भने त्यहाँ सेप्सिस अलर्ट भनेर अस्पतालभरि टाइमर सुरु हुन्छ। गाइडलाइनअनुसार यति मिनेट भित्र उसको स्लाइन दिइसक्नुपर्ने, यति मिनेट भित्र शरीरमा यति मात्रामा फ्लुड गइसकेको हुनुपर्छ, यति मिनेट भित्र ल्याबको मानिस आएर रगतलगायत आवश्यक कुराको नमुना लगिसकेको हुनुपर्छ। यति मिनेटभित्र रिपोर्ट आइसक्नुपर्छ, यति मिनेटमा डाक्टरले एन्टिबायोटिक्स दिइसकेको हुनुपर्छ, नर्सले त्यहीअनुसार अन्य प्रक्रिया गरेको हुनुपर्छलगायत सबैको समय हुन्छ। त्यहीअनुसार काम पनि हुन्छ।
दुई घन्टाको गोल्डेन पिरियड हुन्छ। त्यो समय भित्र त्यो बिरामीलाई गर्नुपर्ने सेप्सिस बन्डल लगायतका सबै काम गरिसकेको हुनुपर्छ। त्यस्ता कुराहरु नेपालमा ल्याएर गर्न सकियो भने निकै राम्रो हुन्छ। क्वालिटी अफ केयर बेटर हुन्छ। त्यसले बिरामीको सेवाको गुणस्तर बढाउँछ। किनकी, डाक्टरले मात्रै उपचार गरेर बिरामी निको हुने होइन। यो त टिमवर्क हो। डाक्टर, नर्सदेखि बेड मिलाउने मान्छेसम्मको भूमिका हुन्छ।
मल्टीडीसीप्लेनरी राउण्डको व्यवस्था
अमेरिकामा केस म्यानेजमेन्ट भन्ने हुन्छ। बिरामीलाई घर पठाउँदा के गर्ने, बिरामीलाई के आवश्यक छ, सोसल सभिर्स, फार्मेसी लगायतका कुरा हुन्छन्। एमडीआर (मल्टिडिसिप्लेनरी राउण्ड) मा डाक्टर महत्वपूर्ण हुन्छ। म डाक्टर भएँ र मैले बिरामी हेर्नु छ। अरु मलाई सहयोग गर्नेहरु हुन्छन्। जस्तो नर्सिङ इन्चार्ज हुन्छन्। हरेक बिरामीमा नर्स, फार्मेसिस्ट, फिजिकल थेरापिस्टहरुको महत्वपूर्ण भूमिका हुन्छ। त्यहाँ केस म्यानेजमेन्ट हुन्छ, घर पठाउँदा बिरामीलाई के चाहिन्छ भन्ने कुराहरु त्यसले हेर्छ।
एमडीआर अन्तर्गत हरेक दिन बिहान अस्पतालमा हेर्नुपर्ने बिरामीको लिस्ट प्रिन्ट भइसकेको हुन्छ। त्यहाँ हामीले आफ्नो बिरामी सरर हेर्छौं। कुन बिरामी अलि जटिल छ, उसैलाई अलि प्राथमिकतामा राखिन्छ। त्यसपछि केमा के गर्ने भनेर हामीले पहिल्यै सोचेर गएका हुन्छौं। बिहान म ७ बजे अस्पताल पुगेको हुन्छु भने १० बजे एमडीआर हुन्छ। अमेरिकामा एमडीआर गर्ने धेरै तरिका छन्। कोही रूममै गएर गर्ने पनि छ।
नेपालमा जस्तो अमेरिकामा धेरै प्रेसर लिएर काम गर्नु पर्दैन। फार्मेसिस्ट, नर्सहरुको धेरै सहयोग हुन्छ। यदि कुनै बिरामीलाई घर पठाउनुपर्यो भने ऊ हिँड्न सक्छ या सक्दैन, उसको घरको अवस्था के छ, कति भर्याङ छन्, चढ्न सक्छ या सक्दैन भनेर पुष्टि गरेर मात्रै घर पठाउने गरिन्छ। यदि बिरामीको घरमा भर्याङ छ र बिरामी हिँड्न सक्दैन भने उसको अर्को विकल्प नभएसम्म या उसलाई निको नभएसम्म बिरामीलाई घर पठाइँदैन।
बिरामी भर्ना भएदेखि घर फर्किएपछि पनि फेरि अस्पताल फर्किने अवस्था नआओस् भन्ने हिसाबले काम गरिन्छ। बिरामीले आफ्नो ख्याल राख्न सक्ने या परिवारको साथ नभएसम्म घर पठाईँदैन। यदि घरमा साथ दिने कोही छैन भने होम हेल्थ अर्थात् नर्सहरु घरमै पठाएर औषधि व्यवस्थापन गर्नेदेखि लिएर ओछ्यानबाट उठाएर हिँडाउनेदेखि नुहाइदिने, खुवाइदिने लगायतका सबै व्यवस्था बिरामी भर्ना भएकै दिनदेखि मिलाइन्छ। एमडीआरले बिरामी हेर्ने बित्तिकै उसलाई के आवश्यक छ भन्ने कुरा थाहा पाइसकेको हुन्छ।
सोसल सर्भिस र प्यासेन्ट एड्भोकेटको व्यवस्था
अस्पतालहरुमा सोसल सर्भिस र प्यासेन्ट एड्भोकेट भन्ने पनि अर्को महत्वपूर्ण पक्ष छ। यदि बिरामीको इन्सुरेन्स छैन भने इमर्जेन्सी मेडिकेट भन्ने कुराहरु हुन्छन्। त्यस्तो अवस्थामा त्यो लागू गरिदिने काम सोसल सर्भिसको हुन्छ। बिरामीको आर्थिक अवस्था कमजोर छ भने त्यसको व्यवस्थापन गर्ने काम गर्छ। नेपालमा बिरामी र डाक्टरको मतभेदका कुराहरु आइरहन्छ। अमेरिकामा चाहिँ त्यो समस्याको लागि प्यासेन्ट एड्भोकेट भन्ने छुट्टै विभाग छ।
मानौं कुनै बिरामीले आफूलाई नर्सले हिंसा गर्यो भनेर डाक्टरलाई गुनासो ग¥यो भने डाक्टरले प्यासेन्ट एड्भोकेटलाई सम्पर्क गराइदिन्छ। उक्त विभागले यस्तो अवस्थामा नर्स र बिरामी दुवैसँग कुरा गर्छ। सबै कुराकानी लेखनमा हुन्छ। त्यसपछि उनीहरुले डाक्टरलाई पनि बोलाउँछन् र नर्सको गल्ती रहेछ भने उसलाई कारबाही गर्छन् र बिरामीको रहेछ भने बिरामीलाई सम्झाउँछन्।
अमेरिकामा बिरामीलाई कुनै डाक्टर मन परे भने म यो डाक्टरलाई देखाउँदिन भन्न पाइन्छ। त्यस्तै डाक्टरले पनि कुनै बिरामीलाई म हेर्दिनँ भन्न सक्छ। तर डाक्टरले बिरामी हेर्दिनँ मात्रै भनेर हुँदैन, अर्को डाक्टरको जिम्मा लगाउनुपर्छ। नेपालमा चाहिँ सानो कुरा चित्त बुझेन भने डाक्टरलाई कुटपिट नै गरेको पाइन्छ। तर अमेरिकामा त्यस्तो हुँदैन।
बिरामीको समस्या बिरामीलाई थाहा दिऊँ
नेपालमा एउटा अर्को चलन छ, बिरामीलाई भएको समस्या बिरामीलाई नै थाहा नदिने। तर अमेरिकामा त्यस्तो हुँदैन। अमेरिकामा सबैभन्दा पहिला बिरामीलाई भनेर बिरामीका अनुसार उसको परिवारको कसलाई भन्ने/नभन्ने तय गरिन्छ। अमेरिकामा बिरामीलाई मज्जाले समय खर्चेर नै कुराकानी गरिन्छ। मानौं, एउटा बिरामीलाई क्यान्सर पहिचान भयो, हामी सुरुमा बिरामीलाई गएर तपाईंलाई यस्तो भएको छ भन्छौं र उसले कसलाई बोलाउन चाहन्छ सोध्छौँ। त्यसपछि उसले कस–कसलाई बोलाउने भन्छ ती मानिसहरुसँग पनि डाक्टरले भेट्छन्। म चाहिँ त्यस्तो अवस्थामा बिरामीलाई हेरिरहेको नर्सलाई पनि सँगै लैजाने गर्छु। मैले गरेको कुरा नर्सले नोट गरिरहेको हुन्छ। त्यो हुँदा हामीले बिरामीको परिवारसँग के कुरा गरिन्छ स्पष्ट हुन्छ।
नेपालमा चाहिँ बिरामीलाई सबै समस्याको बारेमा नसुनाउने हो भने तनाव कम हुन्छ र बिरामी छिटो निको हुन्छ भन्ने चलन छ। तर त्यस्तो होइन। समस्या त आएपछि आयो नि ! केही हप्ता तनाव होला तर बिरामीले आफूले गर्न मन लागेको काम गर्न सक्छ, बाँकी भएका रहर पूरा गर्न सक्छ। उसले चाहेको कुरा गर्न सक्छ।
नेपालमा यस्तै सिस्टम लागू गर्न त्यहाँको जस्तो धेरै स्रोतको आवश्यक हुँदैन। जस्तो सेप्सिस प्रोटोकलको कुरा गर्ने हो भने पनि धेरै कुरा आवश्यक हुँदैन। ट्र्याकिङ सिस्टम चाहिँ चाहिन्छ। काम गर्ने त त्यही नर्स, डाक्टर या अन्य स्वास्थ्यकर्मीले हो। सबैभन्दा महत्वपूर्ण कुरा इएमआर हुनुपर्छ। मानौं मैले १० बजे बिरामीलाई कुनै औषधि चलाएको छु र नर्सले ११ः३० मा त्यही औषधि बिरामीलाई दिनुपर्ने तर दिएको छैन या दिएर पनि डकुमेन्ट गराएको छैन भने केही काम लाग्दैन। त्यसकारण ट्र्याकिङ सिस्टम हुनुपर्छ। सिस्टम बस्यो भने धेरै स्रोत र साधनको आवश्यक नै हुँदैन। डाक्टर र नर्स मिलेर बिरामीलाई अलिक समय दिने हो भने पनि सेवाको गुणस्तर बढ्छ।
नेपालमा सहयोग
देश छाडेर गएपछि देशको माया निकै लाग्दो रहेछ। हामी सधैं नेपाललाई कसरी सहयोग गर्ने भनेर सोचिरहेका हुन्छौं। हामीले ‘इम्प्याक्ट नेपाल’ भन्ने संस्था चलाइरहेको छौँ। उक्त संस्थाको अध्यक्ष म आफैं छु। हामीले अहिले अमेरिकामा रहनुभएका नेपालीहरु जसको इन्सुरेन्स छैन, उहाँहरुको लागि काम गरिरहेका छौँ। उहाँहरुको लागि हामीले हरेक महिना फ्री हेल्थ क्याम्पहरु गरिरहेका छौँ। एकदमै कम रकममा ल्याबसम्बन्धी सबै परीक्षण गराइरहेका छौँ। यो गैरनाफामुलक संस्था हो।
कोभिडको समयमा हामीले बिरामीको लागि हटलाइन सेवा सञ्चालन गरेर डाक्टरहरुलाई आफ्नो जिज्ञासा राख्न मिल्ने व्यवस्था गरेका थियौं। नेपालमा पनि हामीले कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा काम गरिरहेका छौँ, योजना बनाइरहेका छौँ। जबसम्म मनमा नेपाल छ, तबसम्म अमेरिका या नेपाल जहाँ बसे पनि केही फरक नपर्ने रहेछ। त्यसकारण नेपालको लागि काम गर्नेछौँ।