विलियमस्पोर्ट- पृथ्वी दिवस, प्रकृतिलाई जोगाउने विषय मात्र होइन, स्वच्छ हावाबाट फोक्सोका रोगहरूबाट जोगिन पनि हो।
वायु गुणस्तरसँग ‘हरित’ दृष्टिकोण अपनाउनु भनेको केवल वातावरण र पारिस्थितिको तन्त्रको रक्षा गर्नु मात्र होइन, यो हाम्रो फोक्सोलाई रोगबाट जोगाउने विषय पनि हो।
यूपीएमसीका पल्मोनोलोजिस्ट डा शरद ओलीका अनुसार, हामीले सास फेर्ने हावाको गुणस्तर सिधै हाम्रो श्वासप्रश्वास स्वास्थ्यसँग सम्बन्धित छ। वातावरणीय प्रदूषण, एलर्जीजन्य कणहरू र विषालु पदार्थहरूका कारण दम, दीर्घकालीन अवरोधक फुफ्फुसीय रोग (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज) र फोक्सोको क्यान्सर जस्ता रोगहरू निम्तन सक्छन्।
‘हरेक दिन हामी झन् झन् खराब हावाको गुणस्तरसँग जुधिरहेका छौं, र त्यसैसँगै यस समस्याबाट पीडित बिरामीहरूको संख्या पनि बढ्दो छ,’ डा ओलीले भने। हामीले दैनिक सास फेर्ने हावा र फोक्सो स्वास्थ्यबीचको सम्बन्ध निकै घनिष्ट छ। धूम्रपान नगर्ने बिरामीहरूमा समेत श्वासप्रश्वास सम्बन्धी समस्याहरू बढेको हामी देखिरहेका छौं।
डा ओलीका अनुसार, अनुसन्धानहरूबाट देखिएको छ- प्रदूषकहरूसँग लामो समयको सम्पर्कले डीएनएमा असर पुर्याउँछ र कहिल्यै धूम्रपान नगरेको व्यक्तिमा समेत फोक्सोको क्यान्सर हुने जोखिम बढाउँछ। विश्व स्वास्थ्य संगठनका अनुसार, हावा प्रदूषणका कारण विश्वभर वार्षिक लाखौं मानिसको मृत्यु हुने गर्छ।
विश्व स्वास्थ्य संगठन अनुसार वायु प्रदूषण भन्नाले ‘कुनै रासायनिक, भौतिक वा जैविक तत्वद्वारा भित्री वा बाहिरी वातावरणको प्राकृतिक गुणस्तरमा परिवर्तन ल्याउने प्रदूषण’लाई जनाइन्छ। यस्तो प्रदूषणले घरभित्रै मात्र करिब २.४ अर्ब मानिसहरूलाई असर गर्ने गरेको बताइएको छ। घरभित्र र बाहिरको वायु प्रदूषणको संयुक्त प्रभावले विश्वभर वर्षेनी ७० लाख असामयिक मृत्युको कारण बनिरहेको छ। डा ओलीले थपे, ‘यसैले घर बाहिर र घरभित्रै पनि वायुको गुणस्तरप्रति मानिसहरू सतर्क र सचेत हुनुपर्छ। वायु प्रदूषणमा विभिन्न प्रकारका कणहरू समावेश हुन्छन्। तीमध्ये सबैभन्दा सामान्य कण भनेको कणीय पदार्थ (पार्टीकुलेट म्याटर) हो।' यस्ता सूक्ष्म कणहरू फोक्सोको गहिरो भागसम्म पुगेर सूजन गराउँछन् र फोक्सोको कार्यक्षमता घटाउँछन्।
'सवारी साधनबाट निस्कने नाइट्रोजन डाइअक्साइड र ओजोन, धुलो, पोलिन, डस्ट माइट्स र मोल्ड जस्ता एलर्जनहरूले श्वास नलीमा जलन पैदा गर्छन् र पहिलेदेखि भएका रोगहरू झनै बढाउँछन्, जसले गर्दा फोक्सोको कार्यक्षमता घट्ने गर्छ। ‘यसैगरी, चुरोट सेवन सक्रिय रूपमा होस् या निष्क्रिय रूपमा, फोक्सोलाई क्षति पुर्याउँछ र त्यसको कार्यक्षमता घटाउँछ,’ डा ओलीले बताए।
यी समस्या सबै उमेर समूहमा देखिन्छन्, तर बालबालिका र वृद्धहरू बढी जोखिममा हुन्छन्।
समाधान के त?
डा ओलीले भन्छन्, ‘हामीले भित्री र बाहिरी दुवै हावाको गुणस्तर सुधार गर्न आवश्यक छ। प्रदूषकको सम्पर्क घटाउनु, सार्वजनिक सवारी प्रयोग गर्नु, विद्युतीय वा इन्धन-दक्ष सवारी खरिद गर्नु, वृक्षारोपण गर्नु, उद्योगबाट निस्कने प्रदूषणमा नियन्त्रण गर्नु, र स्वच्छ ऊर्जाको प्रयोग गर्नु प्रभावकारी उपायहरू हुन्।'
घरभित्रको हावाको गुणस्तर सुधार गर्न उनले एयर प्युरीफायर, विशेषतः हेपा (उच्च-दक्षता कण वायु) प्रयोग गर्न सल्लाह दिएका छन्। यी फिल्टरहरूले धुलो, पोलिन र अन्य हावामा रहेका कणहरू हटाउन मद्दत गर्छन्।
‘धूम्रपान नगर्नु, भेन्टिलेसन सुधार गर्नु र रसायन जन्य सफाइ सामग्रीको प्रयोग घटाउनु पनि महत्वपूर्ण छ,’ ओलीले भने, ‘अरू एक महत्वपूर्ण कुरा भनेको ह्युमिडिटी नियन्त्रण गर्नु हो। अत्यधिक आर्द्रता वा अत्यधिक सुक्खा वातावरणले पनि समस्या ल्याउँछ। ३०-५० प्रतिशत ह्युमिडिटी राख्न सकेमा फोक्सो रोगहरूबाट जोगिन सकिन्छ।'
डा शरद ओलीका बारेमा
चितवन नेपालबाट र हाल पेनसिल्भेनिया, अमेरिकामा कार्यरत पल्मोनरी तथा क्रिटिकल केयर (छातिरोग तथा सघन उपचार) चिकित्सक हुन्, उनले १२ वर्ष भन्दा चिकित्सा सेवा दिइसकेका छन्। उनले काठमाडौं विश्वविद्यालय अन्तर्गत नोबेल मेडिकल कलेजबाट एमबीबीएस डिग्री प्राप्त गरेपछि अमेरिका गएर ब्रुकलिन, न्यूयोर्कस्थित मैमोनाइड्स मेडिकल सेन्टरमा (इन्टरनल मेडिसिन)मा रेसिडेन्सी पूरा गरे र त्यसपछि मिशिगन राज्यको डेट्रोइटस्थित वेन स्टेट युनिभर्सिटीमा पल्मोनरी तथा क्रिटिकल केयर मेडिसिनमा फेलोसिप सम्पन्न गरे।
हाल डा ओली पेनसिल्भेनियाको युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टर (युपीएमसी) मा पल्मोनरी तथा क्रिटिकल केयर स्पेसियालिस्टका रूपमा कार्यरत छन्। यो प्रतिष्ठित अमेरिकी अस्पतालमा उनले जटिल श्वासप्रश्वास तथा गम्भीर अवस्थाका बिरामीहरूलाई विशेषज्ञ उपचार प्रदान गर्दै आइरहेका छन्। उनको विशेष चासो इन्टरस्ट्रिटियल लङ डिजिज, फोक्सोमा देखिने गाँठा, इन्टरभेन्शनल पल्मोनोलोजी र नयाँ देखापरेका श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणहरूमा केन्द्रित छ।
क्लिनिकल अभ्याससँगै डा. ओली शैक्षिक तथा अनुसन्धान क्षेत्रमा पनि सक्रिय छन्। उनका वैज्ञानिक कार्यहरू धेरैजसो प्रतिष्ठित अन्तर्राष्ट्रिय मेडिकल जर्नलहरूमा प्रकाशित भएका छन्, जसले पल्मोनरी तथा क्रिटिकल केयर मेडिसिनको विज्ञान र अभ्यासलाई अगाडि बढाउने उनको प्रतिबद्धता झल्काउँछ।