बाजुरा- बाजुराको बुढिगंगा नगरपालिकामा गर्भवती महिलाका लागि टोलटोलमै पुगेर निशुल्क अल्ट्रासाउन्ड र ल्याब सेवा सञ्चालन भइरहेको छ।
नगरपालिका अन्तर्गत रहेका १० वटै वडामा ग्रिन तारा नेपाल नामक गैर–सरकारी संस्थाको सहयोगमा यस्तो सेवा दिइएको नगरप्रमुख रामबहादुर बानियाँले बताए।
ग्रिन ताराकी फिल्ड व्यवस्थापक कविता थापाका अनुसार हरेक महिनामा एकपटक प्रत्येक वडामा पुगेर गर्भवती महिलाको अल्ट्रासाउन्ड तथा अन्य आवश्यक ल्याब परीक्षण गरिँदै आएको छ। जाँचसँगै परामर्श सेवा पनि दिइने उनले जानकारी दिइन्। पालिकासँगको सहकार्यमा सेवा सञ्चालन हुँदै आएको र अल्ट्रासाउन्ड तथा अन्य जाँचका सामग्री ग्रिन ताराबाट उपलब्ध गराइने समेत थापाले बताइन्।
बुढिगंगा–८ की निर्मला कुमाल पाँच महिनाका गर्भवती छन्। उनी तीन पटकसम्म आफ्नै वडामा आयोजित निशुल्क अल्ट्रासाउन्ड र ल्याब सेवा उपयोग गरिसकेको बताउँछिन्।
“सदरमुकाम मार्तडी जाँदा समय पनि लाग्थ्यो, पैसा पनि खर्चिनुपर्थ्यो। अब भने घरमै सेवा पाइँदा धेरै सजिलो भएको छ,” निर्मलाले भनिन्। जिल्ला अस्पतालमा एक दिन समय खर्चिनु पर्ने र अल्ट्रासाउन्डका लागि ४ सय रुपैयाँ तिर्नुपर्ने भए पनि गाउँमै निःशुल्क सेवा उपलब्ध हुँदा ठूलो राहत भएको उनको अनुभव छ।
-1763097475.jpeg)
ग्रिन तारामा कार्यरत अनमी तथा सामुदायिक नर्स विष्णा गिरीले अल्ट्रासाउन्डसँगै रक्तअल्पता, ब्लड–सुगर, पिसाब परीक्षण लगायतका ल्याब सेवा उपलब्ध हुने जानकारी दिइन्।
'हामीसँग सबै गर्भवतीको तथ्याङ्क अद्यावधिक हुन्छ। महिनामा एकपटक वडामा गएर निःशुल्क जाँच गर्छौं। जोखिम भएका महिलालाई अस्पताल रिफर गर्छौं,' गिरीले भनिन्। उनका अनुसार दूरदराजका क्षेत्रमा अल्ट्रासाउन्ड सेवा पुगेपछि मातृ–शिशु मृत्यु दर शून्यमा झार्न सहयोग पुगेको छ। अल्ट्रासाउन्डबाट शिशुको अवस्था, तौल, गर्भको हप्ता, वृद्धि–विकास, प्लासेन्टको पोजिसन आदि बुझ्न सकिने उनले बताइन्।
टाँटे स्वास्थ्य चौकीकी अनमी मंगला बोहोरा पनि यस सेवाले गर्भवती महिलालाई ठूलो मद्दत पुगेको बताउँछिन्।
“पहिले गर्भको अवस्था समयमै नबुझ्दा आमा–शिशुको ज्यान जाने जोखिम धेरै थियो। अब भने अल्ट्रासाउन्डले जोखिमा रहेका गर्भ पहिचान गरी समयमै सचेत गराउन सकिने भएकाले ज्यान जोगाउन सहयोग पुगेको छ,” बोहोराले भनिन्।
-1763097493.jpeg)
उनका अनुसार अल्ट्रासाउन्डले बच्चा गर्भाशयभित्र चलिरहेको/नचलिरहेको, एम्नियोटिक फ्लुइड कति रहेको, शिशुको मुटुको धड्कन लगायतका अवस्थाबारे स्पष्ट जानकारी प्रदान गर्छ। सेवा ग्रामीण क्षेत्रदेखि बजार क्षेत्रसम्म पुगेपछि बाहिर गइ खर्चिनुपर्ने रकम पनि बचत भएको छ।
नेपाल सरकारले ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सुरु गरेको छ। सोही कार्यक्रमलाई थप प्रभावकारी बनाउन ग्रिन तारा नेपाल ले बाजुराको बुढिगंगा र त्रिवेणी नगरपालिकामा गर्भवती जाँचमा सहयोग गर्दै आएको संस्थाकी वरिष्ठ कार्यक्रम व्यवस्थापक सलिता गुरुङले बताइन्।
उनी भन्छिन्, 'सेवासँगै स्वास्थ्यकर्मीले टोलटोलमा पुगेर गर्भवती तथा सुत्केरी महिलालाई जनचेतनामूलक सन्देश पनि दिइरहेका छन्।'
स्थानीय जौमती बुढाका अनुसार 'अब पालो कुर्नुपर्दैन, गाडी खोज्दै हिँड्नुपर्दैन। घरदैलोमै सेवा पाएपछि धेरै सहज भएको छ।'
बाजुराका अन्य स्थानीय तहहरूमा पनि ग्रामीण अल्ट्रासाउन्ड सेवामार्फत गर्भवती महिलाको निशुल्क स्वास्थ्य परीक्षण भइरहेका छन्।