काठमाडौं– ‘नेपाल फर्किने रहर त छ, अमेरिका नेपाल मेडिकल फाउण्डेसनमा काम गर्नुको कारण पनि यही हो, नेपाललाई बुझिरहुँ, नेपालसँग इनटच रहिरहुँ।’ यो भनाइ प्रवासी डाक्टर भुपेश खड्काको हो।
डा भूपेश खड्का हाल अमेरिकामा छन्। उनी नेपाल मेडिकल फाउण्डेसनका अध्यक्ष हुन्। उनको कार्यकाल जेठ महिनासँगै सकिँदै छ। सन् २००५ मा पढाइको सिलसिलामा अमेरिका पुगेका डा खड्काले अमेरिकामै चिकित्सा अभ्यास गरिरहेका छन्।
नेपाल फर्किर्ने चाहना भएपनि कहिले फर्किने भन्ने योजना भने नबनाएको उनले सुनाए।
‘अहिले नै तत्कालै फर्किहाल्छु भन्ने त छैन,’ हालै छोटो समयका लागि नेपाल आएका उनले भने, ‘तर नेपालको स्वास्थ्य क्षेत्रमा भने अमेरिकामा रहँदा पनि निरन्तर सक्ने सहयोग भने गरिरहनेछु।’
डा खड्काका एकजना मामा पनि चिकित्सक थिए। मामाको सेवामुखी काम देखेर प्रभावित भएका खड्काले पनि भविष्यमा डाक्टर बन्ने सपना देखे। स्कुल तहमा खड्काको पढाइ राम्रो थियो। जसले गर्दा पनि डाक्टरी पढ्न उनलाई थप सहज भयो।
काठमाडौंको कोटेश्वरमा जन्मिएका डा खड्काले बृहस्पती विद्या सदनमा एसएलसी सम्मको अध्ययन पुरा गरेका हुन्। सेन्टजेभियर्सबाट आइएस्सी अध्ययन गरेका उनले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को महाराजगञ्ज क्याम्पसबाट एमबीबीएस अध्ययन पुरा गरेका हुन्। एमबीबीएसपछि थप अध्ययनका लागि उनी अमेरिकामा पुगेका हुन्। उनले अमेरिकामा गएर इन्टर्नल मेडिसिन र नेफ्रोलोजीमा एमडी अध्ययन पुरा गरेका छन्।
नेपालमा एमबीबीएस अध्ययन गर्दैगर्दा विदेशीने सोच थिएन। एमबीबीएस अध्ययन पुरा गरेर इन्टर्नसीप गर्दैगर्दा उनमा थप अध्ययनका लागि नयाँ ठाउँमा जाने सोच आयो।
नेपालमा त्यतिबेला इन्टर्नल मेडिसिन अध्ययनका लागि एमडी गर्न कम सिट थियो। नेपालमा अध्ययनको अवसर नै कम देखेपछि उनले अमेरिका जाने योजना बनाए। चिकित्सा शास्त्रमा स्नातकोत्तर अध्ययनका लागि राम्रो अवसरको खोजीमा रहेका खड्कालाई साथीभाई र आफन्तले अमेरिका नै उचित हुने सुझाए।
उनी सन् २००५ मा अमेरिका गए। अमेरिका गएर इन्टर्नल मेडिसिनमा एमडी अध्ययन पुरा गरे। त्यसपछि नेफ्रोलोजीको फेलोसिप गरे। उनी त्यसयता अमेरिकामा नै चिकित्सकिय अभ्यास गरिरहेका छन्।
अमेरिकामा रहे पनि उनले नेपालको चिकित्सा क्षेत्रलाई नजिकबाट नियालेका छन्। ‘अमेरिका नेपाल मेडिकल फाउन्डेसनमा रहेर नेपालको स्वास्थ्य क्षेत्रलाई बुझ्ने र सहयोग गर्ने अवसर पाएको छु,’ उनले भने।
अमेरिकामा चिकित्सा अभ्यासमा व्यस्त भएका डा खड्का नेपाल र अमेरिकाको स्वास्थ्य उपचार गर्ने प्रणाली धेरै फरक भएको बताउछन्।
‘नेपालमा बिरामी भएपछि मात्र स्वास्थ्य जाँच गर्न जाने गरिन्छ। अझ रोगले च्यापेर गम्भीर तथा जटिल भएपछि मात्र अस्पताल पुग्ने धेरै छन्,’ उनी भन्छन्, ‘यस्तो हुनुको मुख्य कारण नेपालमा बिरामीकै खल्तीबाट ठूलो रकम उपचारमा खर्च गर्नुपर्ने अवस्था छ। उपचारका क्रममा बिरामीको घरखेत नै सकिने अवस्था छ।’
उनी स्वास्थ्य बीमा मार्फत बिरामीको उपचार हुनुपर्नेमा जोड दिन्छन्। ‘अमेरिकामा बिरामी भएर अस्पताल जाँदा पहिला पैसा तिर्नु पर्दैन, पहिला आवश्यकता अनुसारको उपचार सुरु गरिन्छ। बीमा मार्फत नै सबै काम हुन्छ।’
अमेरिकामा स्वास्थ्य बीमाको कभरेजका कारण पनि बिरामी अस्पताल पुग्दा पहिला पैसा नखोज्ने गरेको तर नेपालमा उपचारका लागि अस्पताल जाँदा पहिला पैसा नै आवश्यक पर्ने गरेको खड्काले सुनाए। ‘त्यसकारण नेपालमा अहिले सुरु भएको बीमा कार्यक्रमलाई थप प्रभावकरी र व्यवस्थित बनाउन आवश्यक छ,’ उनले भने।
राम्रा अवसर र सुनिश्चित भविश्यको खोजीमा अमेरिका जान चाहने चिकित्सकहरु नेपालमा धेरै हुन्छन्। तर अमेरिका पुगेपछि नेपाली चिकित्सकलाई साँच्चै सहज छ त ?
‘आवासिय चिकित्सकका रुपमा रहँदा धेरै समय काम गर्नुपर्ने कुरा त अमेरिका र नेपालमा उस्तै नै हो,’ डा खड्काले भने, ‘भर्ना पाउन तथा त्यसपछि अध्ययनका क्रममा दुःख हुन्छ नै। अध्ययन पश्चात काम सुरु गरेपछि भने सहज हुन्छ।’
लोभ लाग्दो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम
नेपालबाट अमेरिका पुगेपछि अस्पतालमा रहेको इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमहरु भने उनका लागि नयाँ थियो। ‘नेपालमा कागज तथा हातमा रिपोर्ट बोकेर हिँडिरहेका बिरामीहरु देखिरहेको थिएँ,’ उनले भने, ‘यता आउँदा त सबै विद्युतिय प्रणालीमा रहेछ। यस्तो प्रणाली नेपालले पनि सुरु गर्न ढिला गर्नु हुँदैन। यो निकै महत्वपूर्ण र आवश्यक कुरा हो। यसले उपचारलाई व्यवस्थित र सहज बनाउनुका साथै गुणस्तरीय सेवा प्रवाहमा मद्दत गर्छ।’
अमेरिकामा १५ वर्ष भन्दा बढी समय बिताइसकेका डा खड्का अमेरिकाको हेल्थ सिस्टममा भिजिसकेका छन्। उनलाई अमेरिकाको स्वास्थ्यसंस्था तथा अस्पतालमा हुने मेडिकल रेकर्ड सिस्टम व्यवस्थित भएको देख्दा लोभ लाग्छ। ‘नेपालमा पनि
यस्तै सिस्टम भए कति गज्जब हुन्थ्यो,’ काम गर्ने क्रममा उनी यो कुरा मनमनै सम्झि रहन्छन्।
सुरुमा नेपालबाट जाँदा इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमा अभ्यस्त हुन गाह्रो भएपनि पनि विस्तारै सहज भएको उनले सुनाए।
‘हामीले अमेरिकामा प्रयोग गर्ने इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम एउटै छ,’ उनले भने, ‘बिरामीले अस्पतालमा जाँदा कागज बोकेर जानुपर्ने अवस्था हुँदैन।’ नेपालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम लागू गर्दा ‘युजरफ्रेन्ड्ली’ बनाउनुपर्नेमा उनी जोड दिन्छन्।
उनले नेपालमा स्वास्थ्य सेवालाई सेवामुखी भनेर व्याख्या गरिएपनि अमेरिकामा भने चिकित्सकको सेवालाई व्यवसायकै रुपमा लिने गरिएको सुनाए। अमेरिकामा अस्पतालहरु मर्ज भएको पनि उनले जानकारी दिए।
आवाज सानो भयो भनेपछि..
अमेरिकामा काम गर्दा सुरु सुरुमा उनलाई आवाज सानो भएको भनेर टिप्पणी समेत गरिएको थियो। ‘बोल्ने तरिका नै फरक हुने नेपालमा सानो आवाजमा बोल्ने बानी, कतिपटक त ठूलो स्वरमा बोल्नु न भन्थे,’ उनले हाँस्दै सुनाए, ‘बोल्दा पनि भित्रैदेखि आवाज निकालेर बोल्नुपर्ने, अहिले बल्ल बानी परेको छ।’
एएनएमएफमा सक्रियता
उनले सन् २०११ देखि अमेरिका नेपाल मेडिकल फाउण्डेसन (एएनएमएफ) बारे जानकारी पाए। सन् २०१२ देखि एएनएमएफमा क्रियाशिल भए। सन् २०१५ देखि त कार्यसमितिमा नै रहेर काम गरे। विगत २ वर्षदेखि एनएनएमएफको अध्यक्षको रुपमा कार्यरत छन्।
एड्भान्सिङ हेल्थ केयर इन नेपाल भन्ने भिजनका साथ स्थापना गरिएको एएनएमएफले नेपालमा चिकित्सकहरुको क्षमता वृद्धि गर्ने, तालिमहरु उपलब्ध गराउने, ज्ञान, सीप अभिवृद्धि गर्ने लगायतको काम गर्दै आएको उनले सुनाए।
चिकित्सकहरुको संस्था भएपनि एएनएमएफले नर्सहरुलाई पनि विशेषज्ञ तालिमहरु प्रदान गर्न थालिएको उनले जानकारी दिए। यसका साथै भूकम्प, कोभिड महामारीजस्ता विपद्को समयमा समेत एएनएमएफले ठूलो सहयोग गरेको उनले बताए।
अवसर सिर्जना गरे धेरै चिकित्सक नेपाल फर्किन्छन्
एमबीबीएस अध्ययनपछि अमेरिका जान चाहने नेपाली चिकित्सकहरु थुप्रै हुन्छन्। हरेक वर्ष चिकित्सकहरु अमेरिका पलायन भइरहेका पनि छन्। अमेरिकामै अवसर र राम्रो भविष्य छ भन्दै अमेरिका जानेहरुको संख्या भन्दा नेपालमै रहेका चिकित्सकहरुको संख्या बढी नै छ।
डा खड्काको नजरमा भने अमेरिकामा मात्र होइन चिकित्सकका लागि राम्रो अवसर नेपालमै छ। उनी अर्काको देशमा अवसर खोज्नुभन्दा नेपालै अवसर बढाउन केन्द्रित हुनुपर्ने बताउँछन्।
‘अवसर जहाँ जेजे छ, त्यसलाई क्यास गर्न सक्नुपर्छ, २ सय नेपाली चिकित्सक बाहिर गएपनि २ हजार त नेपालमै छन्,’ उनी भन्छन्, ‘अवसर अमेरिकामा पनि छ, नेपालमा पनि छ, हामीले आफ्नै देशमा अवसर बढाउनुपर्छ।’
चिकित्सकलाई नेपालमै राम्रो अवसर सिर्जना गर्न सके प्रवासमा रहेका नेपाली चिकित्सकलाई घर फर्कने वातावरण पनि सिर्जना हुने उनले बताए।
‘अवसर यहीँ सिर्जना गर्यौं भने विदेशीने चिकित्सक केही कम होला, तर स्वइच्छाले जान चाहनेलाई रोक्न सकिँदैन, यो प्रक्रिया चलिरहन्छ,’ उनले भने, ‘तर हाम्रो ठाउँमा अझ धेरै अवसर सिर्जना गर्नुपर्छ, जसले गर्दा विदेशीयका धेरै चिकित्सकलाई पनि स्वदेश फकिर्ने वातावरण बन्छ। राम्रो अवसर हुने हो भने धेरै चिकित्सक नेपाल फर्कन्छन्।’