काठमाडौं– पूर्वगृहमन्त्री नैनबहादुर स्वाँर कोरोना संक्रमणमुक्त भएका छन्। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका ९५ वर्षीय स्वाँर संक्रमणमुक्त भएपछि बुधबार डिस्चार्ज भएका हुन्।
कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका स्वाँरलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनको कात्तिक १६ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।
उनका छोरा विजयले अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मीको अथक प्रयास र बुबाको आत्मबलले गर्दा संक्रमण जित्न सफल भएको बताए।
बुबालाई भेन्टिलेटरमा राखेको समयमा भने निकै डर लागेको उनले सुनाए। ‘बुबालाई भेन्टिलेटरमा नै राखेर उपचार गर्नुपर्ने अवस्था भएपछि हामी निकै डराएका थियौँ। डाक्टरहरूले निको हुन्छ भनेर हौसला बढाउनु भयो। त्यसपछि हामीलाई आशा पलाएको थियो,’ विजयले भने।
उनले यो रोग जित्न आत्मबल बलियो हुनुपर्ने बताए। ‘बुबाको आत्मबल बलियो छ। सबैको साथ(सहयोग र अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीको हौसलाले उहाँले कोरोना जित्न सफल हुनुभयो,’ उनले भने।
स्वाँरलाई दसैंको टीकाको पर्सिपल्ट अर्थात् कात्तिक १२ गते शरीरमा अक्सिजनको मात्रा काम भएको थियो। परिवारले उनलाई तत्कालै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगेको थियो। त्यहाँ जाँच गर्दा मुटुमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहक कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छोरा विजयले स्वास्थ्यखबरलाई जानकारी दिए।
सेन्टरले कात्तिक १३ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो। १६ गते आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि सुरुमा परिवारका सदस्य आत्तिएका थिए। ‘उहाँको उमेर र संक्रमणका कारण परिवारका सदस्य डराउनु भएको थियो,’ उपचारमा संलग्न अस्पतालका एक चिकित्सकले भने।
मनमोहनमा १२ दिन राखेर उपचार गरेपछि स्वाँरको स्वास्थ्यमा सुधार आएको थियो। त्यसपछि होम आइसोलेसनमा राख्ने भन्दै अस्पतालबाट डिस्चार्ज गरिएको थियो।
‘बुबालाई घर लैजानुभन्दा पहिले परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो। सो क्रममा परिवारका अन्य सबैको रिपोर्ट नेगेटिभ आएपछि बुबालाई होम आइसोलेसनमा राख्ने गरी त्यहाँबाट डिस्चार्ज गरिएको हो,’ विजयले भने।
अस्पतालबाट घर ल्याएपछि स्वाँरको अवस्था झन् कमजोर बन्दै गयो। खानासमेत खान छाडेपछि लक्ष्मीपूजाको भोलिपल्ट उनको शरीरबाट अक्सिजनको मात्रा घट्नुका साथै रक्तचापसमेत कम हुँदै गयो। त्यसपछि परिवारले नर्भिक अस्पताल लगेका थिए।
अस्पतालले तुरुन्त भेन्टिलेटरमा राखेर उपचार गर्ने सुझाव दियो। त्यो समयमा पुनः पिसिआर परीक्षण गर्दा पनि स्वाँरको कोरोना पोजेटिभ नै आएको थियो।
भेन्टिलेटरमा उपचार सुरु भएपछि स्वाँरको स्वास्थ्य अवस्था सुधार हुन थाल्यो। अक्सिजनको मात्रा बढेर ८० भन्दामाथि पुगेपछि भेन्टिलेटरबाट सिसीयुमा सारिएको थियो। त्यसको एक हप्तापछि अक्सिजनको मात्रा र रक्तचाप नियन्त्रणमा आयो। त्यसपछि पनि उनलाई चिकित्सकले विशेष निगरानीमा थप उपचार प्रक्रिया अगाडि बढाएका थिए। अवस्थामा सुधार आएपछि पुनः पिसीआर परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएपछि उनलाई बुधबार दिउँसो डिस्चार्ज गरिएको हो।
स्वाँर २०३८ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकार र २०४३ सालमा मरिचमान सिंह नेतृत्वको सरकारमा गृहमन्त्री भएका थिए।