काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले आफ्नो निर्वाचन क्षेत्रमा होम आइसोलेसनमा रहेका संक्रमितलाई लक्षित गरी ‘होम आइसोलेसन सेवा’ प्रारम्भ गरेका छन्। कोरोना संक्रमण भई घरमै आइसोलेसनमा बसेकाका लागि शुक्रबारबाट सेवा प्रारम्भ गरिएको हो। ‘हेल्थ एट होम’ सँगको सहकार्यमा सांसद कार्यालय काठमाडौं क्षेत्र नम्बर ४ ले होम आइसोलेसन सेवा सुरु गरेको हो।
नेपाल सरकारबाट स्वीकृत प्राप्त संस्था ‘हेल्थ एट होम’काे सहकार्य र साझेदारीमा सेवा सुरु गरिएको हो। होम आइसोलेसनमा रहेकाहरुलाई ‘हेल्थ एट होम’ टीमले आवश्यक चिकित्सकीय परामर्श प्रदान गर्नेछ। साथै, आइसोलेसनको अवधिभर आवश्यक परामर्श दिनुका साथै स्वास्थ्य सामग्री समेत उपलब्ध गराउने थापाले जानकारी गराए।
होम आइसोलेसनमा रहेकाले उक्त सेवा लिनका लागि आफ्नो नाम भने टिपाउनुपर्नेछ। त्यसका लागि थापाले मोबाइल नम्बर समेत उपलब्ध गराएका छन्। सेवाग्राहीले ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना (वडा र टोल खुल्ने गरी) एसएमएस गर्नुपर्नेछ। प्राप्त एसएमएसका आधारमा ‘हेल्थ एट होम’का सदस्यले होम आइसोलेसनमा रहेकालाई सम्पर्क गर्नेछन्।
बिरामीको लक्षणको आधारमा अस्पताल जानुपर्ने भए चिकित्सकहरुले सुझाव दिने गर्छन्। होम आइसोलसेनमा बस्दा अत्यावश्यकीय थर्मोमिटर र अक्सिमिटरको बिरामीलाई प्रबन्ध गर्ने व्यवस्था गरिएको छ। बिरामीलाई फ्लोअप पनि निरन्तर हुने बताइएको छ।
‘घरमा आइसोलेसनमा रहेकालाई उपयुक्त सल्लाह र परामर्श पाएमा अस्पताल जान पर्नेहरुका लागि समयमा सुचित गर्न सकिन्छ’, थापाले भने,‘अस्पताल जान नपर्नेका लागि आवश्यक परामर्शले अस्पतालको चाप घटाउन सहयोग पुग्छ।’ निर्वाचन क्षेत्रका नागरिकलाई महामारीबाट जोगाउन समर्पित भएर लागिरहेको उनले बताए।
काठमाडौं महानगर र बुढानीलकण्ठ नगरपालिकाका स्थानीय सरकारसँग सहकार्य गर्दै आइसोलेसन सेन्टर बनाउने कार्यमा समेत जुटिरहेको उनले जानकारी दिए। ‘आ–आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। गल्ती नगर्न र सच्याउनका लागि संघको सांसद भएकाले सरकारलाई दबाब दिइरहेको छु,’थापाले भने,‘समस्या मात्रै देखाइरहेको छैन। विकल्पहरु पनि सुझाइरहेको छु।’
काठमाडौं ४ मा होम आइसोलेसनमा रहेकाहरुको अफिसियल तथ्यांक करिब ८ सय छ। तर,उक्त संख्या भन्दा होम आइसोलेसनमा बस्नेको संख्या तीन गुणा बढी हुनसक्ने आकलन गरिएको छ। शुक्रबारबाट होम आइसोलेसन सेवा सुरु गरिएपछि एक सय भन्दा बढी मेसेज प्राप्त भइसकेको सांसद कार्यालय काठमाडौं ४ ले जानकारी गराएको छ।
प्राप्त मेसेजका आधारमा बिरामीलाई थर्मोमिटर,अक्सिमिटरदेखि अस्पतालको बेडसम्म मिलाउने कार्य भइरहेको बताइएको छ। अक्सिजनको आवश्यकता पर्ने विरामीहरुले पनि मेसेज गरेको कार्यालयले जानकारी गराएको छ।