काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन्।
उनले भने,‘शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिने छ। हामी छिट्टै फाइल उठाएर मन्त्रिपरिषद्को बैठकमा लैजान्छौं।’
जग्गा अस्पतालको नाममा आएपछि विस्तृत अध्ययन प्रतिवेदनको काम अघि बढ्ने छ। कानुनी प्रक्रियाका कारण केही समय लाग्ने भए पनि अन्य कारणबाट काम नरोकिने उनको भनाइ छ।
पूर्वसम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले बुधबार मन्त्री पौडेललाई भरतपुरमा अस्पताल बनाउन उपयुक्त हुने जनाउँदै प्रतिवेदन बुझाएको छ। सुरूमा तीन ३०० शय्याको अत्याधुनिक शिक्षक अस्पताल बनाइने छ। क्रमशः अस्पतालको शय्या थप गर्दै लगिने उनले बताए।
अस्पताल परिसरमा कुरुवा घर समेत बनाइने छ। महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको वडा नं १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउने बताइन्।
महानगरले सो स्थलमा रहेको ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी कागजपत्र समितिलाई उपलब्ध गराएको थियो।
महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेवार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति गरेको हो।
सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्सा, प्राविधिक ९नापी कर्मचारी० को स्थलगत नापजाँच प्रतिवेदन, वडा नं १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित आवश्यक सम्पूर्ण कागजपत्र पेश गरिसकेको छ।
देशकै केन्द्र भागमा रहेकाले चितवन उपयुक्त हुने भन्दै समितिले प्रतिवेदन बुझाएको हो। महानगर प्रमुख दाहालले भने, ‘यस अस्पतालले भरतपुरलाई मेडिकल सिटीको रूपमा विकास गर्न सहयोग पुग्नेछ।’
शिक्षक अस्पतालपछि शिक्षण अस्पताल हुने उनको भनाइ छ। अस्पतालले यहाँको समग्र विकासमा समेत सहयोग पुग्ने जनाइएको छ। भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, संघीय सरकारी अस्पतालको सुविधा भएकाले काठमाडौं बाहिर आउँदै गर्दा भरतपुर जस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन्।
उनले भनिन्,‘सबै हिसाबले शिक्षक अस्पताल भरतपुरमा उपयुक्त हुन्छ।’ शिक्षा मन्त्रालयले डा बिमल शर्मा चालिसेको संयोजकत्वमा पूर्वसम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति बनाएको थियो।
समितिका सदस्य शिक्षक महासंघका सहसंयोजक पूर्णप्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताए।
समितिले जग्गा हेर्नुपूर्व पेशागतसँग सङ्गठनसँग छलफलसमेत गरेको दवाडीले जानकारी दिए।
अधिकांशले मध्यभाग भएकाले भरतपुरलाई रुचाएका थिए। दवाडीका अनुसार चार लाख भन्दा बढी शिक्षक कर्मचारी र तीनका परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
नेपालमा स्थायी शिक्षक एक लाख सात हजार, राहत ४० हजार, पाठ शिक्षक ४० हजार, विद्यालय कर्मचारी ३६ हजार, निजी स्कुलका शिक्षक एक लाख ५० हजार र पूर्वशिक्षक ३० हजार रहेका छन्।
यस अस्पतालले सर्वसाधारणको पनि उपचार गर्नेछ। अस्पताल बन्दै गर्दा कार्यविधि बन्ने र शिक्षक कर्मचारीले पाउने सुविधाको बारेमा निर्णय हुने उनले जानकारी दिए।
नमूना अस्पताल बन्ने भन्दै उनले टाढाबाट आएका बिरामी र आफन्त बस्नका लागि कुरूवा घरसमेत हुने बताए।
चितवनमा क्यान्सर उपचारका लागि देशैभरबाट बिरामी आउने गर्दछन्। केन्द्रीयस्तरको भरतपुर अस्पताल र मेडिकल कलेजमा देशभरबाट बिरामी उपचारका लागि आउने गर्दछन्। भरतपुरलाई मेडिकल सिटीको रूपमा लिने गरिन्छ। रासस